Logo

बाढीपहिरो र डुबानले ५८ हजार ४७६ हेक्टर धानबालीमा क्षति

गत वर्षभन्दा उत्पादन नघट्ने

सिन्धुलीको नेपालथोकस्थित फाँटमा पाकेको धान बाढीले बगाएपछिको अवस्था । तस्बिर: रासस

काठमाडौं– समयमा पर्याप्त मनसुन र रासायनिक मलको उपलब्धताका कारण यो वर्ष धान उत्पादन बढ्ने सरकारी अनुमान थियो । तर, असोज १० र ११ मा आएको बाढीपहिरो र डुबानका कारण सरकारले अनुमान गरेअनुसार उत्पादन नहुने भएको छ ।

कृषि मन्त्रालयका अनुसार यही असोजमा आएको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढीपहिरो र डुबानले ५८ हजार ४ सय ७६ हेक्टरमा लगाएको धानबाली नष्ट गरेको छ । यति ठूलो क्षेत्रफलमा भएको नोक्सानीका कारण धान उत्पादनमा सरकारले गरेको अनुमान फरक पर्ने देखिएको हो । तर, गत वर्षका तुलनामा धान उत्पादन घट्ने छैन ।

मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष धानबाली हुने कुल क्षेत्रफलको ९४.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यो वर्ष ३.९ प्रतिशतले बढेर कुल रोपाइँ ९८.५ प्रतिशत पुगेको छ । धान रोपाइँको क्षेत्रफल बढेकाले असोजको बाढीपहिरो र डुबानले क्षति गरे पनि गत वर्षभन्दा उत्पादन नघट्ने देखिएको हो ।

बाढीपहिरो र डुबानले धानबाली नष्ट हुँदा उत्पादन वृद्धि हुने अनुमानमा केही कमी आए पनि गत वर्षभन्दा धान उत्पादन नघट्ने कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी बताउँछन् । उनका अनुसार यो वर्ष धान रोपाइँ हुँदा मनसुनले राम्रो साथ दिएकाले धेरै क्षेत्रफलमा रोपाइँ भएको छ । अर्को किसानले धानबालीका लागि रासायनिक मलको अभाव भोग्नुपरेको छैन । बाढीपहिरो र डुबानले केही हेक्टर धानबालीमा क्षति गरे पनि यी दुई कारणले उत्पादनमा कमी नआउने प्रवक्ता केसीको भनाइ छ ।

मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा ५ अर्ब ८३ करोड रुपैयाँबराबरको क्षति भएको छ । सबैभन्दा बढी क्षति धान बालीमा पुगेको छ । मुलुकका २० जिल्लामा मात्र ३ अर्ब ५० करोड रुपैयाँबराबरको ५८ हजार ४ सय ७६ हेक्टर धानबाली बाढीपहिरोले नष्ट भएको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयले सबै प्रदेशहरुलाई बाढीपहिरो र डुबानले कति क्षति भएको छ यकिन विवरण पठाउन निर्देशन दिएको छ । बाढीपहिरो र डुबानले कृषि बालीमा गरेको क्षतिबारे यकिन तथ्यांक नआउँदासम्म धानबाली उत्पादनमा कति कमी आउँछ भन्न नसकिने प्रवक्ता केसीले जानकारी दिए । क्षतिको अन्तिम विवरण आएपछि मात्र धानबालीमा कति कमी आउन सक्छ भन्ने अनुमान गर्न सकिने उनले बताए । अविरल वर्षाले धानबालीमा बढी क्षति गरेको हुँदा उत्पादन वृद्धिमा स्वाभाविक रुपमा असर पर्ने उनको भनाइ छ ।

मन्त्रालयका अनुसार अघिल्लो वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षभन्दा गत वर्ष २ लाख ३७ हजार ७६२ टन बढी उत्पादन भएको थियो । प्रतिशतका आधारमा भन्दा ४.३३ प्रतिशतले धान वृद्धि भएको हो । मन्त्रालयका अनुसार विगत चार वर्षको औसत उत्पादनको तुलनामा यो ५.०८ प्रतिशतले बढी हो । धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ टन प्रतिहेक्टर पुगेको छ ।

धान उत्पादन वृद्धि भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो । आव २०७९–८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षभन्दा ८ हजार ८ सय हेक्टर क्षेत्रमा कम रोपाइँ भएको थियो ।

देशका अधिकांश स्थानमा परेको अविरल वर्षाले बाढीपहिरो र डुबानका कारण कृषि बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन र कृषि सम्बन्धी पूर्वाधार क्षेत्रमा क्षति भएको छ । धानबाली क्षति हुने जिल्लाहरुमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रे छन् ।

यस्तै, बाढीले खोटाङको १ हजार ३ सय हेक्टर क्षेत्रको अलैंची नष्ट भई ७० करोड रुपैयाँबराबरको क्षति गरेको छ । यसैगगरी पर्साको ८५ हेक्टर क्षेत्रमा लगाएको ३४ करोडबराबरको उखु खेतीमा बाढीले क्षति पुर्‍याएको छ । मन्त्रालयको तथ्यांकअनुसार ४ सय ५८ हेक्टरको माछापोखरीमा बाढी र डुबानले १ अर्ब १३ करोडबराबरको क्षति भएको छ । क्षति हुने जिल्लामा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन् ।

यसैगरी बाढीपहिरोले पाँचथर, धनकुटा र तेह्रथुमका २४ पशुगोठमा क्षति भएको छ । बाढीपहिरोले पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर र मधेस प्रदेशका सबै जिल्लामा गरी २६ हजार २ सय ५ पशुपन्छीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा २२ हेक्टर फलफूल बगैंचामा क्षति भएको छ ।

खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सामा ४ हजार ७ सय ४३ हेक्टर तरकारी बाली नष्ट भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ वटा कोल्ड स्टोरमा क्षति पुगेको छ । मन्त्रालय र मातहतका कार्यालयको भौतिक तथा अन्य संरचनामा १६ करोड बराबरको क्षति भएको छ । लालबन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसीकोट, फिक्कल, कीर्तिपुर, मार्फा र नवलपुरमा यो क्षति भएको हो ।

प्रतिक्रिया दिनुहोस्