कर्णालीमा दसैं तिहारको यात्रा सहज बनाइने
जुम्ला– दसैं तिहार नजिकिएपछि जिल्लामा आउने र बाहिरिएको संख्या उल्लेखनीय रूपमा बढेको छ । हवाईमार्ग सबैको पहुँचमा नहुँदा सडक यातायातको प्रयोग गर्नेको संख्या उल्लेखनीय रूपमा छ । बढ्दो सवारी चाप, यसबेला हुनसक्ने अवरुद्ध र नागरिकले भोग्नुपर्ने असहजतालाई मध्यनजर गर्दै सडक डिभिजन जुम्लाले पूर्वतयारीलाई मजवुद बनाएको हो । सुर्खेत जुम्ला कुल २३२ किलोमिटर दूरी रहेको कर्णाली राजमार्गको दैखोला–जुम्ला खण्डको १०४ किमि क्षेत्र सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्छ ।
जुन दण्डको हुल्म बजार, गगनेखोला, एसमोड लगायतका स्थानमा थुप्रै पटक पहिरोले अवरुद्ध भएपछि नागरिक त्रसित हुँदै यात्रा गरिरहेका छन् । गत भदौमा भएको वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग पूरै कच्ची सडकजस्तो बनेको छ । पिच नाम निसाना छैन । एकातिर कष्टकर यात्रा अर्कोतिर पहिरो आएर सडक अवरुद्ध हुने चिन्ताले पिरोल्दै नागरिक यात्रा गर्न बाध्य भए पनि दसैं तिहार अवधिभर हुनसक्ने अवरुद्धलाई मध्यनजर गर्दै पूर्वतयारीलाई मजवुद बनाइएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जीटिले बताए ।
उनले भने, ‘हाम्रो कार्यक्षेत्रमा पर्ने कर्णाली राजमार्गको दैखोलादेखि जुम्ला र नाग्म–गमगडी सडकको जोखिमयुक्त स्थानमा डोजर तैथान राखेका छाैं । जसमा हुल्ममा दुईवटा, गगने खोलामा एउटा, एसमोडदेखि जुम्ला खण्डमा हेर्ने गरी एउटा र नाग्म–गमगडी सडकका लागि एउटा डोजर तैथान राखेका छाैं । थोरै समस्या आए पनि नागरिकले दुःख नपाउनु भन्ने हाम्रो लक्ष्य छ ।’ पछिल्लो वर्षाले कर्णालीमा कुनै असर नगरेकोर पूर्वतयारी स्वरुप स्काभेटर जोखिमयुक्त स्थानमा राखिएकोले यात्रामा कुनै समस्या नरहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए ।
उनका अनुसार कालिकोटको नाग्मबाट जुम्लाको पश्चिम भाग सिंजा उपत्यका हुँदै मुगुको सदरमुकाम गमगढीसम्मको ९३ किलोमिटर सडक पनि निर्वाध चलिरहेको छ । यसअघि अवरुद्ध कर्णाली राजमार्गको दही खोला, गगने खोला, एसमोड, खुलालु क्षेत्रको पहिरो हटाएर आवागमन सहज बनाइएको छ । कर्णाली करिडोर, भेरी करिडोर र राप्ती करिडोरका यात्रुलाई होल्ड नगर्ने गरी सडक मर्मतको काम भइरहेको बुझिएको छ । कर्णाली राजमार्गकै सुर्खेत बाङसिमलदेखि दैलेखको दैखोलासम्म १३२ किमि क्षेत्र हेर्ने सडक डिभिजन सुर्खेतले पनि दसं तिहार लक्षित यात्रा सहज बनाउन पूर्वतयारी मजवुद पारेको बताएको छ ।
सुर्खेतदेखि नागरिकलाई सहज आवतजातका लागि दही खोलासम्म कुनै समस्या नरहेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिए । दैनिक एक सय बढी सवारी कर्णाली राजमार्ग भएर काठमाडाैं ,नेपालगन्ज, सुर्खेतदेखि जुम्ला कालिकोट मुगु आउने र फर्किने गरिरहेका छन् । कर्णालीको लाइफलाइन मानिएको कर्णाली राजमार्ग राज्यकै उपेक्षाका कारण जीर्ण बन्दै गएको र स्तरोन्नति नहुँदा जोखिम बढ्दै गएकोले नागरिक भगवान भरोसामा यात्रा गर्न बाध्य छन् ।
तथापि सडक डिभिजन जुम्ला र सुर्खेतले आफ्नो उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी दसैं तिहारको यात्रा सहज र भरपर्दाे बनाउने तयारी थालेको छ । त्यस्तै कर्णालीसँग जोडिएका र कर्णालीमै रहेका कर्णाली करिडोर, भेरी करिडोर, राप्ती लोकमार्ग, मध्यपहाडी र मदन भण्डारी राजमार्ग, चिसापानी–बाबियाचौर, जुम्ला उर्थु न्याउरीघाट बुलबुले सडक निर्वाध सञ्चालन भइरहेका छन् ।