सूचना किन्न २ सय सुराकीसँग सम्झौता

महानगरीय प्रहरी परिसर काठमाडौंले अपराधविरुद्ध विशेष अभियान सञ्चालन गर्न २ सय सुराकीसँग गोप्य सम्झौता गरेको छ । अदालतले दोषी ठहर गरेपछि फरार भएका, प्रहरीको अनुसन्धानमा रहेका तथा चोरी, डकैती, फिरौती असुललगायत कसूरमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन उक्त सम्झौता गरेको हो । सूचना दिएबापत सूचनाको अवस्था हेरेर सुराकीहरुलाई पुरस्कृत समेत गर्ने प्रहरीले जनाएको छ ।यो सम्झौतासँगै काठमाडौं परिसरले आर्थिक अपराध, जघन्य अपराध र अन्य अपराधका छुट्टाछुट्टै ३ वटा ‘पिलर’ गठन गरेर अनुसन्धान थाल्ने जनाएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले ‘क्लिन काठमाडौं’ अभियान अन्तर्गत अपराध विरुद्धको कारबाही सफल बनाउन सुराकीहरुसँग सम्झौता गरिएको जनाए । पोखरेलका अनुसार सम्झौता गरिएका सुराकीहरु विभिन्न पेशा-व्यवसाय तथा स्थानीय क्लव-सामाजिक संस्थासँग आवद्ध रहेको पनि बताए । सुराकीको विवरण र उनीहरुले दिएका सूचना गोप्य राखिने पनि एसएसपी पोखरेलले जानकारी दिए । आचरण विपरित काम गर्ने प्रहरी कर्मचारीका गतिविधिबारे पनि उजुरी दिन काठमाडौं प्रहरीले सर्वसाधारणसँग अपील गरेको छ ।
“अदालतबाट दोषी ठहरिएर भागेका, अनुसन्धानको दायरामा रहेरपनि फरार भएका तथा चोरी, डकैती, लुटपाट, अपहरण तथा फिरौती असुल, धम्की जस्ता अन्य अपराधमा संलग्नलाई कारबाही गर्ने उद्देश्य सहित सुराकीहरुसँग सम्झौता गरिएको हो,” एसएसपी पोखरेलले भने, “अव सूचना बेगर प्रहरीका कुनैपनि सुरक्षा कारबाही तथा अपराध विरुद्धका अभियान सफल हुँदैन, त्यही भएर नागरिकहरुसँगको सहकार्यलाई सुदृढ बनाउन खोजेका हौं ।” काठमाडौं प्रहरीको सूचीमा मात्रै अहिलेसम्म २ सय ७२ अभियुक्त फरार छन् ।
आर्थिक र जघन्य अपराधमा समेत प्रहरीकै कर्मचारीको संलग्नता देखिने गरेकोले उनीहरुमाथी पनि कुनै कसर नरखी कारबाही गरिने एसएसपी पेखरेलले दावी गरे ।यो अभियानसँगसँगै काडमाडौं जिल्ला भित्रका सबै घरधनी र बहालमा रहेका व्यक्तिको अभिलेख संकलन कार्यलाई पनि अघि बढाइने प्रहरीले जनाएको छ ।“अव घधनी र घरबहालमा रहेका व्यक्तिको विवरण प्रहरीसँग रहन्छ, अपराध गरेर भागेका व्यक्तिलाई कसैले सेल्टर दिएको पाइए त्यस्ता घरधनी र बहालमा रहने व्यक्तिलाई पनि कारबाही गरिने छ ।”नागरिकले सार्वजनिक सुनुवाई, फोनसम्वाद र प्रत्यक्ष भेटेर पनि अपराध र आचरण विपरितका गतिविधिमा संलग्न प्रहरी तथा राष्ट्रसेवक कर्मचारी विरुद्ध उजुरी दिनसक्ने काठमाडौं प्रहरीले जनाएको छ ।