फितलो बजार अनुगमनले ठगिँदै उपभोक्ता

जुम्ला– दशैं तिहार नजिकिएसँगै जुम्लामा उपभोक्ता ठगिने क्रम बढेको छ । फितलो बजार अनुगमनले उपभोक्ता ठगिँदै आएका हुन् । चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको रूपमा रहेको चामल, तेललगायतका वस्तुको मूल्य बढपछि सर्वसाधारण मर्कामा परेका हुन् । दशैँ नजिकिँदै गर्दा हालसम्म चाड पर्व लक्षित एक पटक मात्रै बजार अनुगमन भएको छ ।
फेरि बजार अनुगमन गर्ने कुनै सुरसार देखिएको छैन । चाडपर्व लक्षित बजार अनुगमन तीव्र रूपमा नहुँदा एकाएक बढेको महँगीले कमाई नहुने सर्वसाधारणलाई दशैंको जोहो गर्न मुस्किल भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि प्रति प्रशासनले कुनै चासो नदिएको चन्दननाथ नगरपालिका ४ का स्थानीय देवीप्रसाद सिम्खडाले गुनासो पोखे ।
उनले भने,‘दशैं तिहार नजिकिएसँगै जुम्लामा महँगी बढेको छ । विहान बेलुका छाक टार्न मुस्किल हुने, कमाई नै नभएका घर परिवारलाई महँगीले दशैंको जोहो गर्न मुस्किल भएको छ । छुट मूल्यको चामल लिन जाँदा पनि बाक्लो भीडले पाउने अवस्था छैन । सदरमुकामसँगै ग्रामीण बजारमा चाडपर्व लक्षित बजार अनुगमन नियमित हुनुपर्छ ।’ सबैभन्दा अस्वभाविक रूपमा आर्सीवाद चामलको मूल्य बढेको छ । २२/२३ सय पर्ने उक्त चामल हाल २७ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
तेलको मूल्य पनि त्यस्तै बढेको छ । योसँगै सरकारी अनुदानको चामलको पनि मूल्य वृद्धि भइसकेको छ । केही महिनाअघि २२ सय रुपैयाँ प्रतिबोरा पाइने जिरा स्टिम चामलको मूल्य हाल छुट दिएर २३ सय ७५ रुपैयाँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गरिरहेको छ । तर, बजारमा सरकारी अनुदानका चामलको मूल्य किन बढ्यो ? बजारमा अखाद्य वस्तुको बिक्री रोक्नलगायतका विषयमा जिल्ला प्रशासन कार्यालय मौन देखिएको छ । जसका कारण उपभोक्ता ठगिने क्रम बढेको छ ।
औपचारिकतामा सीमित बजार अनुगमनले उपभोक्ता ठगिने क्रम नरोकिएको हो । पटक पटक अनुगमन गर्नुपर्ने र मूल्य सूची नटास्ने, अखाद्य वस्तु बिक्री गर्ने जोसुकै व्यापारीलाई कानुन बमोजिम जरिवाना गर्नुपर्ने स्थानीयको माग छ । यद्यपि, उपभोक्ता ठग्ने, अखाद्य वस्तु बिक्री गर्ने कार्य निर्वाध भइरहे पनि हालसम्म कुनै पनि व्यापारीलाई कारबाही भएको छैन ।
चाडपर्व लक्षित बजार अनुगमन तीव्र रूपमा हुने र उपभोक्ता ठग्ने जोसुकैलाई कानुन अनुसार कारबाही गर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही बताउँछन् । स्वच्छ बजार र स्वस्थ नागरिक बनाउनु राज्यको दायित्व हो । उनले भने,‘आफूखुसी मूल्य बढाउने, मूल्य सूची नराख्ने, अखाद्य वस्तु बिक्री गर्ने व्यापारीसँग अब कुनै सहमति हुदैन् । कानुन अनुसार कारबाही हुने शाहीले बताए ।
बजारमा मूल्य बढेको, ग्रामीण बजारमा अनुगमन नभएको भन्ने गुनासो बढेकोले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सम्बन्धित पालिकासँग समन्वय गरी ठोस कार्य योजना बनाएर चाड पर्व लक्षित ग्रामीण बजार अनुगमन तथा कारबाही प्रक्रियालाई युद्धस्तरमै अघि बढाउने प्रजिअ शाहीले बताए ।