प्रधानमन्त्री ओलीसँग एनआरएनएको भेट «

प्रधानमन्त्री ओलीसँग एनआरएनएको भेट

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पुगेर एनआरएनएका अध्यक्ष भट्टले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा समस्त गैरआवासीय नेपालीका तर्फबाट बधाई दिएका थिए । उनले बहुमतको सरकार गठन भएपछि राजनीतिक अस्थिरताको अन्त्य हुने र मुलुकमा आर्थिक विकासले गति लिने अपेक्षा सबै गैरआवासीय नेपालीले राखेको बताए । “देश समुन्नत नभएसम्म व्यक्तिगत अर्थ रहँदैन, मुलुकको समृद्धि गैरआवासीय नेपालीको पनि स्वार्थ हो,” भेटमा अध्यक्ष भट्टले भने, “संघको सन्जाल ७८ देशमा फैलिसकेकाले देश विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।”
अध्यक्ष भट्टले संविधानले नेपालको नागरिकताका निरन्तरतालाई भावनात्मक रूपमा स्वीकार गरेको र एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई आत्मसाथ गर्न सके बिदेसिएका नेपालीलाई पनि पुस्तौं पुस्तौंसम्म जोडेर राख्न सकिने बताए ।प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डा. उपेन्द्र महतोले मुलुकको समृद्धिका लागि काम गर्न प्रधानमन्त्री र सरकारलाई शुभकामना दिनुका साथै मुलुकको समृद्धिमा गरिने काममा साथ दिन संघ सधैं तयार रहेको बताए ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो एक मात्र उद्देश्य मुलुकको हितका लागि काम गर्ने र सरकारको उद्देश्य नै नेपालीको समृद्धि हो भन्ने धारणा राखेका थिए । उनले गैरआवासीय नेपालीको नागरिकताको विषय नेपालको संविधानले नै सम्बोधन गरिसकेकाले त्यसको कार्यान्वयन मात्र बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्