Logo

त्रिपुरासुन्दरी खुङ्ग्रीमा पर्यटनको सम्भावना

रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिकाको वडा नं. २, खुङ्ग्रीमा अवस्थित त्रिपुरासुन्दरी मन्दिर करिब २ बिघा क्षेत्रफलमा फैलिएको छ । यो मन्दिर देवी पञ्चायिंक भएकाले मूल देवीको मन्दिर र सूर्य, गणेश, विष्णु र महादेवका मन्दिरहरू रहेका छन् । यस मन्दिरका बारेमा स्कन्द पुराणमा वर्णन गरिएको छ भने छोटो भाग श्री स्वस्थानी व्रतकथामा समेत लेखिएको छ ।

सतिदेवीलाई जब शिवजीले पिठ्युँमा बोकेर हिँड्नुभएको थियो, जहाजहाँ सतिदेवीको अङ्ग पतन भयो त्यहाँत्यहाँ शक्तिपीठहरू उत्पन्न भए । तीमध्ये यस त्रिपुरासुन्दरी मन्दिर ४९ औँ शक्तिपीठ हो । यस मन्दिरमा पूजाआजा गर्नाले विभिन्न भाकलहरू जस्तैः सन्तान प्राप्ति हुने, चोरी भएको सामान भेटिने वा पत्ता लाग्ने जनविश्वास छ । यस स्थानमा मेघ (बादल) ले तपस्या गरी भैरवेश्वर महादेवले वरदान दिएको भन्ने किंवदन्ती छ । साथै, यहाँ जेठमा पानीको वर मागिन्छ ।

यस मन्दिरमा बडादसैँ र चैते दसैँको महाअष्टमीमा पञ्चबलि (परेवा, बोका, राँगा, कुभिन्डो र भालेको बलि) दिने परम्परा रहेको पाइन्छ भने प्रत्येक मंगलबार र शनिबार बोकाको बलि दिइन्छ । दुर्गा पूजा एवं नवरात्रिको समयमा पूजाका निमित्त खटिएका ब्राह्मण, पुजारी, पञ्चैबाजा वादकहरू नियमपूर्वक उपस्थित भई पूजापाठ गर्ने परम्परा छ । साउन महिना, स्वस्थानीभरि र प्रत्येक औँसी तथा सोह्रश्राद्धमा बलि दिइँदैन । देवीको उत्पत्ति भई गाउँलेहरूले चिनेपछि बलि दिँदै जाँदा मनोकामना पूरा भई मन्दिरको प्रचारप्रसार र विकास भएको पाइन्छ ।

यस मन्दिरको वर्तमान संरचना २०४८ सालमा निर्माण भएको पाइन्छ । हाल दुर्गाको मूल मन्दिर जीर्ण भएको र मूर्ति दाताले प्रदान गरेकाले मन्दिर बनाउन आवश्यक देखिन्छ । यस मन्दिरको व्यवस्थापन मन्दिर व्यवस्थापन समितिले गर्छ भने मन्दिर परिसर सरसफाइको समेत व्यवस्था गरिएको पाइन्छ । यस मन्दिरको आर्थिक स्रोत स्थानीय र श्रद्धालु भक्तजनहरूबाट प्राप्त चन्दा र भेटी हो । मन्दिर परिसरभित्र मन्दिरका लागि पूजा प्रसादबाहेक अरू केही भोजन बनाउन मिल्दैन ।

प्राकृतिक सौन्दर्यले समेत सजिएको यस मन्दिरवरिपरि विभिन्न प्रजातिका वनस्पति र बुट्यानले भरिएको छ । मुख्यतया यहाँ साल, चिउरी, वर, पीपल, बर्रो आँप, सिल्टिमोर, रिट्ठो, जाबुनो, दालचिनी, फरेट, कोरीकाठ, रोइनी, अम्रिसो, सोरेटा, श्रीखण्ड, असोक आदि बहुमूल्य वनस्पतिहरू पाइन्छन् भने यो स्थान विभिन्न चराचुरुङ्गी जस्तैः ढुकुर, भँगेरा, काग, परेवा र मौसमी चराहरूको बासस्थान हो ।

धार्मिक महत्वका साथसाथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस मन्दिरमा विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरू आउने गर्छन् । मुख्यतया रोल्पा, प्युठान, दाङ र कपिलवस्तुबाट मन्दिर दर्शन तथा घुमफिर गर्न आउँछन् भने काठमाडौँबाट समेत केही तीर्थयात्री पुग्ने गर्छन् । बुटवलबाट १ सय ६८ किमि र स्वर्गद्वारी देवीको मन्दिरबाट २० किमि दूरीमा रहेको यो मन्दिर सडकको छेउमै प्राकृतिक छटाले भरिपूर्ण भएकाले मन्दिरलाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ ।

विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । एक्काइसौं शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेश एवं जन्मभूमिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

नेपालमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ । जसबाट यस क्षेत्रका जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।

त्रिपुरासुन्दरी क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक पर्यटकीय सम्पदाको धनी भए पनि आन्तरिक तथा बाह्य पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र प्राकृतिक तथा सांस्कृतिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । स्वर्गद्वारी मन्दिरको काखैमा रहेको र वरिपरि प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा भए पनि यस मन्दिर क्षेत्रमा भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यस मन्दिरमा पर्यटकीय विकासका लागि प्रभावकारी योजना नहुनु, खुङ्ग्रीमा व्यवस्थित होमस्टे तथा होटल नहुनु, बैंक तथा वित्तीय संस्था नहुनु, आन्तरिक पर्यटन बजारमा प्रचारप्रसारको कमी, पर्यटकीय विकासका लागि आवश्यक सञ्चार तथा सूचना प्रविधिको अभाव यस क्षेत्रको प्रमुख समस्याका रूपमा रहेको छ ।

सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण सुनिलस्मृति गाउँपालिका र त्रिपुरासुन्दरी मन्दिर क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गरी भविष्यमा यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्दै प्राकृतिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थललाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा–सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रको समग्र आम्दानीमा रैथाने बाली कृषि तथा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नसमेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ ।

पालिकाभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

हुन त सोह्रौँ योजनाअनुसार पर्यटन क्षेत्र विकास र सुदृढीकरणका लागि पर्यटन उपजहरूको विकास गरी प्रचारप्रसार एवम् आतिथ्यता व्यवस्थापनमा सुधार, पर्यटन प्रवद्र्धनमार्फत पर्यटक आगमन संख्यामा वृद्धि गरी नेपाल बसाइको अवधि लम्ब्याउने, पर्यटकको दैनिक खर्च रकममा वृद्धि, रोजगारीको अवसरमा वृद्धि, पर्यटनमा स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गरी पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटकीय पूर्वाधारको विकास, धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गरी थप आकर्षण गन्तव्यको पहिचान र विकास, प्रमुख पर्यटकीय स्थललाई अन्य पर्यटकीय गन्तव्यसँग जोडी आर्थिक लाभ हुने अवस्थाको सिर्जना, पर्यटकलाई सांस्कृतिक सम्पदासँग जोड्ने, सार्वजनिक, निजी, साझेदारी, भारत, चीनलगायत अन्य मुलुकका पर्यटकलाई लक्षित गरी पर्यटन प्रवद्र्धनकारी कार्यक्रम सञ्चालन, स्थानीय उत्पादनलाई पर्यटकीय उपजका रूपमा प्रवद्र्धन गरी अग्र र पृष्ठसम्बन्ध विकास, स्थानीय तहको समन्वयमा ग्रामीण पर्यटन विकास, मुलुकभरका पर्यटकीय सम्पदा, स्थानीय समुदायको सक्रियता र सहभागिताको सम्मान गर्दै पर्यटनबाट भएको आम्दानीको यथोचित सुव्यवस्था, बाँडफाँड तथा वितरण, पर्यटन उद्यममा पिछडिएका समुदाय, महिला, दलित तथा आदिवासी जनजातिको संलग्नतालाई प्रोत्साहन तथा क्षमता विकास गर्ने कार्यक्रम रहेको पाइन्छ ।

अतः प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । खुङ्ग्रीको त्रिपुरासुन्दरी मन्दिरलगायत देशभित्रका अन्य त्यस्तै नयाँ पर्यटकीय स्थल, गन्तव्यमा पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गरी सोह्रौँ योजनाको लक्ष्य हासिल गर्न आवश्यक छ । त्यस्तै त्रिपुरासुन्दरी मन्दिर, स्वर्गद्वारी मन्दिर, शिव पञ्चायिंक, खुङ्ग्रीकोट दरबार (चौबिसे राज्य), सुनछहरी, जलजलालगायत रोल्पा तथा प्युठानका विभिन्न धार्मिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पर्यटकीय स्थलहरूलाई पर्यटकीय सर्किटका रूपमा विकास गरी पर्यटकलाई प्याकेजका रूपमा भित्र्याउन सकिन्छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै सुनिलस्मृति गाउँपालिकामा बसोबास गर्ने स्थानीय बासिन्दादेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्