दुई महिनामा ३५३ विदेशीलाई नेपालमा काम गर्न स्वीकृति
काम गर्न नेपाल आउनेमा चिनियाँ बढी
काठमाडौं– चालु आर्थिक वर्षको साउन र भदौमा सबैभन्दा बढी चिनियाँ नागरिक रोजगारीका लागि नेपाल आएका छन् । दुई महिनामा ३३ देशका ३५३ नागरिकले नेपालमा काम गर्न सरकारबाट अनुमति लिएका थिए । यसमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी २०७ रहेको छ ।
यसैगरी जापानी २८, बेलायतबाट १८, म्यानमारबाट १५, अमेरिकाबाट १२ र बाँकी अन्य देशबाट आएका छन् । अनौपचारिक रुपमा काम गर्न आउने विदेशीमध्ये भारतीयको संख्या बढी भए पनि उनीहरुका लागि श्रमस्वीकृतिको व्यवस्था गरिएको छैन । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले खुला सिमाना र १९५० को सन्धीका कारण उनीहरुको लागि श्रमस्वीकृतिको व्यवस्था नभएको बताए ।
नेपालमा सञ्चालनमा रहेका विकास साझेदारका परियोजना तथा स्वदेशी उद्योग (रोजगारदाता) मा रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या सामान्य घटेको विभागले जनाएको छ । गत आवको तथ्यांकमा नेपालमा काम गर्न सरकारबाट स्वीकृति लिने विदेशी नागरिकको संख्या घटेको देखिएको निर्देशक गोपले बताए । ठूला उद्योग तथा परियोजनामा नेपाली कामदार नपाएको अवस्थामा ५ प्रतिशतसम्म विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । अन्तर्राष्ट्रिय विकास साझेदारद्वारा सञ्चालित ठूला विकास आयोजना तथा उद्योगमा काम गर्ने विदेशीको संख्या गत आवमा २ हजार ९९४ थियो ।
कोभिडपछि परियोजना तथा ठूला उद्योग सञ्चालनमा आएसँगै विदेशीको संख्या बढेको भए पनि गत आर्थिक वर्षमा केही घटेको गोपले बताए । नेपालमा परियोजना सञ्चालन गरिरहेका चीन, बेलायत, अमेरिका, जापान, दक्षिण कोरियालगायत देशका नागरिकले काम गर्न अनुमति धेरै लिएका छन् । गत आर्थिक वर्षमा २ हजार २१ चिनियाँ, ११७ बेलायती, १०२ अमेरिकी, ९७ जापानी, ८२ कोरियन र बाँकी ३११ अन्य देशका नागरिकले विभागबाट रोजगारीका श्रमस्वीकृति लिएका थिए । गत आवमा ११६ देशका नागरिकले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका थिए ।
नेपालमा रहेका रोजगारदातामध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौं– तराई–मधेश दु्रतमार्गका दुई परियोजनाले रोजगारी दिएको छ । यसमा ३२७ विदेशी कामदार छन् । एउटा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमा १०३ जना र अर्को पोलि चाङ्डा इन्जिनियरिङ कम्पनी चाइनामा २२४ विदेशी कार्यरत रहेको विभागले जनाएको छ । यसैगरी कञ्चनपुर–कमला रोड प्रोजेक्टमा ११६ जना, चाइना ओभरसिज इन्जिनियरिङमा ९ जना, सञ्जिन खोला हाइड्रोपावरमा ८९ जना विदेशी कामदार कार्यरत छन् । उद्योगतर्पm हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालयन एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजी आदिमा विदेशी नागरिक रोजगारीमा छन् ।
विदेशी नागरिकहरुको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरे पनि नेपाल सरकारका विभिन्न निकायहरुसँग भएका सम्झौता बमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत आउने गरेको पाइन्छ । यसले गर्दा दक्ष नेपाली श्रमिकले स्वदेशमा रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिक आई काम गर्ने प्रवृत्तिले अर्बौं रुपैयाँ विदेश जाने गरेको छ ।