लघु, घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

काठमाडौं- अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन, आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै यहाँ सञ्चालित दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न भएको छ ।
देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको महत्त्वपूर्ण भूमिका हुने भएकाले साना तथा घरेलु उद्योगहरुको प्रवर्द्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा सम्बद्ध उद्यमीहरूले जोड दिएका छन् ।
काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यम प्रारम्भ गर्ने सोच बनाएकाहरूलाई समेत लक्ष्य गरी सञ्चालन गरिएको मेलामा गुणस्तरीय उत्पादन, बजारीकरण गर्ने, ‘ब्राण्डिङ’बारे उद्यमीहरूले अनुभव आदानप्रदान गरेका थिए ।
मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका जैविक उत्पादन, कस्मेटिक, हस्तकलाका सामग्री, चोयाको सामान, तयारी पोशाक, गहना, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, मखमलका जुत्ता, काष्ठकलाका सामग्री, प्लाष्टिक पुन:प्रयोग गरेर बनाइएका वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायत ७० वटा कक्षमा उत्पादन प्रदर्शन गरिएका थिए ।