कोरियामा १ महिनामा २५ सयभन्दा बढी नेपालीको माग «

कोरियामा १ महिनामा २५ सयभन्दा बढी नेपालीको माग

रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले एक महिनाको अवधीमा २ हजार ५ सयभन्दा बढी नेपाली युवासँग रोजगार सम्झौता गरेको छ ।
रोजगार सम्झौता गरेमध्ये १ हजार ५६७ उत्पादनमूलक र बाँकी ९२७ कृषि तथा पशुपालन क्षेत्रका लागि छन् । पहिलो चरणको छनोटअन्तर्गत आइतबारसम्म सो संख्याका नेपाली युवासँग श्रम सम्झौता गरेको हो । यो वर्ष कोरियाले ११ हजारभन्दा बढी युवालाई कोरिया जान योग्य सूचीमा छनोट गरेको मध्ये हालसम्म २ हजार ५ सयको श्रम सम्झौता भएको हो । हालसम्म माग गरिएका २ हजार ५ सयमध्ये २ हजार ३ सय ३१ पुरुष र १ सय ६३ महिला छन् । अधिकांक्ष महिलालाई कृषि तथा पशुपालन क्षेत्रका लागि माग गरिएको छ । पहिलो चरणमा ४ हजार नेपाली युवासँग श्रम सम्झौता गर्ने ईपीएस शाखा नेपालको अनुमान छ । यो पहिलो चरणको माग हो । यस्तो माग कोरियाले वर्षमा चार पटक गर्ने गर्छ ।
गत वर्ष रोजगार आवदेन माग गरेर पास भएका ११ हजार ८ सय ६८ युवा अहिले रोजगारीका लागि कोरिया जाने योग्य सूची (रोष्टर) मा छन् । तीमध्ये १ महिनाको अवधीमा २ हजार ५ सयभन्दा बढीको माग भएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले छोटो समयमा यति धेरै नेपालीसँग कोरियाले श्रम सम्झौता गरेको यो नै पहिलो पटक भएको बताए । सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा रोजगारीको विकल्प खोज्न जनाउँदै आए पनि तत्कालमा लागि रोजगारीका विकल्प नभएपछि बेरोजगार युवा कोरियाको रोजगारीप्रति आकर्षित भएका हुन् ।
कोरिया सरकारले सन् २०१८ मा नयाँ कामदारका लागि ४५ हजार र कोरिया गएर फर्केका कामदारका लागि ११ हजार कोटा निर्धारण गरेको एचआरडी कोरियाले जनाएको छ । उत्पादनमूलन क्षेत्रमा जाने नयाँ कामदारको माग त्रैमासिक रुपमा जनवरी, अप्रिल, जुलाई र अक्टुवरमा गर्ने जनाएको छ । यसरी माग गर्ने कोटाबाट कति नेपालीलाई माग गर्ने भनेर छुट्याइएको छैन । तर, कोरियाले १ हजारभन्दा बढीको रोष्टर भने तयार गरिसकेको छ । रोष्टरमा नाम भए नेपाली कोरिया जान योग्यमात्र हुने तर माग गर्नै पर्ने ग्यारेन्टी भने हुँदैन । कृषि तथा पशुपालन क्षेत्रका लागि भने जनवरी, मे र अक्टुवरमा माग गरिने छ । कोरियाको कृषि क्षेत्रको तुलनामा उत्पादनमूलक क्षेत्रमा महिला कामदारको माग न्यून हुने गरेका कारण उत्पादनमूलक क्षेत्रमा आवेदन दिएका महिला कामदारको सम्पूर्ण मागको ५ प्रतिशत मात्र हुने गरेको छ । यसअघि कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगार आवेदन दिएका अधिकाक्ष महिला २ वर्ष प्रतीक्षा गर्दासमेत कोरिया जान पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्