Logo

राष्ट्रिय वाणिज्य बैंकको किसान सरल कर्जा

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ ।

दश लाख रकमभित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्डसमेत लिन सकिनेछ । बैंकका अनुसार कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली वा कानुनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ ।

आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर/जग्गासमेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार कर्जाको बिमा गरिने छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयबाट किसान सरल कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्