Logo

शेफर्ड कलेजको सद्भावना दूतमा केसी

काठमाडौं– कलाकार, फिल्म निर्माता तथा निर्देशक भुवन केसी शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावना दूत नियुक्त भएका छन् । शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा यससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कलाकार केसी र कलेजको तर्फबाट प्रवन्ध निर्देशक तरुणप्रताप शाहले हस्ताक्षर गरेका छन् ।

केसी चार वर्षका लागि शेफर्ड कलेजको सद्भावना दूत बनेका हुन् । सद्भावना दूतको रुपमा कलाकार केसी कलेजका विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरुमा सहभागी हुनेछन् । साथै उनले आफ्नो सामाजिक सञ्जालमार्फत पनि कलेजको प्रवर्द्धन गर्ने समझदारी भएको छ । यसका साथै सम्झौता अवधिभर केसीको फिल्म निर्माता कम्पनी सुपर काजल फिल्म्सको ब्यानरमा बन्ने फिल्ममार्फत पनि शेफर्ड कलेजको प्रवर्द्धन गर्ने सहमति भएको छ ।

सम्झौता हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा कलाकार केसीले आफू कलाकार हुने समयमा फिल्मको बारेमा औपचारिक अध्ययन गर्न नपाएको अनुभव सुनाउँदै शेफर्ड कलेजले फिल्मको अध्ययन अध्यापन सुरु गरेकोमा खुसी व्यक्त गरे । ‘फिल्म सम्बन्धि पढाइलाई हामीले प्राथमिकता दिनुपर्छ । यसले नेपाली फिल्म क्षेत्रको विकासमा सहयोग पुग्छ,’ उनले भने । फिल्मसम्बन्धि शिक्षा राम्रो भए समग्र फिल्म क्षेत्र राम्रो हुने उनको भनाइ थियो ।

कलेजका प्रवन्ध निर्देशक तरुणप्रताप शाहले कलेजका कोर्सहरुबारे जानकारी दिँदै कलाकार केसीसँगको सहकार्यले फिल्म एजुकेशन अझ राम्रो हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यसै वर्षदेखि हामीले मास्टर्स इन मिडिया टेक्नोलोजीको तेस्रो सेमेस्टरमा चलचित्रको विषय थपेका छौं । भुवन केसीसँगको सहकार्यले यो विषयको पठनपाठन अझ प्रभावकारी हुनेछ ।’

कलेजकी प्रिन्सिपल कविता शर्माले फिल्म क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि शेफर्ड कलेज उत्कृष्ट गन्तव्य भएको बताइन् । केसी चलचित्र विकास बोर्डमा अध्यक्ष हुँदा सिलेबस बनाउने क्रममा थुप्रै पटक छलफल भएको बताउँदै उनले हाल आएर उनी कलेजसँग जोडिएकोमा आफू उत्साहित भएको धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्