जुम्लामा ३६ करोडको भेडा र खसीबोका कारोबार
जुम्ला–जुम्लामा दशैँको अवसरमा ३६ करोड रुपैयाँका भेडा र खसीबोकाका खरिद बिक्री भएका छन् । दशैँमा भेडा र खसीबोकाको बिक्री, त्यसबाट हुने आम्दानी र जिल्ला बाहिर गरिने निर्यातको आधिकारिक तथ्यांकले उक्त कुरा देखाएको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालयले संकलन गरेको तथ्यांकअनुसार जुम्लामा दशैँमा भेडा र खसीबोकाको बिक्रीबाट मात्रै कुल ३६ करोड ११ लाख रुपैयाँ आम्दानी भएको छ ।
जसमा जिल्लाका आठ पालिमा ३१ करोड दुई लाख रुपैयाँबराबरका १८ हजार तीन वटा भेडा र खसीबोका खपत भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले बताए । उनका अनुसार जुम्लाबाट काठमाडौं, पोखरा, डोल्पा, सुर्खेत, बाँकेलगायतका जिल्लामा चार करोड ९१ लाखबराबरका २ हजार ८ सय ८९ वटा खसीबोका निर्यात भएका थिए । चन्दननाथ नगरपालिकामा मात्रै ३२ लाख २८ हजार रुपैयाँबराबरका ८२ वटा भैसी र राँका खरिद बिक्री भएका छन् ।
जुम्लामा जिल्ला बाहिरबाट पनि खसी बोका भित्रिएका थिए । जसमा बाहिरबाट ल्याइएका २९० वटा खसीबोका खरिद गरे बापत जुम्लाबाट ६३ लाख ८० हजार रुपैयाँमा बाहिरिएको छ । यो दशैँमा मात्रै जुम्लामा भेडा, खसीबोका तथा राँगा भैसीको खरिद बिक्रीबाट कुल ३७ करोड ७७ लाखबराबरको कारोबार भएको तथ्यांकले देखाएको छ । जसमा ६३ लाख ८० हजार रुपैयाँ बाहिरिँदा जुम्लामा मात्रै खसीबोका खरिद बिक्रीबाट ३६ करोड ४३ लाख रुपैयाँ भित्रिएको थियो ।
कार्यालय प्रमुख बुढ्थापा भन्छन्, ‘स्थानीय बजारमा न्युनतम १५ हजारदेखी अधिकतम ३० हजारसम्म खसीबोकाको खरिदबिक्री भए पनि औषत मूल्य १७ हजार तोकेका थियौं । जस अनुसार जुम्लाका आठै पालिकामा १८ हजार ३ सय ५३ वटा खसी खपत भएका छन् । त्यसबाट ३१ करोड २ लाख बढीको कारोबार भएको देखिन्छ ।’ जिल्लाबाट औषत मूल्य १७ हजारकै दरले करिब ५ करोडबरारबका २८ सय ८९ भेडा, खसीबोका निर्यात भएका छन् । यो जुम्ली भेडा पालक किसानका लागि खुसीको विषय रहेको छ ।
कुन पालिकाबाट कति खरिद बिक्री ?
जुम्लाका आठै पालिकाका स्थानीय बजारमा दशैँमा भेडा बाख्राको खरिद ब्क्रिी भएको थियो । तथ्यांकअनुसार सबैभन्दा बढी जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा १३ करोड ८० लाख रुपैयाँबराबरको ८ हजार १२१ वटा खसीबोकाको खरिद बिक्री भएका छन् । सबैभन्दा कम तिला गाउँपालिकामा ८५ लाखबराबरका ५ सय भेडा र खसी बिक्री भएका छन् ।
त्यस्तै पातारासी गाउँपालिकामा २ करोड ९१ लाख, तातोपानी गाउँपालिकामा ४ करोड ३६ लाख, सिंजामा ३ करोड २३ लाख, कनकासुन्दरी गाउँपालिकामा २ करोड ७२ लाखको १६ सय वटा भेडा र खसी बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । गुठिचौर गाउँपालिकामा १ करोड १९ लाखका ७ सय भेडा र खसी र हिमा गाउँपालिकामा २ करोड १२ लाख रुपैयाँबराबरका एक हजार २ सय ५२ वटा खसीबोकाको खरिद बिक्री भएको कार्यालय प्रमुख बुढ्थापाले जानकारी दिए ।
जुम्लाका चन्दननाथ, तातोपानी र हिमा बाहेक अन्य पाँच पालिबाबाट २८ सय ८९ भेडा निर्यात भएको छ । हाल जुम्लामा खसीबोका ४६ हजार ३०६ र भेडाभेडी ८४ हजार ३८८ गरी कुल उत्पादन १ लाख ३० हजार रहेकोमा दशैंमा बिक्री २१ हजार २ सय ४२ अर्थात् १६.३ प्रतिशत भेडा र खसीबोका बिक्री भएका छन् । जुम्लाले भेडा पालनबाट बर्सेनि करोडौं आम्दानी गर्न सक्ने सम्भावना भए पनि उचित बजार व्यवस्थापन, किसानलाई प्रोत्साहन, क्वारेन्टाईन जाँच गर्ने जस्ता काममा स्थानीय तहले ध्यान नदिँदा अपेक्षित लाभ लिन नसकिएको कार्यालय प्रमुख बुढ्थापाले बताए ।
पशुपालनको वृद्धि र किसानको जीविकोपार्जनमा सुधार ल्याउनका लागि उन्नत भेडा पालनमा जोड, घाँस खेती, किसान प्रोत्साहनका लागि कार्यालयको विनियोजित बजेटअनुसार विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । तर, जुम्लाका कुनै पनि पालिकामा पशु चिकित्सक नहुँदा दशैं तिहारमा खसी बोका, राँगको स्वास्थ्य जाँच बिनै मासु खानु पर्ने बाध्यता रहेको छ । हाल पशु सेवा कार्यालयमा एक जना पशु चिकित्सक आएका छन् । उनले जिल्लाका सबै पालिकामा आवश्यकताअनुसार पशुको जाँच गर्ने छन् ।