Logo

तारे होटलमै अखाद्य वस्तु प्रयोग

काठमाडौं– ताजा र स्वस्थकर खाना एवं खाजा पाइन्छ भन्ने विश्वासमा उपभोक्ता ठूला होटल तथा रेष्टुरेन्ट जाने गर्छन् । तर, मानक भनिएका तारे होटलले नै खाना तथा खाजामा अखाद्य वस्तुको प्रयोग गरिरहेको फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत साउन १ देखि असोज २२ सम्म मुलुकभर अनुगमन तथा निरीक्षण गर्दा उपझोक्ता हितविपरीत तारे होटल र स्तरीय रेस्टुरेन्टले नै खानामा हेलचेक्र्याइँ गरेको पाइएको हो । मुख्य गरी होटल–रेष्टुरेन्टले म्याद गुज्रेका र अखाद्य सामग्री प्रयोग गरेको फेला परेको छ । विभागले यो अवधिमा १ हजार २ सय २४ व्यावसायिक फर्मको अनुगमन गर्दा २ दर्जन हाराहारी होटल–रेष्टुरेन्टमा कैफियत भेटेको छ । यी सबै कारवाहीको दायरामा पनि आएका छन् ।

गत वर्ष विभागले ४ हजार २ सय ६९ व्यावसायिक फर्ममा अनुगमन तथा निरीक्षण गरेकोमा ९ सय ३५ लाई कारबाही गरेको थियो । यसमध्ये ६४ होटल तथा रेष्टुरेन्ट परेका थिए । गत आर्थिक वर्षमा नै विभागले म्याद गुज्रेका र अखाद्य सामग्रीको प्रयोग गरेको पाएपछि उपत्यकाका १२ तारे होटललाई कारवाही गरेको थियो । तर, ती होटलको नाम विभागले सार्वजनिक गरेन । मुलुककै छविमा नराम्रो प्रभाव परी पर्यटक आउन कम हुने भयले विभागले ती होटलको नाम सार्वजनिक गरेको थिएन । तर, होटल सञ्चालकहरुले सरकारको यही कमजोरीको फाइदा उठाएर अखाद्य र म्याद सकिएका सामान प्रयोग गर्न छोडेको देखिएन ।

ठूला होटलले म्याद सकिएका खाद्य सामग्री तथा बढी मूल्य लिएको पाएपछि कारवाही गरिएको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । उनले भने, ‘अनुगमन गर्दा पाँचतारे होटल एभरेष्ट र याक एण्ड यतिले म्याद गुज्रिएका खाद्यवस्तु प्रयोग गरेको पाइयो । विभागले ती होटललाई ३–३ लाख रुपैयाँ जरिवाना गरेको छ ।’ पौडेलका अनुसार रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको फेला परेपछि ती होटललाई कारवाही गरिएको हो ।

पर्यटन उद्योग फस्टाएन भनिरहने होटल व्यवसायीले नै अखाद्य वस्तु प्रयोग गरेर पर्यटकलाई निरुत्साहित पारेकामा महानिर्देशक पौडेलले गुनासो पोखे । ‘एकातिर पूर्वाधार अभावले पर्यटक आगमन बढेको छैन । अर्कोतिर खाद्य असुरक्षा र मूल्य पनि महँगो छ,’ पौडेलले भने, ‘दीर्घकालसम्म पर्यटन उद्योग सञ्चालन गर्ने होटलले नै अखाद्य वस्तु प्रयोग गरेपछि कसरी पर्यटन उद्योगको विकास हुन्छ ? खाडी मुलुकबाट ल्याएको इन्धनको मूल्यमा सरकारले आधाजसो कर लगाउँदा पनि १ सय ५६ रुपैयाँमा पाइन्छ । तर, नेपालमा उत्पादन हुने मिनरल वाटरको प्रतिलिटर ४ सय ३२ रुपैयाँ लिइएको छ । यो कहाँसम्मको न्याय हो ?’ पर्यटक आगमनका लागि सबै निकायले गम्भिरता देखाउनुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार याक एण्ड यति होटलको भान्सामा म्याद सकिएको अचार फेला पारेको थियो । यस्तै, एभरेष्टले म्याद सकिएका सस प्रयोग गरेको फेला परेको थियो । ‘भण्डारणमा फेला परेको भए केही त्रुटी भयो कि भन्न सकिन्थ्यो । नियतवश भान्सामा नै प्रयोग हुनु भनेको गम्भिर लापरवाही र आम उपझोक्तामाथिको खेलवाड हो । अधिक मूल्य तिरेर पनि उपझोक्ताले स्वच्छ खाना नपाउनु ठूलो ठगी हो,’ उनले भने ।

यस्तै, बसेरा होटलले ३५ रुपैयाँ पर्ने पानीको मूल्य १ सय ३३ रुपैयाँसम्म बढी लिएको पाइएको थियो । यो होटललाई पनि तीन लाख जरिवाना गराइएको छ । उपत्यकाका होटल तथा रेष्टुरेन्ट अनुगमनका क्रममा बढीजसो खाद्यवस्तुमा कैफियत र मूल्य धेरै लिएको पाइएको विभागका निर्देशक ढिकबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘विभागले चाडबाड लक्षित अनुगमन गरिरहेको छ । ब्रान्डेड भनिएको आँगन मिठाई पसलमा समेत म्याद सकिएको तेलको प्रयोग भएको पाइयो, कारवाही अगाडि बढाएका छौं । तारे होटल तथा रेष्टुरेन्टमा अंकित मूल्यभन्दा बढी लिइएको पाइएको छ । म्याद सकिएको खाद्यान्न पनि प्रयोग भएको छ ।’ आँगनले वितरण गर्ने पसल सफा राखेको भए पनि मिठाईको भण्डारण र भान्साको सफाइ नगरेको विभागको अनुगमनले भेटाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णका अनुसार उपत्यकाका साना तथा तारे होटल–रेष्टुरेन्टले पटक–पटक प्रयोग भएको घिउतेल प्रयोग गरेकोे पाइएको बताए । उनले भने, ‘होटल–रेष्टुरेन्टले प्रयोग गर्ने तेलमा पोलार कम्पाउन्डको मात्रा २५ प्रतिशतभन्दा बढी हुनु हँुदैन, तर त्योभन्दा बढी पाइएको छ ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार नाम चलेका होटल–रेष्टुरेन्टमा सेफ तथा अन्य जनशक्ति अन्तर्राष्ट्रिय स्तरको अध्ययन तथा अनुभव भएका हुन्छन् । त्यहाँ नै अखाद्य वस्तु भेटिनु उपझोक्तामाथिको ठूलो अन्याय भएको उनले बताए । ‘प्रतिष्ठित होटलमा नै कैफियत देखिएको छ भने आम सर्वसाधारणले उपभोग गर्ने राजमार्गका होटलको अवस्था कस्तो होला ? त्यहाँ प्रयोग हुने खाद्यवस्तुको भण्डारण, पकाउने तौरतरिका र वितरण न्यून गुणस्तरको छ । त्यतातिर सरकारको पर्याप्त ध्यान पुगेको छैन,’ उनले भने ।

होटल संघ नेपाल (हान) का प्रवक्ता शाजन शाक्यले भने होटलहरुले गुणस्तर कायम गरेको दाबी गरे । उनले भने, ‘केही होटलमा कैफियत भेटिएको हो, सबैमा भन्न मिल्दैन । होटलहरुले गुणस्तरीय खाद्यान्नको प्रयोग गरेर हाइजिन मेन्टेन गर्ने गरेका छन् । हानले पनि यसमा समन्वय गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्