पर्यटन विकासका लागि स्थानीय तहसँग सहकार्य

पर्वत– गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन क्षेत्रको विकासका लागि प्रदेशका सबै स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बुधबार पर्वतको फलेवास नगरपालिकामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मन्त्री बस्यालले गण्डकी प्रदेशका सवै स्थानीय तहहरु छुट्टै पहिचानका रहेको बताउँदै उक्त कुरा बताएका हुन् ।
ती क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि मन्त्रालय जस्तोसुकै सहकार्य र सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटन, ऊर्जा र कृषि महत्त्वपूर्ण सूचक रहेको बताउँदै यी क्षेत्रको विकास बिना प्रदेशले समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ छ । मन्त्री बस्यालले अहिले मन्त्रालयमा प्रदेशको पर्यटन नीति निर्माणको काम भइरहेको भन्दै उक्त नीति बनेपछि पर्यटन क्षेत्रले फड्को मार्ने बताए ।
गण्डकी प्रदेशका विभिन्न पदमार्गहरुलाई सुविधायुक्त र सुरक्षित बनाउनुपर्ने आवश्यकता बारे उनले भने,‘धौलागिरि आरोहणमा गएका पाँचजना रसियाली नागरिकले ज्यान गुमाउनु परेकोले पर्यटकहरुलाई पूर्ण सुरक्षाको ग्यारेण्टी सरकारले गर्नु पर्छ ।’ मन्त्री बस्यालले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति, संस्कृति नीति र हवाई नीति परिमार्जन गर्नका लागि संघीय मन्त्रालयले समेत काम गरेको बताए । त्यसपछि पर्यटकको आकर्षण अझ बढ्ने उनको भनाइ थियो ।
मन्त्री बस्यालले आफूले लामो संघर्ष र जनताको बलिदानबाट प्राप्त गरेको यो पदको अवधि लामो वा छोटो जस्तोसुकै भए पनि स्मरण गर्न योग्य र नमुना काम गरेर देखाउने बताए । कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले फलेवासको समग्र विकासका लागि मन्त्रालयबाट हुने सहयोग पर्याप्त गर्न आग्रह गर्दै चालु वर्षमा पर्वतको क्षेत्र (ख) ले प्राप्त गर्ने बहुवर्षे योजना आफ्नै सिफारिसमा सुरु गरिदिन आग्रह गरे ।
नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष गोविन्द पहाडीले आर्थिक मन्दीका बेला मुलुकका तीनै तहका सरकारहरु उत्पादनमुखी नभएर वितरणमुखी कार्यतर्फ लागिरहेको परिवेशले मुलुकलाई असफलतातर्फ लैजाने संकेत गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।