पीपीएलमा चितवनको फराकिलो अन्तरको जित «

पीपीएलमा चितवनको फराकिलो अन्तरको जित

पोखरा- चितवन राइनोजका शुरुआती ब्याट्सम्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गरेपछि पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर बुटवलले पहिला ब्याटिङका लागि निम्ता दिएपछि प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको चितवनले उत्कृष्ट शुरुआत गरेको थियो ।
चितवनका शुरुआती ब्याट्सम्यान रोहन र पारस दुवैले अर्धशतक पूरा गर्दै टोलीका लागि उत्कृष्ट शुरुआत गरे । रोहनले ५६ बल सामना गरी ७० रन बनाए भने पारसले ४० बलमा ६३ रन जोडेका थिए । चितवनले निर्धारित पूरै ओभर खेल्दै तीन विकेटको क्षतिमा २०३ रनको विशाल योगफल तयार गरेको थियो ।
जितका लागि २०४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बुटवल १८ दशमलव चार ओभरमा ८४ रन जोडेर अल आउट हुन पुग्यो । बुटबलका अफ्ताबुद्दिन अहमदले दुई र अविनाश बोहोराले एक विकेट लिए ।
जितसँगै दुई खेल खेलेको चितवन चार अङ्क बटुलेर अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा सहभागी अन्य पाँच टोलीको समान दुई अङ्क रहेको छ । यद्यपि काठमाडौँ गोल्डेन वारियर्स र पोखरा पल्टनले तीन खेल खेलिसकेका छन् भने अन्यले दुई खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्