अव्यवस्थित काठमाडौं मृत्युको सहर

बहत्तर वैशाख बाह्र गते काठमाडौं मृत्युको सहर बनेको थियो, होइन, एकासी असोज बाह्र गते पनि मृत्युकै सहर बन्यो मात्रै होइन, काठमाडौं हरेक दिन मृत्युको सहर बन्दै छ, कारण यहाँको बस्ती अव्यवस्थित छ । लोकतन्त्रका संवाहकहरू विश्वको आर्थिक राजधानी अमेरिका भएको कारण काठमाडौं ढलेको होइन, बरु यहाँका तमाम सरकारी संयन्त्रमा खिया लागेकाले सहर मृत्युको बनेको हो, निहत्था जनताले दसैं मनाउन पाएनन्, काठमाडौं पूरै डुबानमा देखियो ।
नदी किनाराको जमिन थप २० मिटरमा बस्ती नराख्नू भन्ने अदालतको परमादेशमा सरकारले भ्याकेट मागेको एक सातापछिकै दृश्य हो, असोज एघार र बाह्र । बोल्ने शक्ति आफन्तलाई करिब न्याय दिन सके पनि नबोल्ने शक्तिको चीरहरण भएको हो छयालीस सालपछि, तमाम बगरहरू जब बस्तीमा परिणत भए । हाम्रो लोकतन्त्र शवमाथि श्रद्धाञ्जली गर्न मात्र व्यस्त छ । पंक्ति तयार गर्दाको प्रारम्भिक चरणमै २ सयको मृत्यु र काठमाडौं जोड्ने मूल नाका नागढुंगामै तीन दर्जन लास भेटिएको, कैयन् परिवहन डुबेको अवस्थाले हात लगलग कमाउँदैको परिवेशमा यो आलेख तयार भएको छ । नदीले आफ्नो बाटो खोजेको यो पहिलोपल्ट होइन, यस्तो विषम परिवेश सधैं हुने गरेको छ र हिउँद लाग्दा थन्किने र वर्षा हुँदा रन्किने विषय हो यो, अहिले त वर्षा पनि कसरी भन्नु, शरद्को उल्लास दसैंले ढपक्कै ढाकिरहँदा ।
काठमाडौंको अन्नपूर्ण चोकमा बाइकलाई खोलाले निल्न सकेन, होनहार युवालाई निल्यो, विष्णुमतीले खाइदियो, खोला पुरिएकोले यस्तो भएको भने सबैले । नयाँबस्ती गोठाटारको पक्की सडकमा भीषण बाढी आयो, सवारी साधन बगे, नगरपालिकाहरूले बागमती, विष्णुमती, रुद्रमती, मनोहराका करिडोर सिँगारे, जनता निचोरेर उठाएको बजेट थियो तिनीहरूसँग तर भिजन थिएन, सबै पु¥यो नदीले, कुनै बगायो । कुलेश्वर, थापाथली, पेप्सीकोलाको बस्ती मात्रै होइन काठमाडौं उपत्यकालाई नै निल्ने प्रयास गरेको थियो प्रकृतिले अघिल्लो हप्ता ।
नेपाल पूरै देवभूमि भएको र काठमाडौं त झन् यसको नेतृत्व लिने भूगोल भएको सन्दर्भ हिजोदेखि मात्रै होइन करोडौं वर्ष सत्ययुगदेखि नै हो, यहाँका हरेक जलकण र स्थलकणमा देवत्व बोलिरहेको हुन्छ र भन्छ अध्यात्मलाई बिर्सेर भौतिक जगत्को मात्र सहरा लियौं भने सदाका लागि तिम्रो हुने हालत यस्तै हो । श्रावणको पशुपतिको रगमञ्च सुरु हुनासाथ देशमा केके भए सबैलाई थाहा छ र दोलखाका भीमसेनलाई अतीतदेखि नै पसिना आउँदा देशमा केके हुने गरेको छ, त्यसमा पनि कोही अनभिज्ञ छैन, अनभिज्ञ भएको नेतृत्व हो जसले नीति तय गर्न सकेन, देशैभरि नेता मात्र तय गर्यो र सबैले देशलाई दोहन मात्रै गरे, विकासका नाममा विनाश हुने देश हो हाम्रो । गठबन्धन, समीकरण वा दुईतिहाइ जनताका लागि नभएर सत्ताका लागि मात्र आएको हो भन्नेहरू धेरै छन् अहिले र सडकमा नारा नलागेको कुनै दिन छैन ।
प्रारम्भमै काठमाडौं उपत्यकामा ३२ जना बढीको मृत्यु भइसकेको, ३४ जना घाइते भएका, ४० जना सम्पर्कमा नआएका र देशका विभिन्न भागमा पाँच दर्जनको ज्यान गइसकेको थियो, टहराको छत चढेर गुहार माग्दा दिवस मनाउँदा पूmल छर्ने हेलिकप्टर त्यहाँ पुगेन, केही बेरमै छत ढल्यो, उडायो सबै सपना हुरीले, राजधानीको दृश्य थियो यो । बागमतीका १० जिल्लामा २१ जनाको हताहत, २५ बेपत्ता, काठमाडौं जोड्ने सबै नाका बन्द भइसकेका थिए । पृथ्वी राजमार्ग, काठमाडौं–मुग्लिन सडक, बिपी राजमार्ग, भीमफेदी, कुलेखानी, मातातीर्थ, त्रिभुवन राजपथ सबैले काठमाडौं सम्पर्क गुमाइसकेका थिए । सातदोबाटो–गोदावरी सडक हात्तीवननजिक धेरै ठाउँका सडक भासिएका र ठूला बस खाल्डोमा खसिसकेका थिए ।
मनोहराले अरनिको यातायात कार्यालय मात्रै होइन, भक्तपुर–काठमाडौं जोड्ने बस्ती आसपासलाई डुबानमा पारिसकेको थियो, भक्तपुर पलाँसेमा पहिरो खसेर तीन जनालाई निलेको थियो, तातोपानी नाकाको पुल बगेर दसैं बजार बोकेका गाडी उतै थन्किएका थिए । विकासको युग ल्याउने भनिएको सुनकोसीले खुर्कोट पुल खाइसक्दा दोलखा–रामेछाप सम्पर्क टुटेको र सुनकोसीले झोलुङ्गे पुलहरूलाई एकै गाँस पार्दै थियो, काभ्रेको रोसी गाउँपालिका नार्केमा पाँचतले पक्की घर हेर्दाहेर्दै सिनित्तै निलेको अवस्था रह्यो । नख्खु खोलो भने मानव उपचार गराउने भनिएको महँगो मेडिसिटीभित्र छिरिसकेको र यसले शिरदेखि पुछारसम्म आफ्नो रौद्ररुप देखाउँदै थियो । कलंकी सडकमा उर्लिएको खोलाले सवारी साधनहरूलाई निल्दै थियो । भक्तपुरमा ५ जना बढी निल्ने, ललितपुरमा २८ बढीलाई निल्ने, सिन्धुलीमा २ बढीलाई निल्ने, सौराहाको पर्यटकीय क्षेत्र पूरै डुबाउने, कुलेखानी ड्याम डुबाउने, कुलेश्वर, त्रिपुरेश्वर अस्तव्यस्त बनाउने, थापाथलीमा रहेका सुकुम्बासी भनिएका हुकुम्बासीहरूबाट बालेनको डोजर फिर्ता मात्रै होइन खुँडा, खुकुरी लिएर सुरक्षाकर्मीको टाउको फोर्दा गृह मन्त्रालय मौन बस्ने र पूर्वाधार मन्त्रालय भनौं सिंहदरबार न्युरोडको बालेनसँग सिँगौरी खेल्ने लोकतन्त्र पाउँदा गर्व गर्छौं हामी ।
आज गाउँको मनोहरा खोलाजस्तो छ, दायाँबायाँ ठूलो बगर विष्णुमती, बागमती, रुद्रमती अर्थात् धोबीखोला त्यस्तै थियो पहिले । भीषण वर्षाको एक दिनअघि मात्र पंक्तिकारले डाँछी आसपासको मनोहराको विशाल बगरलाई अवलोकन गरेको थियो र बचपनमा काठमाडौंका सबै नदी दायाँबायाँ यस्तै अवस्था देखेको होे, सहरको केन्द्रमै रहेकाले इक्षुमती अर्थात् अहिलेको टुकुचाबाहेक । भीषण पानीकै बाबजुद पंक्तिकार साँगाको डोजरे विकासले ल्याएको पहिरो छल्दै धुलिखेलको एक पाखोमा पुग्यो, चौपट्टै उकालो स्याँस्याँ गर्दै दूरी त १० मिनेट पैदल मात्रै थियो, तर पालिकाले खन्याएको पिच सडकमा भीषण बाढी आइरहेको थियो, फर्कंदा साँगाको पहिरोले मान्छे निलिसकेको रहेछ, एघार गते । बाह्र गते पनि पंक्तिकार हिँड्न छोडेन सोह्रखुट्टे, ठमेल, बालाजु आसपास पैदलमार्च गर्दा घुँडाघुँडासम्मको जलमार्ग पार गरेको हो, उसले दुईतिहाइको लोकतन्त्रले पानीजहाज चलाउने भनेको कुरो सम्झियो, त्यो पनि युएसए बसिरहेको, विपद्मा तुरुन्तै घरबास फर्कने प्रणाली तोडेको थियो लोकतन्त्रले ।
लोकतन्त्रको मूल धर्म भनेको सेवा कम शुल्क बढी हो । विकसित देशबाट आएकी आसिका तामाङले गत हप्ता तहल्का नै मच्चाइन्, दिसा–पिसाब गरेको मात्रै होइन, झोलुङ्गे पुलमा हिँडेको मात्रै होइन, दक्षिणकालीको मन्दिरमा उठाइएको पार्किङ शुल्क, कालीमाटी उभिँदा नै कर उठाएको, उही हालत एयरपोर्टमा बाइककै चालीस असुलेको भनौं धेरै विषयको उजागर गरिन् उनले । काठमाडौंका बालेनले निःशुल्क पार्किङको व्यवस्था गर्छु भन्दा लोकतन्त्रलाई टाउको दुखेको र धरहरामुनि त शुल्क लिनैपर्छ भन्दै छ लोकतन्त्र । आस्थाको केन्द्र गोकर्णेश्वर, बूढानीलकण्ठ, बगलामुखी मन्दिर सबैतिर शौचालय पस्दा पंक्तिकारले हप्की खाएको छ, पार्किङका लागि पनि सबैतिर ठेक्कामा दिइएको छ, ठेकेदारहरूलाई कत्ति पनि दयामाया छैन, को व्यापार गर्न आएको अनि को मन्दिरमा धर्म गर्न आएको, बस् लोकतन्त्र पूरै ठेकेदारीमा चलेको छ, परिवर्तन गर्छु भन्ने नयाँ शक्ति दुर्गा प्रसाईंहरू खोरमा जाकिएका छन्, हर्क, बालेन, हमालहरू येनकेन घस्रिँदै छन् र नो नट एगेन भन्दै जनताबाट भारी दोहोरो मत लिने रविहरू ‘वन्स अगेन’ भन्दै गला मिलाउँदै सिंहदरबार छिरेका छन् र धेरै मुद्दा बोक्दै छन्, घाँटी सुक्ने गरी कराउँदै छन् भनौं अब पनि साइजमा नआउने हो भने थप क्षति बेहोर्ने संकेत पाइरहेका छन् तिनले ।
लोकतन्त्र खुसी छ उच्च विप्रेषणको आप्रवाह हुँदा, मान्छे निर्यात नगर्ने नीति ऊसँग छैन, कारण उद्योगधन्दाहरू बाढीले बस्ती निलेझैं उसैले निलिसकेको छ, बिजुली उत्पादन बढी भयो भन्दा पनि संसारकै पानी बढी भएको देशमा भुटानभन्दा महँगो दरमा लोकतन्त्रले उपभोक्तालाई बिजुली बेचेको छ, आपूर्ति सहज छैन, राष्ट्र बैंकमा मुद्रा सञ्चिति वृद्धिमा लोकतन्त्र खुसी छ तर बैंकहरूमा अधिक तरलता हुँदा लगानीयोग्य रकम थुप्रिँदा लगानी वातावरण तय गर्न उद्यत छैन, बरु संरासंको महासभामा जलवायु परिवर्तन जोखिम घटाउन विदेशी डलरको याचना गर्न पटक–पटक तम्सिएको छ, स्वदेशका पीडितसँग हात मिलाउन र तिनका सेवा वृद्धि र शुल्क कम गर्नुभन्दा गुटेरेस, मोदीहरूसँग हात मिलाउन तल्लीन छ र हरेक अन्तर्राष्ट्रिय फोरममा हाम्रो शान्ति प्रक्रिया विश्वकै उदाहरण हो भनिरहन्छ । शान्ति प्रक्रियाका नाममा हरेक ठाउँबाट भीक्षार्थी भइरहेको छ, आफैंले योजना बनाएको सशस्त्र युद्ध र डेढ दशकको रक्ताम्य जनजीवन कुनै पराई आएर गरिदिएको थिएन । त्यसको नेतृत्वलाई आफैंले सत्ता सुम्पिएको थियो र अहिले ऊबाट सत्ता खोसेको पनि मिलीजुली आफैंले नै हो । अहिलेको दुईतिहाइ कुनै नौलो नभएर महाकाली सन्धिलगायतकै सेरोफेरोको हो, अनि नयाँ नोटमा चुच्चे नक्सा आउला भनेर पुरानो नोट धुलाई गरी दसैंमा वितरण गर्दै छ ऊ ।
प्रकृतिको व्यापक दोहन गरी भ्युटावर उठाउने लोकतन्त्र उधारोमा छ, बस्ती उजाड हुने गरी युवा निर्यात गर्ने लोकतन्त्र उच्च व्यापारघाटा र तीव्र ऋणमा पनि छ । एउटा घरमूलीले सन्तानलाई ऋण बोकाउँदा नमज्जा लाग्ने अग्रजका सन्तान हुन् नेपालीहरू र ढिँडो, पीठो खाई कष्टकर जीवन बिताउँदा पनि अरूलाई दान–दातव्य दिएर परम्परा धान्ने र यथाशक्ति चाडबाड मनाइसकेसम्म ऋणबोझमा रहन नचाहने नेपालीहरूको विशेषता हो । लोकतन्त्रले गरिबी न्यूनीकरण भन्दै गाउँगाउँमा लघुवित्त र सहकारी वितरण गर्यो, विकासोन्मुख र विकसित देशमा यस्ता वितरित संस्थाले मानव पुँजी बढाएका मात्रै होइन, जीवन नै रूपान्तरण गरिदिएका छन्, देशको आर्थिक उन्नति गराएका छन् ।
तर, हामीकहाँ ठीक उल्टो भयो, सबैले राजनीतिको झोला बोके । देश झन् गरिब भयो, बैंकहरूमा ब्याज छैन अहिले, आर्जित ब्याजको कर प्रतिशत हरेक वर्ष वृद्धि हुँदै छ, सेवाशुल्क यति धेरै छ, जनता निराश भएर खाडीमा धकेलिएका छन्, यहाँ रोजगारी छैन र खाद्यान्न उत्पादन हुने क्षेत्रमा लोकतन्त्रको डोजर धस्सिँदै छ, त्यसकै उपज भएको छ अहिलेको प्रकृतिको ताण्डव नृत्य । गाउँमा न जन्ती छन् अहिले, न मलामी नै छन्, छन् केवल चिया गफका लोकतन्त्रका झोलेहरू । लोकतन्त्रले आमजनतामा निराशा बढाउँदै छ, जसरी सप्तकोसीले आफ्नो बाँधमा पाँच दशकपछिको पानीको बहाव बढाउँदै छ ।
नजिकै उत्तरतिर विशाल ब्रह्मपुत्र नदी छ, संसारकै ठूलोमा पर्छ त्यो, सांघाइ, हङकङ, क्वालालम्पुर, बेइजिङ, न्युयोर्क, बैंकक, दिल्ली तमाम ठूला सहरहरू नदी किनारामै छन्, अथवा यसो भनौं तमाम मानव सभ्यताको विकास नै नदीछेउछाउ भएको हो, इन्डस भ्यालीलगायत । कसैलाई समस्या नहुने तर हामीलाई हरेक विषय कमिलाको पहाड बन्दै छ ? मानव शून्य हृदय बोकेको लोकतन्त्र, संघीयता र गणतन्त्रलाई के भनेर सम्बोधन गरौं, काठमाडौं बसपार्क हटाएर काउलीबारी गोंगबुलाई आधुनिक बसपार्क बनाएकोलाई, व्यापारिक मलहरू निर्माण गर्न दिने, गहिरो र पुरुवा माटोमा बनेका भवनहरू बहत्तरको भूकम्पमा सोत्तर हुँदा कति जना ठहरै पार्नेलाई, बिस्र्यो लोकतन्त्रले त्यो मानवपुँजी गुमेको र अर्बौं अर्बका संरचना काठमाडौंमा ध्वस्त हुँदाका क्षणहरू पनि । भोट बैंकका लागि अदालतको परमादेशलाई भ्याकेट गराउन तम्सिएको लोकतन्त्रले बल्खुका ती दिनहरू बिर्सेको छ ।
नगरपालिकाका मेयरहरू एक स्वरमा कुर्लंदै छन् नदी किनाराका बस्तीहरू हटाउन त कुनै हालतमा मिल्दैन भनेर, मानौं पालिकाको आय नै यसैमा छ, एक्काइस सालको नक्सामा स्वयम्भू, बौद्ध चैत्य र पुराना नदीहरूको क्षेत्र कहाँ कस्ता थिए, हेर्ने फुर्सद अहिले उदाएका नयाँ युवावयका लोकतन्त्रका संवाहकहरूलाई के थाहा ? शीर्ष भनिएका लोकतन्त्रका नाइकेहरू पनि सायदै पसिसकेका थिए होलान् काठमाडौंमा यति बेला । पंक्तिकार काठमाडौंको हो, झन्डै सात दशकदेखि यसले यो क्षेत्रलाई नियालेको छ, अहिले भनिएको मेन बजारमै स्याल कराउँथ्यो दिउसै ।
नेतृत्वमा भिजन थियो भने यो सहर पुरुषार्थी सहर बन्न सक्थ्यो, अहिलेको जस्तो मृत्युको सहर होइन । यहाँका कुनै नदीमा जलचर छैनन् अहिले र जलचर नहुने नदीआसपासको बस्ती भनेको मृत्युस्थल नै हो । कंक्रिटका अस्थायी संरचनाले जीवनलाई जीवन्त बनाउनै सक्दैन, बालेनको हरियालीमा लोकतन्त्रलाई किन टाउको दुखेको र कमलादी खाल्डो किन पुर्दैन सवि भन्दै पहिचान खोज्ने संघीयताले यत्रा दिनसम्म ? देशमा पापको घडा भरिइसकेको छ र यो फुट्ने क्रममा देखिएको दृश्य मात्र हो यो ।