Logo

वैदेशिक रोजगारीमा जाने तीन प्रतिशत घटे

काठमाडौं– गत आर्थिक वर्षको साउन, भदौ र असोजको तुलनामा चालु आवका तीन महिनामा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने युवाको संख्या घटेको छ ।

गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवमा नयाँ श्रमस्वीकृति लिएर विदेश जानेको संख्या २ हजार ७४३ ले घटेको हो । गत वर्षका तीन महिनामा नयाँ श्रमस्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३९७ रहेकोमा चालु आवमा १ लाख १० हजार ६५४ मा सीमित भएको वैदेशिक रोजगार विभागले जनाएको छ । यद्यपि, पुनः श्रमस्वीकृति लिएर विदेश जानेको संख्या भने वृद्धि भएको छ । बिदामा आएर जानेको संख्याको तुलनामा नयाँ युवा भने घटेको देखिन्छ ।

चालु आवका तीन महिनामा पनि असोजमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने युवाको संख्या घटेको छ । विभागका निर्देशक लोकनाथ भुसालले असोजमा नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं परेका कारण नयाँ जाने श्रमिकको संख्या घटेको हुन सक्ने बताए । चालु आर्थिक वर्षको साउनमा ३६ हजार ९२८, भदौमा ३९ हजार ५५७ र असोजमा ३४ हजार १६९ युवाले श्रमस्वीकृति लिएको विभागले जनाएको छ ।

पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा संकुचन आएपछि रोजगारीका लागि जानेको संख्या घटेको हो । तीन महिनाको तथ्यांक हेर्दा नेपालबाट दैनिक १ हजार २३० युवा वैदेशिक रोजगारीमा गएको देखिन्छ । पुनः श्रमस्वीकृतिको तथ्यांकका आधारमा भने दैनिक १ हजार ९०० युवाले देश छोडिरहेका छन् । मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको शुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा धक्का लागेको विभागले जनाएको छ ।

गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको भए पनि हाल मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेको असर नेपालीको वैदेशिक रोजगारीमा परेको छ । गत वर्ष साउदी अरबमा रहेका श्रमिक पनि विभिन्न कारण देखाउँदै नेपाल फर्किएर पुनः मलेसिया जाने प्रवृत्ति देखिएका कारण संख्या वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७८–७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको तेस्रो महिनासम्म घट्ने क्रममा रहेको देखिन्छ । कोभिडकालको लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आए पनि दुई वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गरेको थियो । चालु आवबाट भने यो पुनः ओरालो लाग्ने संकेत देखिएको छ ।

वैदेशिक रोजगारीको ३० वर्षे इतिहासमा अघिल्लो र गत आर्थिक वर्षमा सबैभन्दा बढी युवा रोजगारी रोज्दै विदेश गएका थिए । तर, गत वर्षको शुरुको तीन महिनाको संख्यालाई तुलना गर्दा चालु आवमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्ने संकेत देखिएको छ । सरकारले श्रमस्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये अघिल्लो आवमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए ।

वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न शुरु गरेको थियो । अघिल्लो आर्थिक वर्षमा पुनः श्रम स्वीकृतिसहित ७ लाख ७१ हजार ३२७ र गत आवमा ७ लाख ४० हजार युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७८–७९ मा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो ।

प्रतिक्रिया दिनुहोस्