पूर्ण सरसफाइयुक्त बन्दै कैलारी

धनगढी-कैलारी गाउँपालिकाका भल्मन्साहरूले गाउँघर सफा राख्न टोल टोलमा निर्देशन दिएका छन् । भल्मन्साहरूले गाउँलेलाई घरघरमा चर्पी बनाउन, धारामा फर्स गर्न र भाँडा सुकाउने चाङ बनाउन, घर आँगन सफा राख्न तथा सडकमा वस्तुभाउ नबाँध्न दिर्नेशन दिएका हुन् ।
कैलारी गाउँपालिकामा अधिकांश थारु गाउँ भएकाले भल्मन्साको यो निर्देशन गाउँलेहरूले पालना गरिरहेका छन् । प्रदेशमै पहिलो खुला दिसामुक्त गाविस बन्न सफल भएको पवेरा गाविसलाई समावेश गरी बनेको कैलारी गाउँपालिकामा यतिखेर प्रदेशकै पहिलो पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने अभियान चलेको छ ।
कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाइ शाखा प्रमुख तर्कराज जोशीले प्रदेशको पहिलो पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने होडमा सिंगो गाउँपालिका लागेको बताए । उनले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, भल्मन्सा र कर्मचारी सबै एकजुट भएर सरसफाइ अभियानलाई तीव्रता दिइएको बताए । “आमा समूह, युवा क्लब, शिक्षक, विद्यार्थी र स्वास्थ्य स्वयंसेविकाहरू पनि खटिएर काम गरिरहेका छन्,” जोशीले भने, “स्थानीय राजनीतिक दल र नागरिकले पनि अभियानमा साथ दिएका छन् ।”
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले यसै आर्थिक वर्षभित्रै पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने गरी प्रत्येक वडामा अभियान सञ्चालन गरेको बताए । बाटो, घर, आँगन सरसफाइ गर्नुका साथै गाउँपालिकाको मुख्य केन्द्रमा पाँच वटा सार्वजनिक शौचालय निर्माण गर्ने काम भइरहेको अध्यक्ष चौधरीले बताए । उनले शुद्ध खानेपानीका लागि गहिरो तथा उच्चधारा निर्माणसमेत भइरहेको बताए ।
पूर्ण सरसफाइयुक्त गाउँपालिका भएपछि गाउँमा झाडापखाला लगायत अनावश्यक रोगव्याध कम हुने, स्वस्थ नागरिक तथा जनशक्ति उत्पादन हुने, सडक दुर्घटना न्यूनीकरण हुने र नागरिकहरुको आयआर्जन वृद्धि भई समग्र गाउँपालिका नै समृद्धिको दिशामा अगाडि बढ्ने विश्वासका साथ अभियान सञ्चालन गरेको अध्यक्ष चौधरीले बताए । उनले आठ हजार घरधुरी रहेको गाउँपालिकामा पूर्ण सरसफाइको सूचकांक तयार गरिरहेको समेत बताए । प्रत्येक घरमा चर्पी हुनुपर्ने, धारामा सर्फ अनिवार्य बनाउनुपर्ने, बाटोमा गाईभैंसी नबाँध्ने, सुरक्षित खानेपानी प्रयोग गरेको हुनुपर्ने, महत्पूर्ण अवस्थामा साबुनपानीले हातधुने, सुरक्षित खानाका लागि भान्साको सरसफाइ गरेको हुनुपर्ने लगायतको मापदण्ड राखिएको खानेपानी तथा सरसफाइ शाखा प्रमुख जोशीले बताए ।
कैलारीका भल्मन्सा, आमा समूह, शिक्षक, युवा क्लबलगायतका व्यक्तिहरूले मापदण्डअनुसार गाउँपालिकालाई माघ महिनाभित्रै पूर्ण सरसफाइयुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता अनुसार भल्मन्साहरूले निर्देशन जारी गरेपछि काम पनि तीव्रगतिमा भइरहेको जोशीले बताए । गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन गाउँपालिकाले पनि विगतदेखि नै काम गरिरहेको छ । गाउँपालिका र गैरसरकारी संस्थाको साझेदारीमा गतवर्ष कम्तीमा डेढ सय गहिरो गाडिएको तीन सय नौं वटा नल्का हालिएको छ । यस वर्ष पनि दुई ६० वटा नल्का हाल्ने काम भइरहेको छ ।
सुरक्षित खानेपानीका लागि सुदूरपश्चिम प्रदेश सरकारले कैलारी गाउँपालिकामा ६ वटा ओभरहेड ट्यांकीसहितको खानेपानी योजना निर्माण गरिरहेको छ । तर कराडौंको रकम लाग्ने योजनामा लाखका दरले बजेट विनियोजन गरिँदा खानेपानी योजना निर्माण सुस्त छ । यस वर्ष दुईवटा खानेपानी योजनाले मात्रै खानेपानी छोड्न सक्ने खानेपानी तथा सरसफाइ शाखा प्रमुख जोशीले बताए । उनका अनुसार कैलारीको वडा नं. ४ र ५ मा संघीय सरकारले समेत यस वर्ष दुईवटा खानेपानी योजनाको सर्वे सुरु गरेको छ । गाउँपालिकाले गहिरो पाइप हाल्दा पानी नआउने वडा नं. ४, के गाउँमा चार र वडा नं. ७, मिलनपुरमा दुई वटा सिलिन्डर प्रविधिबाट खानेपानी निकालेको छ । गाउँमा सरसफाई अभियान सञ्चालन भएपछि गाउँलेहरु पनि जागरुक भएका छन् । उनीहरूले गहिरो पाइप हालेको नक्लाबाट मात्रै पानी खान थालेका छन् ।
पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउनका लागि प्रत्येक विद्यालयमा शौचालय सरसफाइका लागि एक हजार लिटरको पानी ट्यांकी, एउटा पानी तान्ने मोटर र धाराको व्यवस्था गर्ने योजना रहेको जोशीले बताए । २०६९ चैत १२ गते कैलारीको वडा नं. ५ (साविक पवेरा गाविस) सुदूरपश्चिमाञ्चलको पहिलो खुला दिसामुक्त गाविस भएको थियो भने २०७२ असार १५ गते कैलारी गाउँपालिका पूर्णरूपमा खुला दिसामुक्त भएको थियो ।