बाढी पीडितलाई समता घरेलु लघुवित्तको सहयोग
काठमाडाैं– समता घरेलु लघुवित्त वित्तीय संस्थाले पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका ४५ बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ ।
त्यसैगरी सिन्धुपलान्चोकको भीमटारका सात बाढीपीडित परिवारलाई पनि संस्थाले राहत वितरण गरेको छ । पनौती नगरपालिका–१० र बेथानचोक गाउँपालिका–४ का पीडितमध्ये पनौतीको खोपासीमा आफन्तको घरमा आश्रय लिइरहेका ४५ परिवारलाई वित्तीय संस्थाको तर्फबाट राहत वितरण गरिएको हो ।
पाँच लिटरको प्रेसर कुकर, कराही, डाडु, पन्यु, ६/६ थान स्टील थाल र गिलास तथा एक थान ब्ल्याँकेट वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकारी दिनुभयो ।
संस्थाका सदस्यमध्ये बाढी पहिरोका कारण घर भत्किएका र क्षति पुगेका सिन्धुपलान्चोकको इन्द्रावती नगरपालिका–१२ भीमटार र मण्डन देउपुर–१० का सात परिवारलाई प्रति परिवार पाँच हजार रुपैयाँका दरले नगद प्रदान गरिएको छ ।