Logo

जैविक मल उत्पादनका लागि बागफाँटामा गौशाला निर्माण गरिँदै

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका बागफाँटा त्रिवेणीधाममा गौशाला निर्माण कार्य भइरहेको छ । भीमदत्त नगरपालिका–१९ को बागफाँटामा भीमदत्त नगरपालिका र सिद्धबैजनाथ त्रिवेणीधामले छाडा पशुचौपाया व्यवस्थापन गर्दै प्राङ्गारिक मल उत्पादनका लागि गौशाला निर्माण गर्न लागेको हो । सिद्धबैजनाथ त्रिवेणीधामका अध्यक्ष मिलन सिंहले छाडा पशुचौपाया व्यवस्थापन र पशु चौपायाको मलमूत्रमार्फत् गड्यौला पालेर जैविक मल उत्पादन गर्ने बताएका छन् ।

‘हामी छाडिएका पशुचौपाया व्यवस्थापन गर्छौं, अर्कातिर मलमूत्रबाट गड्यौला पालेर जैविक मल उत्पादन गरेर किसानलाई वितरण गर्ने योजना छ,’ उनले भने, ‘यो हाम्रो बहुउपोगी योजना छ, सरकारले साथ दिनुपर्छ ।’ अध्यक्ष सिंहले पहिलो चरणमा झण्डै दुई सय क्षमता गाईगोरु पालिने बताए । यसअघि पनि उक्त क्षेत्रमा त्रिवेणीधामको वृद्धि विकासका लागि गौशाला निर्माण गरिएको थियो । सिंहका अनुसार त्रिवेणीधामको वृद्धि विकासका लागि गौशाला निर्माणकार्य गरिएको छ ।

उनले भने, ‘यसपछि यज्ञशाला, गुरुकुल शिक्षादेखि त्रिवेणीलाई धार्मिक तिर्थाटन बनाउँछौँ ।’ अध्यक्ष सिंंहले उत्तरी चुरे बेदकोट, लिङ्गासहित झिलमिला ताल क्षेत्रबाट बगेर आउने नदीको संगमस्थल त्रिवेणी धार्मिक, ऐतिहासिक रूपमा महत्त्व भएकाले यसको विकासका लागि नागरिक जागेका बेला सरकारले समेत ध्यान दिनुपर्ने बताए । उनले चौधर नदीको तटीय क्षेत्रमा रहेको सिद्धबैजनाथ त्रिवेणीधाम कटानीको उच्च जोखिममा भएकाले तटबन्ध निर्माणका लागि सरकारले चासो दिनुपर्ने बताए ।

त्यसैगरी स्थानीय अशोकदत्त भट्टले २०१२ सालदेखि सिद्धबैजनाथ त्रिवेणीधाम चलनचल्तीमा आएको बताए । उनले ऐतिहासिक धामको विकासका लागि राज्यका निकाय जिम्मेवार बन्नुपर्ने बताए । भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशीले उक्त गौशाला गड्यौला मल उत्पादन गर्ने स्थलको शिलान्यास गर्दै नगरपालिकाबाट आवश्यक पर्ने सबै सहयोग गर्ने बताएकी छन् ।

सिद्धबैजनाथ त्रिवेणीधामको वृद्धि विकास र गौशाला सञ्चालनमा नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरेर छाडा पशुचौपाया व्यवस्थापन गर्ने नगर उपप्रमुख जोशीले बताइन् । सरकारले गर्न नसक्ने काम धाम समितिले गरेको बताउँदै उनले छाडा पशुचौपाया व्यवस्थापनका साथै उनीहरूबाट सक्दो लाभ लिनुपर्ने बताइन् ।

त्यसैगरी उपप्रमुख जोशीले नगरपालिकाबाट एक वडा एक गौशाला बनाउने योजना कार्यान्वयनका लागि बागफाँटा त्रिवेणी धाममा निर्माण भएको गौशालाको विकासका लागि बजेटलगायतका योजना कार्यान्वयन गर्ने आश्वासन दिएकी छन् । उनले गृहमन्त्री रमेश लेखकले समेत उक्त क्षेत्रमा निर्माण हुने गौशालादेखि पर्यटनमार्ग विस्तारका लागि प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन गरिदिएकाले उक्त बजेट यसै वर्षदेखि नै कार्यान्वयन गर्ने बताइन् । धार्मिक, ऐतिहासिक, प्राकृतिक तिर्थाटन क्षेत्रमा निर्माण हुने गौशालाले किसान लाभान्वित हुने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्