चिनियाँ संचारकर्मीको नेपाली भाषा मोह «

चिनियाँ संचारकर्मीको नेपाली भाषा मोह

बेइजिङ – ‘नमस्कार ! तपाईंहरुलाई हाम्रो कार्यालयमा स्वागत छ’ भन्दै दुई हात जोडेर मुस्काइन् राधिका । लवज र उनको मौलिक नेपाली शब्द चयनले पक्कै पनि नेपाली नारीको झल्को दिइरहेको थियो । चीनको राजधानी बेइजिङमा यसरी शुद्धसँग नेपाली बोल्ने राधिका नेपाली नभएर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईकी समाचार वाचिका कुचनसी हुन् ।
सीआरआईमा नेपाली भाषाको समाचार पढ्दा उनले आपूmलाई कुचनसी नभई राधिका नै भनेर चिनाउँछिन् । राधिकासँगै रवि दाइ, हिमा, मेघा, सुमेघा, ललिता, समुन्द्र, सन्ध्या, प्रतिभा सबै राम्रोसँग नेपाली लेख्न र बोल्न सक्छन् तर उनीहरु चिनियाँ नागरिक हुन् ।
रवि दाइले नेपाली बुलेटिन तयार गर्ने, वाचन गर्ने तथा कार्यक्रम पनि बनाउँदै आएका छन् । रेडियोमा पहिलो पुस्ताकी वर्षा अहिले सीआरआई नेपाली सेवा प्रमुखसमेत हुन् । दोस्रो पुस्तामा पाँचजना छन् भने कान्छो पुस्तामा अन्य तीन जना । तिनैमध्यकी एक हुन्– राधिका । चिनियाँ रेडियोमा कार्यरत यी नेपालीभाषीको चिनियाँ नाम भने अलग छ । वर्षा (च्याङ्दी), हिमा (चाङचिङ), मेघा (यूहोङ), रवि (च्यानमिङ), सुमेघ (लिउओन), लालिमा (लिउसान), ललिता (चुमे), राजु (वाङथिङ), मुना (त्वानानाम), समुन्द्र (सिफेयाङ), सन्ध्या (यूसी) र प्रतिफा (पाउयीङ) हुन् ।
चिनियाँ नाम भएर पनि नेपाली नामबाटै किन चिनाइरहनुभएको छ ? भन्ने प्रश्नमा राजु भन्छन्, “चिनियाँ नामले नेपाली समाचार पढ्दा नसुहाउने रहेछ, स्रोताले पनि हामीलाई विश्वास गरेनन् । जब नेपाली नामबाटै समाचार पढ्न र कार्यक्रम चलाउन थालियो, तब हामीलाई विश्वास गर्न थाले र मिठो पनि सुनियो ।”
नेपाली भाषा सिक्न उनले चार वर्षसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय धाए । अहिले पनि उनी नेपाली भाषामा निखार ल्याउन अध्ययनकै चरणमा छन् । अहिले त उनलाई नेपाली भाषा मातृ भाषाजत्तिकै प्यारो लाग्न थालिसकेको पनि छ । नेपाली विश्वविद्यालयमा पढ्दा नै उनको नेपाली नाम राखिएको हो र यो नाम पनि चिनियाँ नामसँग मिल्नेगरी राखिएको छ । चिनियाँ भाषामा वाङ भनेको राजा हो र उनको चिनियाँ नाम वाङथिङबाट राजु बनाइएको हो ।
चिनियाँ भाषामा लियुसानको अर्थ रातो भन्ने हुन्छ । त्यसैबाट उनको नाम लालिमा राखियो भने लिउसान भनेको बादल हो र सोही कारण उनको नाम सुमेघ राखियो । यसरी चिनियाँ र नेपाली दुवैको मिल्दोजुल्दो अर्थमा नै सीआरआईमा कार्यरत चिनियाँहरुको न्वारन गरिएको छ । सीआरआईमा अहिले प्रष्टसँग नेपाली बोल्न र लेख्नसक्ने १३ जना चिनियाँ पत्रकार कार्यरत छन् । नेपालमा अहिले चिनियाँ भाषाप्रतिको आकर्षण जसरी बढेको छ, चिनियाँमा पनि नेपालप्रतिको सद्भावसँगै नेपाली भाषाप्रतिको रुचि बढेको देखिन्छ ।
चिनियाँ राष्ट्रपति सि चीनफिङको महत्वाकांक्षी परियोजना द बेल्ट एन्ड रोड इनिसियटिभ्समा नेपाल पनि सहभागी भएकाले नेपालप्रति चिनियाँ सरकार र जनता सकारात्मक भएको र भविष्यमा चीनमा नेपाली भाषा थप लोकप्रिय हुनसक्ने रवि बताउँछन् । दुई देशबीचको सम्बन्धमा प्रगाढता ल्याउन भाषा र कला संस्कृति महत्वपूर्ण हुने उनको अनुभव छ । कम्युनिकेसन युनिभर्सिटी अफ चाइना (सीयूसी) मा अध्ययन अध्यापन हुने १२ विदेशी भाषामध्ये नेपाली विषय पनि रहेको छ । विगत एक दशकदेखि सीआरआईमै काम गर्दै आएका नेपाली सञ्चारकर्मी अजय श्रेष्ठ पनि चीनमा नेपाली भाषाप्रति रुचि बढेको र न्यूज रुममा नेपालीमै कुराकानी हुँदा निकै रमाइलो हुने र आफू नेपालमै रहेजस्तो लाग्ने बताउँछन् । श्रेष्ठसहित तीनजना नेपाली सीआरआईमा कार्यरत छन्– लक्ष्मी लम्साल र चेतनाथ आचार्य ।
चीनमा अहिले ६ हजार नेपाली रहेको अनुमान छ । सीआरआईका नियमित स्रोतमा चीनमा रहने नेपालीमात्र नभइ संसारभरका नेपाली रहेका छन् । मध्यपूर्वमा रहेका ठूलो संख्याका नेपालीसहित मलेसिया, भारत, अमेरिकालगायतका मुलुकमा रहेका नेपालीले सीआरआईको नेपाली समाचार सुन्ने गर्दछन् । फेसबुकमार्फत प्रत्यक्ष प्रशारण हुने भएकाले पनि धेरै नेपालीमाझ सीआरआई लोकप्रिय छ । प्रत्येक दिन नेपाली भाषाका चारवटा बुलेटिन प्रशारण हुने सीआरआईले नेपालसम्बन्धी समाचार भने नेपालकै विभिन्न सञ्चारमाध्यमबाट पनि लिने गरेको छ ।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) १९४१ डिसेम्बर ३ देखि सञ्चालनमा छ । चीनमा भएका ठूला परिवर्तन र विकासक्रमबारे विश्वलाई जानकारी दिँदै जनस्तरमाका विभिन्न देशका जनताबीच मित्रता कायम गर्ने पहल गरेको छ । सीआरआईबाट हरेक दिन विश्वका ३८ वटा भाषा र चीनमा प्रचलित चार भाषामा विश्वभरी गरी ३९२ घन्टा प्रशारण भइरहेको छ । सन् २००४ मा सीआरआईले विश्वभरका १६१ मुलुकका स्रोतबाट १८ लाखभन्दा बढी चिठीपत्र प्राप्त गरेको थियो । ति चिठीपत्रलाई अहिले पनि रेडियोले संरक्षण गरेर राखेको छ । विश्वका विभिन्न भागमा हुने घटनाबारे सुसूचित गर्न सबै महाद्विपमा ३० वटा र स्वदेशमा विभिन्न प्रान्त, सहर, स्वायत्त प्रदेश एवं हङकङ र मकाउमा समेत संवाददाता केन्द्र स्थापना गरेको छ ।
आजको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो झन फराकिलो र झन व्यापक सञ्चारको क्षेत्रको रुपमा अगाडि बढिरहेको छ । रेडियोबाट ४३ वटा भाषा प्रशारण, बहुभाषा र मल्टिमिडियासहितको अन्तर्राष्ट्रिय इन्टरनेट वेबसाइट, टेलिभिजन केन्द्र, समाचारपत्र तथा प्रकाशन संस्था समावेश भएका छन् । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो हाल विश्वमा सबैभन्दा बढी भाषामा प्रशारण गर्ने, अत्याधुनिक साधनसम्पन्न तथा सबैभन्दा धेरै स्रोता भएको सञ्चारमाध्यम बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्