प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना «

प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना

नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।
नयाँ रक्तसञ्चार केन्द्रको बुधबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे ।
अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताइन् । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिए ।
२०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० शैय्या रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्