Logo

मुस्ताङबाट ८ हजार भेडा–च्यांग्रा निकासी

पोखरा– हिमाल पारीको जिल्ला मुस्ताङबाट हालसम्म ८ हजार भेडा–च्यांग्रा निकासी भएका छन् । दशैंको अवसरमा बिक्रीको लागि मुस्ताङबाट आइतबारसम्म करिब ८ हजार भेडा–च्यांग्रा निकासी भएका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले असोज ८ देखि मुस्ताङबाट भेडा–च्यांग्राको स्वास्थ्य परीक्षणको कार्य सुरु भए पनि अझै केही दिनसम्म उक्त कार्य जारी रहने उनले बताए ।

भेडा–च्यांग्राको स्वास्थ्यको हालको अवस्था राम्रै भएको डा.अर्यालले जानकारी दिए । पानी परेका कारण पोेखरा लगायतका स्थानमा पुग्दा केही भेडा–च्यांग्राको नाकबाट सिंगान आउन सक्ने अर्यालले बताए । मुस्ताङको जोमसोमबाट म्याग्दी हुँदै पोखरा, काठमाडौं, चितवनलगायतका क्षेत्रमा दशैं पर्व लक्षित हुने गरी यस वर्ष करिब ८ हजार बढी भेडा च्यांग्रा बिक्रीको लागि मुस्ताङबाट बाहिरिएका हुन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष भेडा–च्यांग्राको मूल्यमा करिब २० प्रतिशत सहुलियतमा उपलब्ध भएको छ । गत बर्ष अघिल्लो पटकमा ५० हजार मूल्य भनिने भेडा च्यांग्राको मूल्य यस वर्ष ३० देखि ४० हजार रुपैयामा बिक्री भएको छ । मुस्ताङ लोमानथाङमा ठूला प्रजातिको प्रति च्यांग्रा ३४ हजारमा बिक्री गरेको पासाङ गुरुङले बताए ।

यस वर्ष धेरै मात्रामा भेडा च्यांग्रा उत्पादन भएकोले गर्दा गत वर्षभन्दा यस वर्ष केही कम मूल्यमा आफूहरूले व्यवसायीहरुलाई बिक्री गरेको उनले बताए । यसैबीच, मुस्ताङमा हुर्काइएका भेडा च्यांग्रा पोखराको याम्दीदेखि हेमजा क्षेत्रमा बिक्री सुरु भएको छ । केही किसानले प्रत्यक्ष रूपमा बिक्री गर्न ल्याएका छन भने केही व्यपारीले बिक्री गर्न ल्याएका हुन् । हिमालपारीको जिल्ला मुस्ताङ क्षेत्रमा विभिन्न जडीवुटी खाएर हुर्किएका भेडा च्यांग्रा खादा स्वास्थ्यका दृष्टिले पनि राम्रो हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्