होटल अकुपेन्सि ४० प्रतिशत, आवासमा ३० प्रतिशत छुट
पोखरा– पोखरामा होटल अकुपेन्सि करिब ४० प्रतिशत मात्रै रहेका छन् । यसलाई बढाउन दशैं तथा तिहारको अवसरमा पोखरा आउने पर्यटकहरूलाई होटल आवासमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । होटल संघ पोखरा नेपालले आफ्ना सदस्यअन्तर्गतका होटल प्रतिष्ठानहरूमा दशैं र तिहारसम्म प्रकाशित दररेट (आवासमा) आगन्तुक पाहुनालाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।
देशमा भएको आर्थिक मन्दीसहित पछिल्लो क्रममा भएको बाढीपहिरोले पोखरा क्षेत्रमा खस्केको पर्यटन क्षेत्रलाई थप प्रवर्द्धन गर्न पोखरा क्षेत्रका होटलमा उक्त छुट घोषणा गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । यस प्रकारको छुटबाट लाभ लिन आन्तरिक पर्यटकलाई उनले आग्रह गरे । संघले पहिलो पटक छुटको घोषणा गरेको हो । यसअघि रेवान पोखराको सडक महोत्सवमा २० प्रतिशत छुटको घोषणा गरिएको थियो ।
हालको होटल अकुपेन्सिलाई अबको केही दिनपछि दोब्बर पुर्याउने लक्ष्य आफूहरूको रहेको उनले बताए । केही होटलहरूले यसअघि नै आफूखुसी छुटसहित विभिन्न प्याकेज सार्वजनिक गरेको संघले जनाएको छ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नति कार्य पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुला अवस्थामा रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गहरूको अवस्था सामान्य रहेकोले दशैं तथा तिहार पर्वको अवसरमा अधिकांश पर्यटकहरूलाई आकर्षण गर्न उक्त छुटको व्यवस्था गरिएको उनको भनाइ छ ।
उक्त होटल आवासमा छुट हुने विषयलाई कार्यान्वयन गर्न अनुगमन समिति समेत गठन भएको महासचिव राजेन्द्र ढकालले बताए । संघमा आवद्ध होटलहरूले ग्राहकलाई स्वत स्फुर्त रूपमा छुटको प्रबन्ध गर्ने संघले बताएको छ । भ्रमण र पदयात्राका लागि पोखरा र सिंगो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यतालाई विगत केही वर्षदेखि संघले विविध कार्यक्रममार्फत निरन्तरता दिँदै आएको द्धितिय उपाध्यक्ष गणेशराज पहारीले बताए ।
होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरिशर्मा गैरेले पोखरा आउने हवाई उडानको शुल्क महँगो भएको गुनासो गरे । हवाई भाडा शुल्कको मूल्य समायोजन गर्न एयरलाइन्स कम्पनी तथा सरकारलाई उनले आग्रह गरे । विगत समयमा पर्यटन क्षेत्रले लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड १९ को महामारी, हवाई दुर्घटनाको मार र वित्तीय अराजकता जस्ता समस्याबाट गुज्रनु परेको व्यवसायीहरूले गुनासो छ ।
केही दिन अघिको बाढीपहिरो र विपत्तिले घुम्ने क्रम र वातावरण केही नकारात्मक भए पनि अहिले अवस्था सामान्य भएको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । हालको सेप्टेम्बर, अक्टुबर र नोभेम्वर महिना पर्यटकको पिक सिजन मानिने भए पनि हाल पर्यटक आगमन निकै कम भएको व्यवसायीहरूले बताए ।