Logo

सफलताको सूत्र : उच्च नैतिकता

गल्फका महान् खेलाडी टाइगर उडले भनेका छन्, “म जब ठूलो भएँ, म प्रतिभाशाली थिइनँ, महान् पनि थिइनँ, छिटोछरितो पनि थिइनँ, बलियो पनि थिइनँ । तर, म जहिले पनि काममा नैतिकता देखाउँथे र आज यस अवस्थासम्म आइपुगेको छु ।”
एउटा साधारण व्यक्तिले पनि उत्कृष्ट प्रतिभा, शारीरिक शक्तिबिना पनि काममा उच्च नैतिकताको कारणले कुनै जमानाको सबैभन्दा धेरै कमाउने खेलाडी बनेर देखाइदिए । आफूले थालेका हरेक काम राम्रोसँग सम्पन्न गर्नु र शारीरिक, मानसिक, पारिवारिक तथा अन्य जुनसुकै समस्या आए पनि कसैलाई दोष नदिई त्यसमा आउने बाधा–व्यवधानहरूलाई सामना गरेर आफ्नो काम सम्पन्न गर्ने टाइगर उडजस्ता व्यक्तिले नै इतिहास रचेर महान् बनेर आफूलाई सिद्ध गरेका छन् ।
कुनै पनि व्यक्ति मेहनतले सफल हुन सक्छ, तर महान् बन्नका लागि आफ्नो कार्यमा उच्चस्तरको नैतिकता देखाउनुपर्छ । कानुनी रूपमा कुनै काम गर्नका लागि योग्य अर्थात् छुट भए पनि नैतिक शिक्षाले मान्यता दिन्छ कि दिँदैन भन्ने ध्यानमा राखेर मात्रै निर्णय लिनुपर्छ । कानुन र नैतिकता मानिसलाई अनुशासनमा बाँध्ने दुई महत्व पूर्ण साधन हुन्; तर यी दुवै भूगोल, देश, समाज, जातजाति तथा परिवेशअनुसार फरक–फरक हुन सक्छन् । कुनै देशको लागि मान्य नैतिकता, धर्म, संस्कृति, रहनसहन अर्काे देशका लागि मान्य नहुन पनि सक्छ । तर, नैतिकता भने संसारका सबै देशमा एउटै हुन्छ ।
सन् २००६ कर्नाटकविरुद्ध दिल्ली रणजी ट्रफी क्रिकेट खेल भइराखेको थियो, कर्नाटकले पहिलो इनिङमा ४४६ को विशाल योगफल बनायो । दिल्लीले सस्तैमा ५ विकेट गुमायो । खेल हार्ने अवस्थामा रहँदा एउटा १८ वर्षको केटो ब्याटिङका लागि आयो । पहिलो दिनको खेल समाप्त हुँदा उसले ४० रन बनाई दिल्लीको स्कोर १०३ मा पुर्यायो । त्यो १८ वर्षे युवाले के सोच्न थाल्यो भने भोलि मैले राम्रोसँग खेल्न सकिनँ भने टिम हार्छ । त्यत्तिकैमा उसले उसको पिताको निधन भएको दुःखद समाचार थाहा पाउँछ । उसले निर्णय गर्छ कि यस्तो अवस्थामा टिमलाई मेरो खाँचो छ, त्यसैले ऊ भोलिपल्ट ब्याटिङमा उत्रन्छ र ९० रन बनाएर आउट हुन्छ अनि टिमलाई हारबाट बचाउँछ । ती युवा आउट भएपछि डेसिङ रुममा गएर आफू आउट भएको भिडियो रिप्ले गरेर हेरेपछि आफ्नो पिताको दाहसंस्कार गर्न घरतर्फ लागे । उनलाई हामी विराट कोहलीको नामले चिन्छौं । टिमलाई बचाउनु आफ्नो नैतिक जिम्मेवारी ठाने र जीवनमा आइपरेको त्यति ठूलो बज्रपातको अवस्थामा पनि आफ्नो खेलप्रतिको लगाव, टिममा आफ्नो आवश्यकता र नैतिक जिम्मेवारीलाई पहिलो स्थानमा राखे । पहिलो दिनको ४० रन बनाएपछि दोस्रो दिन नखेलेको भए पनि उनको नाम स्टार खेलाडीमा आउँथ्यो होला, तर पिताजीको मृत्युको समाचारपछि पनि खेलेर टिमलाई बचाउन भूमिका खेलेकाले उनलाई महान् खेलाडीमा समावेश गर्न थालिएको छ ।
कुनै पनि व्यक्तिले आफ्नो कार्यस्थलमा कुनै नीति, नियम तथा आचरणहरू लागू गर्नुपूर्व उक्त कुरा पहिला आफूले नै लागू गर्नुपर्छ । मानिस ठूलो नैतिकता जानेर होइन कि नैतिकता प्रदर्शन गरेर हुन्छ । महात्मा गान्धीले संसारभर महात्माको रूपमा चर्चा पाइराखेका थिए । उनको नजिकका एक छिमेकी गान्धीसँग भेट्न आई अनुरोध गरेर भने, “गान्धीजी, मेरो यो छोराको सुर्ती खाने बानी पर्यो , तपार्इंले एकपटक उसलाई सम्झाइदिनुपर्यो । गान्धीले छिमेकीलाई अर्काे हप्ता छोरालाई लिएर भेट्न आउन भने । अर्काे हप्ता छिमेकी छोरालाई लिएर आए, तर गान्धीजीले केही पनि नबोली फेरि अर्काे हप्ता लिएर आउनु भने । छिमेकीहरू गान्धीलाई यति धेरै श्रद्धा गर्थे कि किनसम्म भन्दैनथे । जब तेस्रो हप्ता छिमेकीले छोरालाई लिएर आए, गान्धीजीले श्रद्धापूर्वक त्यो केटोलाई अबदेखि सुर्ती नखानु है ! यसले राम्रो गर्दैन भनिदिए र उनीहरू फर्के । गान्धीको प्रभाव यति राम्रो थियो कि उसले त्यति भनेपछि त्यो केटोले सुर्ती खान छाड्यो । छिमेकी केही दिनपछि गान्धीजीकहाँ आई धन्यवाद दिए र सोधे, तपाईंले अबदेखि सुर्ती नखानु है ! यसले राम्रो गर्दैन भनेपछि छोराले सुर्ती छोड्यो, तर त्यति भन्नका लागि तपार्इंले तीन–तीन हप्ता किन कुराउनुभयो ? गान्धीजीले मुस्कुराउँदै जवाफ दिए, त्यतिबेला म आफैं सुर्ती सेवन गर्थें । आफैं सेवन गर्ने व्यक्तिले कसरी अरूलाई सेवन नगर भनी उपदेश दिन सक्थें र ? पहिलो हप्तामा छोड्न सकिनँ । त्यसैले दोस्रो हप्ता बोलाएँ । दोस्रो हप्तामा पनि सकिनँ अनि तेस्रो हप्ता बोलाएँ । तेस्रो हप्तामा जब मैले पूर्ण रूपमा सुर्ती छोडिसकेको थिएँ अनि बल्ल उसलाई पनि छोड्न सल्लाह दिएँ ।
अहिले अधिकांश व्यक्तिको पहिलो सिद्धान्त आर्थिक नाफाघाटाबाट सुरु भएको देखिन्छ । उनीहरूको विश्लेषण यो काममा आर्थिक फाइदा हुन्छ कि हुँदैन भन्नेबाट सुरु हुन्छ तर यो व्यवसायका हिसाबले नराम्रो पनि होइन । यस्तो प्रकारको विश्लेषणमा नैतिकतालाई बेवास्ता गर्नु भने हुँदैन । आजभोलि यस्ता विश्लेषणमा नैतिकतालाई बेवास्ता गर्ने धेरै भेट्न थालिएको छ । जस्तैः कुनै व्यक्तिलाई एउटा आश्वासन दिने अनि त्यसलाई पूरा नगर्ने, कसैसँग केही कार्यका लागि सम्झौता गर्ने तर पछि गर्न सक्दिन भनेर पन्छिनु, भनेको समयमा काम पूरा नगरिदिने, कुनै नराम्रो नतिजाको दोष अन्यलाई लगाउने, राम्रो नतिजाको श्रेय आफैंले मात्र लिन खोज्ने, अरूको खुसीमा नक्कली हाँसो व्यक्त गर्ने तर पछाडि उसलाई गिराउन भरसक प्रयास गर्ने आदि इत्यादि । आर्थिक लाभका लागि नैतिकतामा सम्झौता गर्ने व्यक्तिले अल्पकालमा फाइदा गरे पनि दीर्घकालसम्म फाइदा लिन सक्दैन । व्यक्तिको पहिलो सिद्धान्त नैतिक सिद्धान्त हुनुपर्छ । नैतिकता जतिसुकै महँगो मूल्य चुकाएर पनि खरिद गर्न सकिन्न र नैतिकताबाट आर्जन गरिएको सम्मान खर्बाैं–खर्बाैं रकमको पुरस्कारभन्दा ठूलो हुन्छ । गान्धिबाट सिकेर कार्यकारी, व्यवस्थापक, कर्मचारीहरूले कुनै पनि नैतिक सिद्धान्त पहिला आफूबाट सुरु गर्नुपर्छ, जस्तै : कार्यालय समयमा आउने कार्यालयको आचारसंहिता तथा अन्य आन्तरिक नीति–नियमको पालना गराउनका लागि आफू पहिला आउनुपर्छ । कार्यालयको कुनै पनि नियम पहिला आफूले पालना गर्नुपर्छ ।
अमेरिकी लेखक जिम कोलिन्सले उनको संसारभर धेरै बिक्री भएको किताब ‘गुड टु ग्रेट’ मा भनेका छन्, गुड इज इनिमी अफ दि ग्रेट अर्थात् राम्रो उत्कृष्टको दुस्मन हो । यदि हामी राम्रोमा मात्रै सन्तोष मानेर बस्यौं भने उत्कृष्ट हुनबाट वञ्चित हुन पुग्छौं । उत्कृष्ट हुनका लागि नैतिकताको ठूलो योगदान हुन्छ । मानिस सफल हुनका लागि मेहनत गर्नुपर्छ । सफल मानिसहरूमा नैतिकवान् चरित्र पनि हुनैपर्छ, अझ महान् बन्नका लागि उच्च नैतिकवान् हुनैपर्छ । यस संसारमा अहिलेसम्मका महान् व्यक्तिहरू चाहे गान्धी होऊन् वा गौतम बुद्ध वा नेल्सन मण्डेला वा मदर टेरेसा, युसुफ मलाला, अल्बर्ट आइन्स्टाईन वा थोमस अल्बा इडिसन, ती सबै व्यक्तिमा उच्च नैतिकता थियो । बिना उच्च नैतिकता मानिस चर्चित मात्रै हुन्छन् तर महान् बन्न सक्दैनन्, त्यसैले मेहनत गरेर सफल बन्नुहोस्, नैतिकवान् बनेर अझ सफल बन्नहोस् र उच्च नैतिकवान् बनेर महान् बन्नुहोस् । महान् = सफलता + उच्च नैतिकता सूत्रलाई अनुसरण गरौं । महान् बन्न सफल भएर मात्र हुँदैन, उच्च नैतिकता आवश्यक पर्छ ।

(लेखक ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।)

बुद्धि मल्ल

प्रतिक्रिया दिनुहोस्