Logo

बाढी पहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बराबरको भौतिक संरचना क्षति

विराटनगर– गत असोज ९–१२ परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोका कारण कोशी प्रदेशका १४ जिल्लामा मात्रै चार अर्ब ६३ करोड ५० लाख बराबरको भौतिक संरचना क्षति भएको छ । बाढी तथा पहिरोले क्षति पुर्‍याएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि चार अर्ब बढी रकम कोशी प्रदेशका १४ जिल्लालाई आवश्यक पर्ने भएको हो । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका आयोजनामा समेत ठूलो क्षति पुगेको हो । यसमा संघीय सरकारअन्तर्गतका आयोजनाको समावेश छैन ।

भौतिक विकास तथा पूर्वाधारमन्त्री भूपेन्द्र राईका अनुसार क्षतिग्रस्त संरचनामध्ये पनि इलाम नगरपालिकाको सडक निर्माण तत्काल गर्न नसक्ने अवस्था देखिएको छ । हालसम्म प्राप्त भएका आंशिक र पूर्ण क्षति भएका आयोजना तत्काल मर्मत गर्न प्रक्रिया बढाइनेछ । आंशिक क्षतितर्फ मर्मत गर्नका लागि एक अर्ब दुई करोड ५० लाख लाग्नेछ । पाँचथरमा दुई सडक, चार सडक पुल र तीनवटा झोलुंगे पुलमा क्षति पुर्‍याएको छ ।

यसका लागि ५० करोड रुपैयाँ आवश्यक पर्नेछ । यसैगरी संखुवासभामा सडक पुल र झोलुंगे पुलमा क्षति पुर्‍याएको छ । भोजपुरमा चार सडकमा क्षति पुर्‍याएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सोलुमा दुई सडक, दुईवटा सडक पुल, ओखलढुंगामा आठवटा सडक, तीनवटा सडक पुल र पाँचवटा झोलुंगे पुलमा आंशिक क्षति पुगेको छ । उदयपुरका ११ सडकमा क्षति पुगेको छ । यसैगरी खोटाङमा २३ सडकमा, झापा तीनवटा सडक पुलमा, इलाममा ६ वटा सडक दुईवटा सडक पुलमा क्षति पुगेको छ ।

यसरी आंशिक क्षतितर्फ मात्रै ६० स्थानमा सडक, १५ वटा सडक पुल र १७ वटा झोलुंगे पुल छन् । आंशिक क्षति भएका यी संरचना मर्मत गर्न मात्रै एक अर्ब दुई करोड ५० लाख आवश्यक पर्ने जनाइएको छ । यसैगरी पूर्ण क्षति भएका संरचनातर्फ पाँचथरमा तीनवडा सडक आंशिक ताप्लेजुङमा एउटा सडक पुल र झोलंगे पुल पूर्ण क्षति भएका छन् । सबैतिरको क्षतिको विवरण प्राप्त भइसकेको मन्त्री राईले बताए । क्षतिग्रस्त सडकको मर्मत गरी सवारी साधन सुचारु गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्