बीमा कम्पनीको व्यापार चार प्रतिशत बढ्यो
काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्ममा बीमा कम्पनीहरुले ३८ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १ करोड ४९ लाख रुपैयाँको व्यापार गरेका हुन् ।
यो रकम गत आवको भदौसम्मको तुलनामा ४.९७ प्रतिशतले बढी हो । गत आवको भदौसम्म बीमा कम्पनीहरुले ३८ अर्ब २१ करोड ६४ लाख रुपैयाँको व्यापार गरेका थिए । हाल १४ वटा जीवन बीमा, १४ निर्जीवन बीमा, ३ लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । चालु आवको भदौसम्ममा जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत वर्षको यही अवधिमा जीवन बीमकहरुले २९ अर्ब १३ करोड बीमाशुल्क आर्जन गरेका थिए । गत आवको तुलनामा जीवन बीमकको व्यापार ३.५२ प्रतिशतले बढेको छ ।
यसैगरी चालु आवको भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत वर्ष भदौसम्म यो रकम ७ अर्ब ८ करोड ५२ लाख थियो । गत आवको तुलनामा निर्जीवन बीमकको व्यापार पनि १०.८९ प्रतिशतले बढेको छ ।
चालु आवको भदौसम्म जीवन बीमकको कुल सक्रिय बीमालेख १ करोड ३७ लाख ८४ हजार ८८ वटा रहेको छ । गत वर्ष भदौसम्म यो संख्या १ करोड ३४ लाख ५३ हजार १६६ थियो । गत आवको तुलनामा सक्रिय बीमालेख संख्या २.४६ प्रतिशतले बढेको छ । त्यस्तै, चालु आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकको कुल बीमालेख ४ लाख ७० हजार ५१४ वटा रहेको छ । गत वर्ष भदौसम्म कुल बीमालेख संख्या ४ लाख ९ हजार ८० वटा थियो । अघिल्लो वर्षको तुलनामा बीमालेख संख्या १५ प्रतिशतले बढेको छ ।
यो वर्ष भदौसम्ममा कम्पनीहरुले ५ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् भने नवीकरण जीवन बीमाशुल्कबापत २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ उठाएका छन् । गत आवको दुई महिनामा जम्मा तीन अर्ब ८८ करोड ९१ लाख रुपैयाँको प्रथम बीमा व्यवसाय गरेका बीमा कम्पनीहरुले चालु आवको सोही अवधिमा पाँच अर्ब १२ करोड ७४ लाख रुपैयाँ संकलन गर्न सफल भएका छन् । गत वर्षको तथ्यांकमा प्रथम बीमा शुल्कमा वैदेशिक रोजगार म्यादी बीमा समेत समावेश गरिएकोमा यस वर्षदेखि यसलाई हटाएर छुट्टै गणना गरिएको हो । यो आधारमा जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।
सबैभन्दा ठूलो कम्पनी नेपाल लाइफले सबैभन्दा धेरै ३० प्रतिशतले व्यापार वृद्धि गर्दै एक अर्ब २८ करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रो नेशनल लाइफले ७४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको प्रथम बीमाशुल्क ४२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, तेस्रो नम्बरमा हिमालयन लाइफ परेको छ । सो कम्पनीको प्रथम बीमाशुल्क ४४ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, सूर्यज्योति लाइफले ४० करोड १२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीको प्रथम बीमाशुल्क व्यवसाय ३३ प्रतिशतले वृद्धि भएको छ । एलआईसी नेपालले ३६ करोड प्रथम बीमाशुल्क संकलन गर्दा सिटिजन लाइफले ३४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ३२ करोड, मेन लाइफले २१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।
दुई महिनाको अवधिमा एशियन लाइफले २० करोड, सानिमा रिलायन्सले २० करोड, रिलायबल नेपाल लाइफले १८ करोड, प्रभु महालक्ष्मी लाइफले १४ करोड र सन नेपाल लाइफले १० करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । भदौसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्कमा उल्लेख्य प्रगति भएको छ । निर्जीवनतर्फ भदौमा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको व्यवसाय वृद्धि भएको छ । सो कम्पनीको ८५ प्रतिशतले ब्यवसाय वृद्धि भएको देखिएको छ ।
त्यस्तै, दोस्रो नम्बरमा व्यवसाय वृद्धि गर्ने कम्पनीको रुपमा दि ओरियन्टलको ३४ प्रतिशतले वृद्धि भएको छ । नेशनल इन्स्योरेन्स कम्पनीको व्यवसाय २३.९२ प्रतिशतले वृद्धि भएको छ । सिद्धार्थ प्रिमियरको १०.७८ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा धेरै व्यवसाय गर्ने सलिकोको १०.६६ प्रतिशतले वृद्धि हुँदा शिखरको ९.२१ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ६ प्रतिशतले व्यवसाय घट्दा नेको इन्स्योरेन्स कम्पनीको ११.८७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अर्को उत्कृष्ट वृद्धि गर्नेमा एनएलजी इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले १२.२८ प्रतिशतको वृद्धि हात पार्न सफल भएको छ । २०८१ भदौसम्म बीमा दायरामा ४२.९२ प्रतिशत जनसंख्या आएका छन् । २०८० भदौसम्म यो प्रतिशत ४२.२० थियो ।