विवाह गर्दै सोनम

भारतको नयाँदिल्लीका उद्योगपति आनन्द अहुजासँग लामो समयदेखि प्रेममा रहेकी बलिउड नायिका सोनम कपुर अब चाँडै नै वैवाहिक जीवनमा बाँधिने भएकी छिन्। अहिलेको माहोल नबिग्रिएमा सोनमका पिता अनिल चाँडै नै विवाहको तयारीमा हुनेछन्।
त्यसो त सोनम र आनन्दले आफ्नो प्रेम सम्बन्धबारे अहिलेसम्म मुख खोलेका छैनन्। तर, दुवैले एकअर्कासँगको सम्बन्ध नकारेका पनि छैनन्। लन्डन र भारतका विभिन्न ठाउँमा सँगै देखिएका उनीहरूको कसैबाट लुकेको छैन।
‘छोरी र आनन्दको प्रेमबारे थाहा पाइसकेका अनिल उनीहरूको विवाहमा ढिलाई गर्न चाहँदैनन्। सोनमका साथीहरूले सोनम र अनिललाई चाँडै विवाह किन गर्न लागेको भनेर विरोध पनि गरिरहेका छन्,’ सोनमको पारिवारिक स्रोतले भनेको छ। सोनमको यतिबेला विवाह गर्दा उसको करियर बिग्रने भन्दै शुभचिन्तकले सोनमलाई पनि सम्झाउने गरे पनि यी कुरामा सोनामले चासो दिएकी छैनन्।
अनिल मात्र हैन उनको परिवारले पनि आनन्दलाई हुनेवाला ज्वाइँका रूपमा स्वीकार गरिसकेको छ। सोनम र आनन्दको पहिलो भेट अभिनेता अक्षय कुमारले हलिउड स्टार विल स्मिथको स्वागतमा आयोजना गरेको पार्टीमा भएको थियो।
आनन्द लुगा व्यवसायी हुन्। आनन्द आफैंले केही समय अघि ‘भाने’ नाममा लुगाको ब्रान्ड नै सञ्चालन गरेका थिए। जुन ब्रान्डका लुगामा आजभोलि सोनम देखिन्छिन्।
फिल्म ‘निरजा’ की अभिनेत्री सोनमले जीवनका हरेक पाटामा आफू खुला रहे पनि प्रेमका विषयमा भने गोप्यता अपनाउने गरेका छन्। सोनम चाँडै नै आफ्नी बहिनी रेहा कपुरले निर्माण गर्न लागेको फिल्म ‘वीरा दि वेडिङ’मा करिना कपुर खान र स्वारा भास्करसँग अभिनय गर्दैछिन्।