सेयर कर्जा झण्डै एक खर्ब
काठमाडौं– अर्थतन्त्रका अन्य क्षेत्रमा कर्जा प्रवाह बढ्न नसकिरहेको बेला सेयर बजारमा भने कर्जा प्रवाह वृद्धिले तीव्रता पाएको छ । चालु आर्थिक वर्षको दुई महिनामा नै सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाएका छन् ।
राष्ट्र बैंकको भदौसम्मको तथ्यांकअनुसार सेयर धितो कर्जा अर्थात् मार्जिन प्रकृतिको कर्जा १०.७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा सुस्त रहेको सेयर बजार चालु आर्थिक वर्षको सुरुवातसँगै बढिरहेको छ । सेयर बजारले लय लिँदै गर्दा यसतर्फ हुने कर्जा प्रवाह पनि बढ्न गएको हो ।
२०८१ भदौसम्ममा ९९ अर्ब ७६ करोड ५० लाख रुपैयाँभन्दा बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांक छ । गत असारमा ९ अर्ब ९३ लाख रुपैयाँमात्रै यस्तो कर्जा प्रवाह भएको थियो । गत वर्ष असारको तुलनामा चालु आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर कर्जा वृद्धि १०.७ प्रतिशत हो ।
२०८० भदौसम्ममा ७६ अर्ब ७८ करोड रुपैयाँबराबर मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो । २०८० असारको तुलनामा भदौसम्ममा १.८ प्रतिशतले मार्जिन प्रकृतिको कर्जा वृद्धि भएको थियो । अघिल्लो आवमा निकै सुस्त रहेको सेयर बजार गत आवको सुरुवातसँगै सुस्त गतिमा अगाडि बढिरहेको थियो । गत आव र चालु आवको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले सेयर बजारलाई प्रभाव पार्ने नीतिहरूमा लचकता अपनाउँदै जाँदा सेयर बजार पुनः लयमा फर्किंदै गएको छ । पछिल्लो समय लगानीकर्ताले सेयर बजारमा लगानी गर्नकै लागि सेयर धितो कर्जा लिइरहेका छन् ।
अहिले सेयर बजारमा कर्जा प्रवाह बढ्नुको मुख्य कारण सरकार स्थिर रहनु पनि भएको सेयर बजारका जानकार एवं लगानीकर्ता महेश रिजाल बताउँछन् । सरकार कुनबेला ढल्ला वा यो सरकारले अर्को कस्तो नीति ल्याउला भन्ने अहिले कुनै सन्देह नरहेको उनको भनाइ छ । यही कारण लगानीकर्ता ढुक्क रहेको उनले तर्क गरे ।
प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच सम्बन्धसमेत सुमधुर भएकाले सेयर बजार थप अगाडि बढेको उनको बुझाइ छ । सेयर बजारमा उत्साह आउँदा कर्जा लिएर भए पनि लगानी गर्नेहरू बढेको उनले बताए । ‘सेयर बजारसम्बन्धी नीतिहरू अझ लचक हुँदै जाने अपेक्षा लगानीकर्ताले गरिरहेका छन् । सेयर बजारलाई चलायमान बनाएर अर्थतन्त्रका अन्य सूचकलाई सकारात्मक बनाउन सरकारले ध्यान दिएका कारण पनि सेयर बजारमा जाने कर्जा वृद्धि भएको हो,’ उनले भने, ‘अन्य क्षेत्र ठप्प हुँदा सेयर बजार चलायमान भइरहेको छ । नयाँ र पुराना लगानीकर्ताले कर्जा लिएर लगानी बढाइरहेका छन् । यसले अर्थतन्त्रलाई अगाडि बढाउन थप सहयोग गर्छ ।’
गत आवमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेकाले समग्र कर्जा विस्तार नै प्रभावित भएको थियो । तर, चालु आवको सुरुवातदेखि नै प्रणालीमा तरलता रहँदा यस प्रकृतिको कर्जा विस्तार भएको जानकारहरू बताउँछन् । अन्य क्षेत्रमा भने बजार माग कम भएको तथा उपभोक्ताको क्रयशक्ति कमजोर बनेकाले कर्जा प्रवाह अपेक्षाकृत रुपमा बढ्न सकेको छैन । अहिले बैंकहरूसँग लगानी गर्न सक्ने क्षमता उच्च छ । राष्ट्र बैंकका अनुसार असोज २० गते बैंकिङ प्रणालीको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१५ प्रतिशत छ । कर्जा प्रवाहका क्रममा यस्तो रेसियो न्यूनतम ९० प्रतिशत राख्नैपर्ने व्यवस्था भएकोमा कर्जा दिने क्षमता उच्च भएर रेसियो तल झरेको हो । यस्तै, अन्तरबैंक कर्जाको भारित औषत ब्याजदर ३ प्रतिशत छ ।
राष्ट्र बैंक नीतिगत रुपमा सेयर बजारप्रति लचक बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जा पनि बढ्न थालेको हो । भदौसम्ममा एक करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा १७.९ प्रतिशतले बढेको छ । यस्तो कर्जा ६५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा एक करोड रुपैयाँसम्मको सेयर धितो कर्जा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको थियो ।
यसैगरी ५० लाख रुपैयाँदेखि एक करोडसम्मको सेयर धितो कर्जा ३.२ प्रतिशतले बढेर १२ अर्ब ८१ करोड पुगेको छ । असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो । राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँदेखि ५० लाखसम्मको सेयर धितो कर्जा ३ प्रतिशतले घटेर १३ अर्ब ९८ करोड पुगेको छ । असार मसान्तमा यस्तो कर्जा १४ अर्ब ४२ करोड रुपैयाँ थियो । यसैगरी २५ लाख रुपैयाँभन्दा कम सेयर धितो कर्जा ३.९ प्रतिशतले घटेर ७ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा ७ अर्ब ३१ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो ।
इन्भेष्टर्स फोरमका उपाध्यक्ष एवं सेयर बजारका जानकार राजन लम्सालले कात्तिकमा यो कर्जा अझ बढ्ने प्रक्षेपण गरे । बैंकको ब्याजदर घट्दै गएको, आधार दर झन् घटेको र तरलता पनि प्रशस्त रहेका कारण यो महिना कर्जा झनै बढ्ने उनको भनाइ छ । बजार बढ्दै गएका कारण पनि लगानीकर्ता यसतर्फ आकर्षित रहेको उनले बताए । ‘अबको एक वर्ष ढुक्क भएर लगानी गर्न सक्ने अवस्था छ,’ उनले भने ।