पोखराबाट ४५ करोडका सुकिला नोट वितरण
पोखरा– नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट हालसम्म ४५ करोड रुपैयाँ बराबरको सुकिला नोट वितरण गरिएको छ । दैनिक ७५ लाखदेखि १ करोडसम्म सुकिला नोट कार्यालयबाट सर्वसाधारणको लागि सटही हुँदा अहिलेसम्म उक्त नोट वितरण भएको हो ।
हाल दैनिक जसो ५ सय जनाले सुकिला नोट सटही गर्ने गरेको केन्द्रीय बैंकले जनाएको छ । सुकिला नोट सटही गर्ने हिजोआज दैनिक जसो ५ सयभन्दा बढी ग्रहाकहरूको सहभागिता हुने गरेको राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक विना ढकाल (पौडेल) ले बताइन् । बैंकहरूले यस वर्ष हालसम्म ३९ करोड ७१ लाख सुकिला नोट सटही गरेको कार्यालयले जनाएको छ ।
सहकारी संघ संस्थाहरूले ८० लाख सुकिला नोट सटही गरेका छन् भने अन्य सरकारी निकायदेखि अन्य विभिन्न संघ संस्थाहरूले ४० लाखभन्दा बढी सटही गरेको ढकालले जनाइन् । यस वर्ष नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्न नसक्ने भए पनि एक पटक बजारमा चलन चल्तीमा गएका सुकिला नोट वितरण गर्ने केन्द्रको निर्देशन अनुसार हाल पोखरामा उक्त सुकिला नोट सटही गर्ने कार्य जारी रहेको निर्देशक ढकालले जनाइन् ।
यही असोज २२ सम्म आफूहरूले सुकिला नोट सटही गर्ने भएको उनले बताइन् । बैंक तथा वित्तीय संघ संस्थाहरूको लागि असोज ११ गतेसम्म मात्र वितरण गर्ने भने पनि केही बैंक तथा वित्तीय संघ संस्थाले अझै सुकिला नोट माग गरेको उनले बताइन् । हाल आफूहरूले क्यू आर कोर्डसहितको काउण्टर राखेर सुकिला नोट सटही गर्न आउने ग्राहकहरूको लागि न्यूनतम ७ देखि १० मिनेटमा सटही हुने व्यवस्था मिलाएको ढकालले जनाइन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा यस वर्षको वडा दशैं पर्व लक्षित हुने गरी करिब १ अर्ब सुकिला नोट सटही हुने अनुमान गरिएको छ । आम सर्वसाधारणको लागि अघिल्ला वर्ष झै यस वर्ष पनि सानो नोट ५ रुपैयाँदेखि एक सय रुपैयाँसम्मका १८ हजार ५ सयका प्याकेट दिने व्यवस्था गरिएको निर्देशक पौडेलले बताइन् । पोखरा क्षेत्रमा सेवाग्राहीको माग बमोजिम सुकिला नोटको प्रबन्ध गर्ने उनले जनाइन् ।
नयाँ नोटमा छपाई खर्च बढी हुने भएको र पछिल्लो समयमा डिजिटल कारोबार हुन थालेको कारण सुकिला नोट स्टक धेरै भएकोले गर्दा राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नछापेका कारण सुकिला नोट सटही गरेको होे । नेपाली परम्परादेखि दशैंमा बालकालिकाहरूको खुसीको लागि भन्दै नयाँ नोट सटही गर्ने प्रचलन रहेको छ ।