पारवहनका लागि विशाखापट्टनम उपयुक्त «

पारवहनका लागि विशाखापट्टनम उपयुक्त

विशाखापट्टनम (भारत)- तेस्रो मुलुकबाट नेपालमा आयात गरिने सामानको पारवहन सेवाका लागि भारतको विशाखापट्टनम बन्दरगाह सबैभन्दा उत्तम विकल्पका रूपमा देखिएको छ । दूरीको हिसाबले नेपालबाट करिब १४ सय किलोमिटरमा रहेको भारत आन्ध्रप्रदेशको विशाखापट्टनममा पर्ने बन्दरगाहमा तेस्रो मुलुकबाट सामान आयातका लागि सबै सुविधा उपलब्ध रहेकाले पनि नेपाली आयातकर्ताका लागि उपयुक्त देखिएको हो ।
वर्षौंदेखि पश्चिम बंगालको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात गर्दै आएका नेपाली आयातकर्ताका लागि कोलकाता बन्दरगाहमा धेरै समस्या झेल्नुपरिरहेको अवस्थामा पछिल्लो समयमा विकल्प र अवसर दुवै हुन सक्नेछ । नेपालको आयातमुखी अर्थतन्त्रमा अहिले विशाखापट्टनमले केही हदसम्म व्ययभार कम गर्न सहयोग पुर्याउन सक्ने देखिन्छ ।
विशाखापट्टनम १६ मिटर गहिराइमा रहेकाले जुनसुकै देशबाट आउने ठूलो क्षमताका समुद्री जहाज आउन सक्ने बन्दरगाह हो । नेपाली आयातकर्ताका लागि आकर्षणको बन्दरगाह भए पनि यसको उपयोगका लागि नेपाल पक्षबाटै खासै चासो देखिएको छैन । समुद्री मार्ग हुँदै नेपाल आयात गर्ने ट्रान्जिट पोइन्टको रूपमा भारतको तीनवटा बन्दरगाहमध्ये विशाखापट्टनम सबैभन्दा सहज र झन्झटमुक्त बन्दरगाहको रुपमा रहेको विशाखापट्टनम कन्टेनर टर्मिनलको दाबी छ । बन्दरगाहमा हुनुपर्ने भौतिक पूर्वाधार संरचना र यान्त्रिक उपकरणको हिसाबले पनि विशाखापट्टनम सहज देखिएको छ ।
रबर टायर ग्यान्ट्री क्रेन (आरटीजीसी) आठ र रेल माउट्रेट क्वे क्रेन (आरएमक्युसी) ६ वटा यान्त्रिक उपकरण छन् । १० हजारदेखि १२ हजार वटा कन्टेनर बोकेर मोदर भेसल (ठूलो जहाज) आउने गरेका छन् । जुनसुकै मौसममा पनि काम हुने विशाखापट्टनम बन्दरगाह सिंगापुरबाट एक हजार पाँच सय ७३ नटिकल माईल र मलेसियाको केलाङ पोर्टबाट एक हजार तीन सय ८५ नटिकल माईल दूरीमा मात्रै छ । यो भारतको अन्य बन्दरगाहभन्दा सबैभन्दा नजिकको बन्दरगाह पनि हो । जबकी भारतकै चेन्नई पोर्ट सिंगापुरबाट एक हजार पाँच सय ८६ नटिकल माईल र कोलकाता एक हजार ६ सय ५० नटिकल माईल र मुम्बई पोर्ट दुई हजार चार सय ३५ को दूरीमा पर्छ । भारतकै कोलकाता बन्दरगाह नेपालको वीरगन्जबाट करिब सात सय किलोमिटरको दूरीमा छ । विशाखापट्टनम यसको दोब्बर १४ सय किलोमिटरको दूरीमा रहे पनि कन्टेनर ढुवानीको जिम्मा सिपिङ कम्पनीको कोलकातासम्म मात्रै छ । तर, विशाखापट्टनमबाट मस्र्कलाईन सिपिङ कम्पनीले सीधा नेपालको सुक्खा बन्दरगाह (आईसीडी) सम्म विल अफ ल्याडिङ (बिएल) र कस्ट एस्युरेन्स फ्रेट (सीआईएफ) सहित जिम्मेवारीपूर्ण सेवा दिने गरेकाले ढुवानीमा हुने झन्झट, कागजी प्रक्रिया, कोलकातास्थित कस्टम हाउस एजेण्ट (सीएचए) हरूको मनोमानी कामबाट नेपाली आयातकर्ता मुक्त हुने विश्वास लिइएको छ । यसले नेपाली आयातकर्ता पनि विशाखापट्टनमप्रति आकर्षित हुन सक्ने सम्भावना निकै बलियो देखिन्छ ।
कोलकताबाट कन्टेनर फेरि आईसीडीसम्म लानका लागि अर्को ढुवानी व्यावस्था गर्नुपर्ने झन्झट व्यहोर्नुपर्ने हुन्छ । यस हिसाबले पनि कोलकाता बन्दरगाहमा लाग्ने ढुवानी खर्चको तुलनामा विशाखापट्टनम बन्दरगाहको खर्च पनि कम हुनेछ । कोलकातामा अहिले सबै कागजी प्रक्रिया पूरा गरेर कन्टेनरको डिटेन्सन (विलम्व) शुल्क बाहेकको खर्च करिब एक लाख २५ हजार प्रतिकन्टेनर लाग्ने गरेको छ । तर विशाखापट्टनममा भने एक लाखभन्दा कम लाग्ने र कुनै डिटेन्सनको समस्या नहुने बताइएको छ । सीपिङलाइनले पाँच दिनको समय दिने भएकाले पाँच दिनमा जुनसुकै कन्टेनर पनि खाली गरेर वीरगन्ज स्थित इन्ल्याण्ड कन्टेनर डिपोट (आईसीडी) मा बुझाउन सकिन्छ ।
विशाखापट्टनमबाट सुक्खा बन्दरगाह पुगेपछि मात्रै डिटेन्सन सुरु हुने भएकाले यदि सिपिङलाईनले दिएको पाँच दिनको समयमा पनि आयातकर्ताले खाली कन्टेनर दिन सकेन भने मात्रै डिटेन्सन लिने गरेको छ । कोलकताबाट ढुवानी गर्दा बढी समय लाग्ने भएकाले कन्टेनरको डिटेन्सन चार्ज कोलकताबाटै शुरु हुने गरेको छ । समय बढी लाग्ने र फेरी कन्टेनर कोलकातामा नै बुझाउनुपर्ने भएकाले यसले आयाकर्ता दोहोरो मारमा पर्ने गरेका छन् । विशाखापट्टनम बन्दरगाहमा ठूलो खाली स्थान रहेको र दुई लाइन रेल मुभमेन्टबाट सजिलै कन्टेनर ह्याण्डलिङ गर्न सकिने भएकाले आयातकर्ताहरूको लागि सहज ट्रान्जिट विशाखापट्टनम हुन सक्छ ।
गएको जेठ ३० गते पहिलो पटक ५० वटा कन्टेर बोकेर विशाखापट्टनमबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहमा रेल पुगेको थियो । त्यस यता अहिले ३६ र्याक कन्टेनर यहाँबाट सीधा वीरगन्जमा ढुवानी भइसकेको विशाखापट्टनम कन्टेनर टर्मिनलका महाप्रबन्धक भी. कल्याण चटर्जीले जानकारी दिए । उनका अनुसार विशाखापट्टनमबाट अहिले मस्र्कलाईन र बीएलपीएल प्रालि, अष्ट्रियर लजिष्टिक, पोर्टट्रेड सीपीङ एण्ड लजिस्टिकले कन्टेनर सेवा दिइरहेका छन् । यसको ढुवानी भने भारतीय रेलवे कम्पनीको भगिनी संस्था भारतीय कन्टेनर निगम (कोंकर) ले गर्ने गरेको छ । कोलकातामा नेपाली महावाणिज्यदूतावासबाटै कागजपत्रको काम हुने गरेको भए पनि धेरै समय लाग्ने गरेको छ । विशाखापट्टनमका लागि भने दिल्लीस्थित नेपाली दूतावासबाटै हेर्ने भएकाले कागजात प्रमाणीकरणमा केही समस्या हुने गरेको महाप्रबन्धक भी. चटर्जीले बताए । तर, नेपाली दूतावासले इमेलमार्फत नै प्रमाणीकरण गरेर पठाइदिए कन्टेनर छोडिदिने गरेको चटर्जीको भनाई छ । उनका अनुसार आयातकर्ताले प्रतितपत्र (एलसी) खोल्दा पूरा ठेगाना उल्लेख नगर्ने गरेको र बैंकिङ प्रक्रियामा पनि केही ढिलासुस्ती गर्ने गरेकाले समस्या हुने गरेको छ । विशाखापट्टनममा अहिले विभिन्न देशका करिब चारसय ५० सीपीङ कम्पनीहरूले सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्