Logo

कपाल काटेर सिभिल इञ्जिनियरिङ पढाइ

दाङ– जिल्लाका एकै घरका २ भाइले सैलुन व्यवसाय गरेर आफ्नो पढाइ खर्च जुटाउँदै आएका छन् । लमही नगरपालिका–४ अर्नवाका २० वर्षिय अस्कर बस्नेत र १८ वर्षिय अरुण बस्नेतले लमही बजारमा कपाल काट्ने पेशाबाट आफ्नो खर्च उठाउने गरेका छन् । उनीहरुले करिब डेढ वर्षदेखि कपाल काट्ने गरेको बताएका छन् ।

बिहान कलेज जाने र दिउँसो कपाल काट्ने गरेको अरुणले बताए । खाली बस्नु भन्दा केही गर्नु पर्दछ भनेर व्यवसाय सुरु गरेको उनी बताउँछन् । ‘खाली बसेर डुल्नु भन्दा केही गर्नु पर्दछ भनेर दुइ भाइ मिलेर व्यवासाय सुरु गरेका हौं’ उनले भने । अहिले व्यवसायबाट आम्दानीसमेत राम्रै भएको उनले बताए । आम्दानी राम्रै भएपछि उनीहरुलाई पढाइसँगै घर खर्च जुटाउनसमेत सहज भएको अरुण बताउँछन् ।

‘बिहान कलेज जान्छौं दिउँसो र कलेज बिदाको समयमा कपाल काट्ने गरेका छौ’ उनले भने । अहिले उनीहरुले मासिक दस हजार रुपैयाँ तिरेर सटर भाडामा लिएर व्यवसाय सञ्चालन गरेका छन् । अस्कर लमहीस्थित आदर्श माविमा डिप्लोमा इन सिभिल इन्जिनियर तेस्रो वर्षमा अध्ययनरत छन् भने अरुण सोही विद्यालयमा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत छन् । कपाल काटेर भएको आम्दानीले उनीहरुले अध्ययनका लागि आवश्यक खर्च जुटाउने गरेका छन् ।

पढाई बिहानी समयमा हुने भएकाले दिनभर उनीहरु काममा व्यस्त रहने गरेका छन् । ‘अहिले पठाइ खर्च मात्र नभइ घर खर्चसमेत चलेको छ’ उनले भने । अहिले दैनिक ३ हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए । सीप सिकेर त्यसको सदुपयोग गरेको उनको भनाइ छ । उनीहरुलेसीप सिक्ने आउनेलाई समेत सिकाउने गरेको अरुण बताउँछन् । ‘सीप सिक्छौं भनेर आउनेलाई सिकाउँछौं’ उनले भने, ‘सीप भनेको सानो ठुलो हुँदैन ।’

अहिले सञ्चालन गरेको व्यवसाय विस्तार गर्दै लैजाने उनको भनाइ छ । उनीहरुले अन्यलाई समेत रोजगारी दिने गरेका छन् । ‘मेरो विदेश जाने सोच छैन यसैलाई विस्तार गर्ने योजना छ’ उनले भने, ‘विदेशमा समेत भनेको जस्तो काम पाइँदैन । नेपालमा जस्तो सहज पनि छैन’ । उनका बुबा गोपाल बस्नेत भने बस चालक हुन् । ‘बुवाको कमाइले घर खर्च पनि धान्न मुस्किल भएले हामीले यो पेशा सुरु गरेका हौं’ अस्करले भने, ‘बिस्तारै राम्रो हुँदै गएको छ ।’

सिभिल इञ्जिनियरिङ पढेपनि खाली समयमा कपाल काट्ने गरेको बताउँछन् । उनीहरुको मासिक ४५ देखि ५० हजारसम्म कमाइ हुने गरेको छ । समाजमा अझै पनि सैलुन व्यवसाय अधिकाश भारतीय मूलका नागरिकले सञ्चालन गर्ने गरेका छन् । ठूला सहर बजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरूकै वर्चस्व छ । तर पछिल्लो समय नागरिकहरुले बुझाइमा समेत परिवर्तन आउन थालेपछि नेपालीले समेत कपाल काट्ने व्यवसाय गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्