Logo

फेरि सुरु भयो हुलाकी सडक निर्माण

दाङ– पटकपटक निर्माण हुँदै रोकिँदै आएको हुलाकी सडक निर्माणको काम पुन: सुरु भएको छ । दाङको गढवा–कालाकाँटे हुलाकी सडक निर्माणको काम पुन: सुरु भएको हो । निर्माण कम्पनीमा नयाँ निर्माण व्यवसायी भित्रिएसँगै लामो समयदेखि अलपत्र परेको गढवा–कालाकाँटे हुलाकी सडक निर्माण सुरु भएको हो ।

हुलाकी सडकअन्तर्गत गढवा गाउँपालिका–४ को गोविन्दनगरदेखि रामनगरसम्म पहिलो चरणमा कालोपत्रे गर्ने काम भइरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । रोकिएको काम करिब एक वर्षपछि पुन: सुरु हुँदा जनतामा आशा पलाएको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए । ‘सडक अलपत्र पर्दा जनताले धेरै दु:ख पाएका थिए, सडक निर्माणको काम चाँडै सकिए त्यो दु:ख हट्नेछ,’ अध्यक्ष पोख्रेलले भने ।

यसअघि निर्माण व्यवसायीबाट पटकपटक धोका पाए पनि अहिले नयाँ निर्माण व्यवसायीले सडक निर्माणको कामअघि बढाएकाले तोकिएकै समयमा काम सकिनेमा विश्वस्त रहेको अध्यक्ष पोख्रेलले बताउँछन् । हुलाकी सडकअन्तर्गत गढवा बजारदेखि वनघुस्रीसम्मको करिब २० किलोमिटर सडक तीन वर्षभित्र निर्माण गर्नेगरी २०७६ कात्तिक २९ गते सम्भौता भएको थियो । ६५ करोडमा वज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता गरिएको हो ।

सम्झौताअनुसार २०७९ कात्तिक मसान्तसम्म सडक निर्माणको काम सक्नुपर्ने भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण दुई पटक म्याद थप हुँदा आधा काम पनि हुन सकेको छैन । अहिले सडक निर्माणको जिम्मा पाएको वज्रगुरु निर्माण कम्पनीमा नयाँ व्यवसायी भित्रिएसँगै सडक निर्माणको कामअघि बढेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

उनका अनुसार भित्रिएका नयाँ व्यवसायीले चालु आर्थिक वर्षभित्र सडक निर्माणको काम सक्ने प्रतिबद्धता जनाएपछि हुलाकी सडक निर्माणको काम सुरु भएको हो । वज्रगुरु निर्माण कम्पनीको करिब ५१ प्रतिशत सेयर निर्माण व्यवसायी काजी शेर्पाले लिएपछि सडक निर्माणको काम सुरु भएको छ । आयोजना प्रमुख भण्डारीका अनुसार हुलाकी सडकअन्तर्गत अधिकांश ठाउँमा प्रारम्भिक चरणको काम पहिले नै भएकाले अहिले आधार निर्माण गर्दै कालोपत्रेको तयारी भइरहेको छ ।

उनले भने, ‘धेरै जसो ठाउँमा प्रारम्भिक चरणको काम भएर गिट्टी बिच्छ्याउने काम भइसकेको छ । केही ठाउँमा मात्रै गिट्टी बिच्छ्याउने र नाला निर्माण गर्नुपर्नेछ ।’ निर्माण कम्पनीको ढिलाइका कारण तीन वर्षको अवधिमा करिब पाँच किलोमिटरमात्र सडक कालोपत्रे गरिएको थियो । बाँकी सडक खण्डमा नाला निर्माण, ग्राभेल गर्ने, कतै ग्राभेल गर्नका लागि गिट्टी थुपार्ने काम गरिए पनि कालोपत्रेको काम हुन सकेको थिएन ।

जसले गर्दा सडकमा खाल्डा खुल्डीसँगै पानी जम्ने भएकाले यातायातका साधन सञ्चालनदेखि स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या हुने गरेको छ । समयमा सडक निर्माणको काम हुन नसक्दा स्थानीय बासिन्दाले कहिले धुलो कहिले हिलोका कारण समस्या भोग्दै आएका छन् । पटकपटक सडक समयमै निर्माणका लागि स्थानीय बासिन्दाले माग गर्दै आएका छन् । तर निर्माणको कार्यले गति लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्