Logo

फुर्केसल्लामा फल्यो जुम्ली स्याउ

दोलखा– दोलखाको मेलुङ गाउँपालिका–४ फुर्केसल्लाका रणबहादुर कार्की आफ्नो बगैंचामा पहिलो पटक स्याउ फलेपछि खुशीले गदगद भएका छन् । उनी गदगद हुनुको कारण तीन वर्षअघि रोपेका स्याउ फल्यो । त्यो पनि असाध्यै आकर्षक दाना र स्वादिलो भएर फल्यो । कार्कीले आफ्ना घरमा आउने पाहुनालाई स्याउ चाख्न दिन्छन् । हरेक पाहुनाले स्याउको स्वादको तारिफ गरेकाले पनि उनी खुशी भएका हुन् । कार्कीले तीन वर्षअघि स्याउ रोपेका हुन् ।

मेलुङ गाउँपालिकाले ४ वर्ष अघि फुर्केसल्लामा स्याऊका विरुवा वितरण गरेको थियो । तीमध्ये रणबहादुरले १५ वटा विरुवा पाए । स्याउको बजार राम्रो रहेको बुझेका उनले थप विरुवा ‘जुम्लामा आफैं पुगेर ल्याए । जुम्ला पुगेर एक हप्ता बिताएँ,’ उनले भने, ‘किसानका ठूला ठूला फर्म घुमें सामान्य तालिम पनि लिएँ र बिरुवा लिएर आएँ ।’ जोखिम मोलेरै उनले अहिले चार सय बोट स्याउ रोपेका छन् । ती सबैमा यस वर्ष दाना लागेको उनले बताए ।

गाउँका धेरै युवा रोजगारी र व्यवसायका लागि विदेश गए, कतिपय सहरतिर लागे । तर कार्की गाउँमै अहिले खेतीमै रमाएका छन् । हेर्दा रहर लाग्दो बगैंचा बनाएका उनीसँग आलु, बन्दा, काँक्रो र खशी बोका छन् । यस वर्ष स्याउका फाट्टफुट्ट दाना लागेकाले अब विरुवा छिप्पदै जाँदा राम्रै फल्ने उनको आशा छ । मेलुङ गाउँपालिकाले पनि गाउँपालिका–४ का फुर्केसल्ला, जिम्बाटोल, तितेचौर तथा वडा नम्बर ३ का मुकुने तथा बाटुलेका पहिलो वर्ष ३५ किसानलाई स्याउका बिरुवा लगाउन परीक्षणका लागि वितरण गरेको मुस्ताङबाट स्याउका सात सय विरुवा खरिद गरी वितरण गरेको थियो ।

दोस्रो वर्ष जुम्लाबाट थप विरुवा ल्याएर किसानलाई वितरण गरिएका स्याउका बिरुवा गोल्डन, रोयल र फुजी जातका छन् । दुई वटा वडामा अहिले डेढ सय घरले अहिले स्याउ रोपेका छन् । अधिकाँशले गाउँपालिकाले दिएको बिरुवामात्रै रोपेका छन् भने कतिपयले जुम्ला र मुस्ताङबाट पनि बिरुवा ल्याएर आफैंले थपेका छन् । स्याउ पाक्ने बल्ल सिजन सुरु भयो तर यहाँका स्थानीयले बेलैमा स्याउ टिपे । पहिलो पटक स्याउ फलेपछि रातारात चोरी पनि भयो ।

स्वादिलो भएपछि चराले पनि खान थालेपछि भएका स्याउ टिपेको स्थानीय शिक्षक भरत केसीले बताए । गाउँभरि हेर्दा स्याउ सफल परीक्षण भए जस्तो लागेको उनले बताए । पहिलो वर्षजस्तै अर्को वर्ष यस्तै दाना भए भने केही वर्षपछि फुर्केसल्ला स्याउमय हुने र व्यापारी गाउँमै खरिदका लागि आउने उनले विश्वास गरे । हुन त फर्केसल्लामा यो स्याउ पहिलो पटक भने रोपेको होइन । गाउँका केही व्यक्ति भारतको हिमाञ्चल प्रदेशमा रोजगारका लागि स्याउ फार्ममै काम गर्दा ३८ वर्षअघि उतैबाट केही विरुवा ल्याएर रोपेका थिए ।

ती बिरुवाले धेरै वर्षसम्म फल दियो । गाउँमै बिक्रीसमेत हुन्थ्यो । अहिले ती बोट बुढो भएर मर्न लागे । थोरै भएकाले चर्चा थिएन । पहिलाका बोटले फल दिएको जानकारीपछि परीक्षणको रूपमा गाउँपालिकाले जुम्ला र मुस्ताङबाट बिरुवा ल्याएर किसानलाई वितरण गरेको गाउँपालिका अध्यक्ष हिरा थोकरले बताए । गाउँपालिकाले तीन वर्षअघि परीक्षणका रूपमा बिरुवा दिए तापनि त्यो सफल भएको जस्तो देखिन्छ ।

‘अझै केही वर्ष यसको फल कस्तो फल्छ हेर्नुपर्छ,’ उनले भने, ‘यदि यो खेती सफल भएमा गाउँपालिकाले किसानका मागअनुसार माथिल्ला क्षेत्रमा स्याउ विस्तार गर्न लगानी गर्छ ।’ फुर्केसल्ला समुद्र सतहदेखि २२ सयको उचाइमा पर्छ । शैलुङ डाँडाकै फेदमा भएकाले यहाँ आलु प्रशस्त फल्छ । वर्षात्मा सडक असुविधाले बेच्न नसकेको आलु अब बिक्री सुरु गर्ने स्थानीय कर्णबहादुर जिम्बाले बताए । आलु बिक्रीका लागि वर्षात् सकिएलगत्तै गाउँपालिकाले सडक सरसफाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्