विदेशी मुद्रा आर्जनमा विप्रेषणको योगदान

विश्वको निर्धनतम मुलुकमध्ये नेपाल पनि एक हो । विगत दुई–तीन दशकदेखि राजनीतिक अस्थिरताको निरन्तरताले निर्धनतम मुलुकलाई झन् निर्धनतम बनाउन थप ऊर्जा प्रदान गरिरहेको छ । सन् १९९० को दशकको सुरुमा नेपालको द्रुत विकासको परिकल्पना गरियो । विश्व परिवेश र नेपालकै पनि राजनीतिक परिवर्तनका कारण आर्थिक जग तयार गर्न आर्थिक उदारीकरण प्रणालीको सुरुवात गरियो । यो प्रणालीको अनुसरण नेपालले मात्र गरेको होइन । नेपालका दुई छिमेकी मुलुक भारत र चीनले पनि खुला र उदार आर्थिक प्रणालीको अनुसरण गरे । चीनले विगत दुई–तीन दशकदेखि निरन्तर रूपले वार्षिक ७–१२ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त गरिरहेको छ । यही आर्थिक प्रणालीले चीनलाई गरिबी मुक्त बनायो । यति मात्र होइन, चीन विश्वको दोस्रो धनी मुलुक बन्न पुग्यो । भारतले ७–९ प्रतिशतभन्दा बढी निरन्तर रूपले आर्थिक वृद्धिदर प्राप्त गर्न सफल भइरहेको छ । छिमेकी मुलुकहरूको उदेकलाग्दो आर्थिक विकास उदार र खुला आर्थिक प्रणालीअन्तर्गत नै भइरहेको छ । छिमेकी मुलुकहरूको आर्थिक वृद्धि निर्यातमा आधारित छ । चीनले औद्योगिक वस्तुको निर्यात गर्छ भने भारतले सेवाक्षेत्रको । यी दुई मुलुकको विकास आर्थिक उदारीकरण प्रणालीको उपज हो भन्न सकिन्छ । उदार र खुला आर्थिक प्रणाली हुँदाहुँदै पनि नेपालको विकासमा छिमेकीको प्रभाव पर्न सकेन । फलस्वरूप आर्थिक वृद्धिर वार्षिक ४ प्रतिशतभन्दा तल खुम्चिन बाध्य भइरहेको छ । यसले के प्रस्ट्याउँछ भने देश विकासले गति लिन सकेन । युवायुवतीहरू बेरोजगार बने र आज पनि बनिरहेका छन् ।
श्र्रमको गतिशीलता
सन् १९८० को दशकमा तीव्र वेगमा दौडेको उदारीकरण र विश्वव्यापीकरणको प्रभाव नेपाललाई पनि पर्यो । विश्वका मुलुकहरूको आर्थिक आकार, आयतन, व्यापारको दायरा फराकिलो भयो । पुँजी, प्रविधि र उद्यमशीलता एक देशबाट अर्को देशमा स्थानान्तरण हुने प्रक्रियाको सुरुवात भयो । वैदेशिक प्रत्यक्ष लगानीले लोकप्रियता पायो । यसले अन्तर्राष्ट्रिय व्यापारलाइ मलजल गर्यो । जसरी पुँजी, उद्यमशीलता, वस्तु तथा सेवाले विश्व बजार पाउन सहजता पायो, त्यसरी नै श्र्रमको बजार पनि विश्वव्यापी रूपमा विस्तार हुन पुग्यो । पुँजी, प्रविधि र उद्यमशीलताको तुलनामा श्रमको बजार बढी लचिलो हुन लाग्यो । विकासशील र विकसित मुलुकहरूमा श्रमको मागको तुलनामा आपूर्ति कम हुन लाग्यो । यी मुलुकले अविकसित मुलुकहरूबाट श्रम आयात गर्न लागे । यसका दुई मुख्य कारण : अविकसित मुलुकहरूमा उच्च जनसंख्याको चाप हुनु अनि त्यसलाई खपत गर्ने अवसरहरूको सिर्जना हुन नसक्नु र विकासशील र विकसित मुलुकहरूमा पुँजी निर्माणको कार्यले तीव्र गति लिनु र जनसंख्याको चाप न्यून रहनु । नेपालमा जनसंख्या वृद्धिको चाप एकातिर उच्च छ भने अर्कातिर यसलाई खपत गर्ने विकास कार्यले तीव्रता लिन सकिरहेको छैन । त्यसैले विश्व बजारमा नेपाली श्रमको गतिशीलतामा वृद्धि भइरहेको छ । भनिन्छ, नेपालबाट ४० लाख युवायुवती बिदेसिएका छन् । रोजगारीका अवसरहरू विदेशी भूमि बनिरहेको परिप्रेक्ष्यमा नेपालको अर्थतन्त्रमा वैदेशिक मुद्रा आर्जन गर्नमा विप्रेषणले गरेको योगदान निकै छ ।
विदेशी मुद्राका स्रोतहरू
नेपालको अर्थतन्त्र परजीवी छ । छिमेकी मुलुकहरूबाट आयात मात्र गरिन्छ । निर्यात गर्ने न वस्तुहरूको उत्पादन नै हुन्छ, न सेवाको विस्तार । वस्तु आयातका निमित्त विदेशी मुद्राको आवश्यकता पर्छ । यसका निम्ति विदेशी मुद्रा आर्जन गर्नु जरुरी हुन्छ । विदेशी मुद्रा आर्जन गर्ने राज्यका विभिन्न स्रोत हुन्छन् । पर्यटन, सेवा, ब्याज, निर्यात, वैदेशिक कूटनीतिज्ञ, विदेशी ऋण र सहायता, विप्रेषण र विविध स्रोत पर्छन् । यी स्रोतहरूमध्ये पर्यटन, निर्यात, सेवा आदि कुनै पनि देशका विदेशी मुद्रा आर्जन गर्ने स्थायी स्रोतहरू हुन् । जति–जति देशको विकास हुँदै जान्छ, त्यति–त्यति यी स्रोतहरूबाट वैदेशिक मुद्राको बढी आर्जन हुने गर्छ । यसको कारण के हो भने देश विकास हुँदा उद्योग–व्यवसायको विकास हुन्छ । पर्यटन व्यवसायले गति लिई विदेशी पर्यटकहरूलाई आकर्षित गर्छ । तर, नेपालको विकास हुन नसकेको कारणले यी स्रोतहरूबाट विदेशी मुद्राको आर्जन तीव्र वेगमा हुन सकिरहेको छैन । निर्यात र पर्यटनको तुलनामा नेपाल बढी वैदेशिक मुद्रा आर्जन गर्ने स्रोत विप्रेषण बनेको छ ।
१. निर्यात : विगत पाँच वर्ष (सन् २०११–२०१५) को औसत आँकडाअनुसार नेपालमा आर्जित कुल वैदेशिक मुद्राको ९ प्रतिशत भाग निर्यातबाट भएको छ । त्यस्तै गरेर सन् २०१६ मा कुल गार्हस्थ्य उत्पादनको करिब ११ प्रतिशतको हाराहारीमा निर्यात भएको थियो, अर्थात् नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ११ प्रतिशत हिस्सा निर्यातको छ । प्रस्तुत चित्रबाट के प्रस्ट हुन्छ भने निर्यातबाट प्राप्त विदेशी मुद्राको आम्दानी पर्यटन उद्योगको भन्दा बढी देखिन्छ भने विप्रेषणको तुलनामा धेरै कम । निर्यातलाई प्रतिनिधित्व गर्ने रेखाको झुकावले के देखाइरहेको छ भने सन् २०११–२०१५ को अवधिमा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात स्थिर मात्र रहेको होइन कि ह्रासोन्मुख देखिएको छ; अर्थात् सन् २०११ मा कुल वैदेशिक आम्दानीको ९.५ प्रतिशत हिस्सा निर्यातको रहेकोमा सन् २०१५ मा यो हिस्सामा १२ प्रतिशतले ह्रास आई ८.४ प्रतिशत हुन पुगेको छ । नेपालको अर्थतन्त्रलाई भरपर्दो र दरिलो बनाउन वस्तु तथा सेवाको उत्पादन गरी निर्यात बढाउन पर्छ । नेपालमा उपलब्ध स्रोतसाधनको दोहन गरी निर्यात बढाउन सक्दा नेपालको विकासका निमित्त आवश्यक विदेशी मुद्राको आम्दानी एकातिर हुन्छ भने अर्कातिर भुक्तानी सन्तुलनलाई अनुकूल बनाउन सकिन्छ । यसका अतिरिक्त प्रशस्त रोजगारीका अवसरहरू सिर्जना हुन्छन् ।
वैदेशिक मुद्राको आम्दानी प्रतिशतमा पर्यटन नेपालमा विदेशी मुद्रा आर्जन गर्न सक्ने अर्को महत्व पूर्ण क्षेत्र पर्यटन हो । भौगोलिक, सांस्कृतिक, सामाजिक, धार्मिक र वातावरणीय विविधता, प्राचीन कलाकौशलको धनी, प्राकृतिक सौन्दर्य, शान्तिका दूत बुद्धको जन्मथलो, विश्वको अग्लो टाकुरो सगरमाथाको देश आदि–आदि विशेषताले विदेशी पर्यटकहरूलाई आकर्षण गराइरहेको छ । नेपालमा पर्यटन उद्योगको पर्याप्त सम्भावना भएको तथ्यको पुष्टि यी सबै विशेषताले गरिरहेका छन् । तर, पर्यटन उद्योगको उचित विकास हुन नसकेका कारण नेपालको अर्थतन्त्रमा जति योगदान यसले दिन सक्थ्यो त्यसको ५ प्रतिशत पनि नेपालले लिन सकिरहेको अवस्था छैन । विगत पाँच वर्षको औसतमा हेर्दा कुल वैदेशिक मुद्राको आर्जनमा ६ प्रतिशत मात्र पर्यटन उद्योगको हिस्सा रहेको छ । पर्यटन उद्योगले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ८–९ प्रतिशत योगदान पुर्याउन सकेको छ । यो उद्योगको विकासले नेपालीहरूका निमित्त रोजगारीका अवसरहरूको विकास हुन्छ भने वैदेशिक मुद्राको आर्जन हुन्छ । सन् २०१५ मा नेपालबाट भएको कुल निर्यातबाट हुने आम्दानीको करिब २३ प्रतिशत पर्यटन उद्योगको हिस्सा रहेको थियो ।
२. विप्रेषण : वार्षिक ६० प्रतिशत कुल वैदेशिक मुद्राको आम्दानी विप्रेषणबाट प्राप्त भइरहेको छ । विप्रेषणको यो हिस्सा निर्यात र पर्यटनबाट प्राप्त आम्दानीको तुलनामा क्रमशः ७ गुणा र १० गुणाले बढी छ । सन् २०१६ मा विप्रेषणको आकार नेपालको कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशतको हाराहारीमा रहेको छ । ग्रामीण इलाकामा अधिकांश घरपरिवारको चुलो बाल्ने महान् कार्य विप्रेषणले नै गरिरहेको छ । सन् २०११ मा कुल विदेशी मुद्राको आर्जनमा विप्रेषणको हिस्सा ५३.८ प्रतिशत थियो । यो हिस्सा १५ प्रतिशतले वृद्धि भई सन् २०१५ मा ६१.९ प्रतिशत पुगेको छ ।
विप्रेषणले गरिबीलाई न्यूनीकरण गर्ने स्रोत मात्र रहेको होइन कि नेपालको प्रतिकूल भुक्तानी सन्तुलनलाई केही हदमा अनुकूल बनाउन सहयोग पनि गरिरहेको छ । सन् १९६०–१९८० का दशकहरूमा विदेशी मुद्राको स्रोतहरूमध्ये विदेशी सहायता र विदेशी ऋणले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, सन् १९९० को दशकपछि यो स्थान विप्रेषणले लिएको छ । हुनत १९९० को दशकमा पनि विदेशी ऋण र सहायता नेपालमा भित्र्याउन होडबाजी नै चलिरहेको थियो । उदार अर्थ नीति कुनै पनि देश विकासका लागि अपरिहार्य सर्त हो । यसले देशमा उपलब्ध स्रोत परिचालन गरी प्रतिस्पर्धात्मक वातावरणमा वस्तु तथा सेवाको उत्पादन गरी विशिष्टीकरणतर्फ उन्मुख गराउँछ । उदाहरणस्वरूप छिमेकी मुलुकहरू चीनले वस्तु उत्पादनमा विशेषता आर्जन गर्यो भने भारतले सेवाक्षेत्र विशेष गरेर आईटीमा । चीन र भारतमा उत्पादित वस्तु तथा सेवाले विश्वबजारमा स्थान पाइरहेका छन् । तर, नेपालले उदार अर्थनीतिको सदुपयोग गर्न सकेन । आफूसँग रहेको सस्तो श्रम प्रयोग गर्नका लागि न वैदेशिक लगानी भित्र्याउन सफल भयो, न बचेखुचेका उद्योगहरूको संरक्षण र संवद्र्धन गरी औद्योगिक उत्पादन बढाउनमा मद्दत पुर्यायो । उदारीकरणले नेपालको अर्थतन्त्रमा जुन योगदान पुर्याउन सक्थ्यो, फितलो र स्वार्थी कार्यान्वयनका कारणले त्यसो हुन सकेन । बेरोजगारीमा वृद्धि भयो । मानिसका रोजीरोटीका सवालहरू अनुत्तरित रहे । रोजीरोटीका लागि बिदेसिन बाध्य भए । यसको परिणाम हो— आजको विप्रेषण र यसको योगदान ।