Logo

दसैंको मुखैमा पर्वतका ग्रामीण सडक सुचारु

पर्वत– नेपालीको महान पर्व बडादसैंको मुखैमा वर्षायाममा अवरुद्ध बनेका पर्वतका सबैजसो ग्रामीण सडक सुचारु भएका छन् । यस वर्षको मनसुन पनि सकिनै लागेको र चाडबाड मनाउन ग्रामीण क्षेत्रमा आउने यात्रुलाई मध्यनजर गर्दै जिल्लाका मुख्य तथा सहायक सडक सुचारु गरिएको हो । पर्वतका सातवटै पालिकाले बजेट व्यवस्थापन गरेर दसैं अगावै सडक सुचारु गरेका हुन् ।

अधिकांशले डोजर र स्काभेटरको प्रयोग गरेका थिए भने केही पालिकाले उपभोक्ता समितिमार्फत् सडक सरसफाइ गरेका हुन् । अहिले पर्वत सदरमुकाम जोडिने कुनै पनि सडक अवरुद्ध नरहेको पर्वत यातायात व्यवसायी समितिले जनाएको छ । गाउँ फर्किने र खाद्यान्न ढुवानी गर्ने सबैखाले सवारीसाधन सहज रूपमा गाउँगाउँमा पुग्न थालेको पर्वत यातायात व्यवसायी समितिका सञ्चालक हेम शर्मा पौडेलले बताए ।

वर्षा रोकिएकाले कच्चि सडकमा सवारी चलाउन पनि सहज भएको छ । फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले मुख्य सडकमात्र नभई टोलटोलमा पुग्ने सडकसमेत मर्मत तथा सरसफाइ गरेर यातायात सुचारु गरिएको बताए । उनले नगरका दुईवटै डोजर प्रयोग गरेर एक सातामा सबै सडक खुलाइएको बताए ।

जिल्लाको मुख्य सडकको सूचीमा रहेका दोविल्ला–फलेवास, दोविल्ला–ठूलीपोखरी–कार्किनेटा, कालिगण्डकी करिडोर, बेनी–मालढुंगा, मध्यपहाडी लोकमार्गको पर्वत खण्ड, पातीचौर–देउपुर–लप्सीबोट तथा देउराली जोड्ने, कुश्मा–दुर्लुङ, अर्मादी–बनौ, मिलनचोक–शालिजा–भोटेडाँडा, चिसापानी–हुवास–त्रिवेणी–खहरेखोला, लमाए–लुंखु–हुवास जस्ता मुख्य सडकमात्र नभई अन्य सडकसमेत सुचारु भएको यातायात व्यवसायीले बताएका छन् ।

पालिकाहरूले चाडबाडलाई लक्षित गरेर सडक मर्मत गरिदिँदा गाउँ फर्किनेलाई सहज भएको ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए । सडकहरू सुविधायुक्त भए पनि कुश्माबजारको ट्राफिक व्यवस्थापनमा समेत समस्या आएको छ । दसैंमा पनि निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा नआउँदा सवारी पार्किङले समस्या बढाएको उनको भनाइ छ ।

प्रहरीले यात्रु तथा सवारी चालकको सुविधाका लागि पर्वत सदरमुकाम कुश्माबजार र दक्षिण पर्वतको पैंयुँ गाउँपालिकास्थित हातेमालो चोकमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ । सवारी दुर्घटना न्यूनीकरणका साथै सवारीधनीबाट यात्रु ठगिनबाट जोगाउनका लागि यात्रु सहायता कक्ष प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्