Logo

दशकदेखि रुकुम र जाजरकोट जोड्ने पुल अलपत्र

रुकुम पश्चिम– रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट जोड्ने मोटरेबल पुल निर्माण थालेको एक दशक पुग्न लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । जसका कारण राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी सडकले रुकुम र जाजरकोटलाई सिधा जोड्न सकेको छैन । रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मोटरेबल पुल निर्माणको काम २०७२ सालमा थालिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन ।

केही वर्षअघि पुल निर्माणको करिब १५ प्रतिशत काम भए पनि पछिल्लो ६ वर्षयता काममा कुनै प्रगति भएको छैन । मध्यपहाडी लोकमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएको भए पनि लोकमार्ग अन्तर्गतकै पुल निर्माणको काम भने वर्षौंदेखि अलपत्र परेको स्थानीय भीमबहादुर राणा बताउँछन् । उनका अनुसार पुल निर्माण नहुँदा रुकुम जाजरकोटको सिधा सडक सम्पर्कसमेत छैन ।

निर्माण कम्पनीकै ढिलासुस्ती र लापरबाहीका कारण पुल निर्माण अलपत्र हुँदा मध्यपहाडी लोकमार्गमार्फत् यात्रा गर्ने यात्रुलाई निकै अफ्ठेरो भएको छ । रुकुमबाट पूर्वतिरको सडक खण्ड सञ्चालनमा आएर पोखरा काठमाडौंसम्म सिधा यातायात सञ्चालन हुने भए पनि पश्चिमतिरको खण्ड भने त्यही पुलका कारण अहिलेसम्म सञ्चालनमा आउन नसकेको स्थानीय गोपाल रेग्मी बताउँछन् ।

‘एक दशक हुँदा पनि पुल बन्न सकेन, जसका कारण विकासको लज्जासमेत बन्न पुग्यो यो पुल,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाकै हालत यस्तो छ भने अरु क्षेत्रको विकासको अवस्था कस्तो होला ।’ सुरुमा उक्त पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्सनले लिएको थियो । तर दशकसम्म पुल निर्माणको काम सम्पन्न नगरेर सर्वत्र आलोचना भए पनि निर्माणको जिम्मा लिएको कम्पनीलाई पुस्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले कारबाही गरेर ठेक्का रद्द गर्‍यो ।

त्यसपछि कार्यालयले पटकपटक निर्माणको टेन्डर आह्वान गरे पनि हालसम्म कसैले पनि ठेक्का हालेका छैनन् । दसैंतिहार लगतै कार्यालयले फेरि अर्को पटक ठेक्का आह्वानको सूचना प्रकाशित गर्ने तयारी गरेको रुकुम खण्डसमेत हेर्ने पुस्पलाल मध्यपहाडी लोकमार्ग आयोजना दैलेखका प्रमुख अमित मण्डल बताउँछन् ।

पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोटबासी मध्यपहाडी लोकमार्गको सडक सञ्जालमा जोडिनबाट वञ्चित छन् । दुवै जिल्लाका स्थानीय हाल पैदलमार्फत् आवतजावतका गर्दै आएका छन् भने गाडीमार्फत् यात्रा गर्न लामो दूरी घुम्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्