सौर्य ऊर्जाको सम्भाव्यता दोहन

नेपालमा विगत लामो समयदेखि नै जबजब ऊर्जा व्यवस्थापनको मुद्दा उठ्ने गर्छ, त्यतिखेर सौर्य ऊर्जालाई जलविद्युत् ऊर्जाको सौताका रूपमा व्याख्या गर्ने प्रचलन रहँदै आएको छ । सौर्य ऊर्जाको प्रयोगलाई निरुत्साहित गर्नका लागि यसलाई महँगो, ब्याट्री प्रयोगका कारण व्यवस्थापन र हेरविचार तथा उत्पादित विद्युत् वितरणका हिसाबमा प्राविधिक रूपले झन्झटिलोसमेत भनेर व्याख्या गर्ने गरिएको छ । विश्वका अन्य मुलुकहरूले सौर्य ऊर्जाबाटै विद्युत् निकालेर प्रयोगमा ल्याइरहेका उदाहरणहरू हेर्दा यी सबै तर्क केवल बहसका लागि गरिएको पुष्टि हुन्छ । भारतले हाल राजस्थानमा विश्वकै सबैभन्दा ठूलो सौर्य ऊर्जा प्लान्ट बनाउँदैछ । हाल भारतको कुल ऊर्जा उत्पादनमा सौर्य ऊर्जाले झन्डै ४० प्रतिशत हिस्सा ओगटिरहेको एक निजी अध्ययनले देखाएको छ । हाल भारतमा ७ हजास १ सय मेगावाट विद्युत् सौर्य ऊर्जाबाट उत्पादन भइरहेकोमा वैकल्पिक ऊर्जाबाट सन् २०२२ सम्म १ सय ७५ गिगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसमध्ये १ सय गिगावाट विद्युत् सौर्य ऊर्जाबाटै जोडिने लक्ष्य छ । यसैगरी, अर्को छिमेकी देश चीनले सन् २०२० का लागि राखेको १ सय गिगावाट सौर्य ऊर्जा उत्पादनको लक्ष्य सन् २०१७ मै पूरा गरेको छ । हाल सौर्य ऊर्जाबाट १ सय १२ गिगावाट विद्युत् उत्पादन गरिरहेको चीनले सन् २०२० का लागि पुनः २ सय १३ गिगावाटको नयाँ लक्ष्य राखेको छ । हालसम्म अमेरिका विश्वको सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक रहँदै आएकोमा आउँदा केही वर्षभित्रमा चीनले उसलाई उछिन्ने निश्चितप्रायः छ ।
यदि सौर्य ऊर्जा झन्झटिलो र दीर्घकालीन प्रयोगका हिसाबले ‘कामै नलाग्ने’ भइदिएका भए अमेरिका, भारत, चीनलगायतका मुलुकहरूले यसको जडानमा यत्रो लगानी गर्दै–गर्दैन थिए होलान् । जलविद्युत् उत्पादनको विकल्प नभई सौर्य ऊर्जा त्यसको पूरक हुन सक्ने भएकाले नै यस क्षेत्रमा व्यापक लगानी भइरहेको हो । नेपालमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता भएकाले मुख्य प्राथमिकता त्यसमै दिनुपर्ने भन्ने तर्कमा अर्को विमति हुन नसके पनि सौर्य वा वायु ऊर्जाजस्ता वैकल्पिक ऊर्जा सान्दर्भिकता नै नभएको भने होइन । सौर्य ऊर्जा उत्पादनमा पनि फरक–फरक विधिहरू प्रयोगमा छन्, त्यसमध्ये भारतले राजस्थानमा सौर्य ऊर्जाका माध्यमबाट तापीय विद्युत् उत्पादनका विधि प्रयोगमा ल्याइरहिएको छ भने चीनले सौर्य ऊर्जा भण्डारणसहितको विधि प्रयोगमा ल्याइरहेको छ ।
नेपालमा हाल प्रयोगमा रहेको घरेलु सौर्य ऊर्जा उत्पादन विधिलाई नै अन्तिम मानेर यसको सान्दर्भिकताबारे प्रश्न गरिनु औचित्यहीन कुरा हो । सौर्य ऊर्जाबाट उत्पादित विद्युत् अनलाइन ग्रिडमा जोडेर त्यसको बहुउपयोग गर्ने हो भने अहिले मात्र होइन, भविष्यमा पनि नदीको जलसतह कम हुँदा विद्युत् उत्पादन कम हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ । सिंहदरबारको छतमा जडित सौर्य ऊर्जा प्रणाली (सोलार) बाट उत्पादित १ मेगावाट विद्युत् त्यहाँ उपयोगमा मात्र नल्याई राष्ट्रिय प्रसारणलाइनमा समेत जोडिनुले यसको सान्दर्भिकता पुष्टि गरेको छ । हाल सरकारको औपचारिक विद्युत् प्रसारणलाइनबाट वितरित विद्युत् करिब ६० प्रतिशत नेपालीले मात्र उपयोग गर्न पाइरहेका छन्, बाँकी नेपाली या त परम्परागत ऊर्जामा भर पर्न बाध्य छन् वा वैकल्पिक ऊर्जामा । त्यसैले सार्वननिक–निजी साझेदारीमा देशका अन्य क्षेत्रहरूमा पनि सौर्य ऊर्जा जडान गरी त्यसबाट उत्पादित विद्युत्को अधिकतम उपयोगमा जोड दिनु अपरिहार्य भइसकेको छ ।