सुन्तला उत्पादनमा ३० प्रतिशत कमी «

सुन्तला उत्पादनमा ३० प्रतिशत कमी

सन्धिखर्क-अर्घाखाँचीमा यसवर्ष सुन्तला उत्पादनमा कमी हुने भएको छ । वारि, पारिबाट हेर्दा फूल फुलेर पहेंलपुर भएजस्तै देखिने मनोरम वातावरणको दृश्य । यो दृश्य फूल फुलेको होइन पुसमा सुन्तला पाकेर पहेंलपुर भएको । जाडोको समय भए पनि खाउँखाउँ हुने मिठो रससहितको सुन्तला पणेनाको सिम्लेमा पाइन्छ ।
यहाँका सबैजसो घरधुरीले न्यूनतम २ लाखदेखि १० लाख रुपैँयासम्म वार्षिक आम्दानी गर्ने गर्छन् । जिल्लामा पणेनामा गएपछि प्रशस्त सुन्तला खान पाइन्छ, भन्ने अर्घाखाँची जिल्लाका छिमेकी जिल्लाकालाई पनि जानकारी छ ।
विदेशमा ११ वर्ष बसेका खगेन्द्र पौडेलले ६ रोपनी जग्गामा सुन्तलाखेती गरेका छन् । मकै र गहुँ रोपेर २० हजार आम्दानी नगर्ने पौडेलले अहिले सुन्तलाखेतीबाट ७ लाख आम्दानी हुने बताए । गतवर्ष ७ लाखको आम्दानी गरेका सिम्लेका व्यावसायिक कृषक भोजराज पौडेलले यसवर्ष करिब ५ लाखको सुन्तला बिक्री गर्ने बताए । सुन्तला फुल्ने समयमा असिनापानीले फुलमै क्षति गरेका कारण सुन्तला उत्पादनमा कमी हुने भयो, पौडेलले भने, “काम गर्ने हो भने देशमै सुन फलाउन सकिन्छ, मिहिनेत गरे जहाँ पनि आम्दानी गर्न सकिन्छ विदेश धाउँनुपर्दैन ।”
भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका पणेनाका ७४ वर्षका हुमनाथ पौडेल पनि अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला किसान बन्न सफल बनेका छन् । २०२७ सालमा भारतमा जागिर गर्दैगर्दा भारतीयले नेपालीप्रति गरेको घृणाको वचन सहन नसकी जागिर चटक्कै छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने दृढ संकल्पका साथ सुन्तलाखेती गर्न सुरु गरेका पौडेल अहिले नमुना कृषक बनेका छन् ।
१३ वर्षसम्म ड्राईभर पेसा गरेका चोलनाथ पौडेल २०६९ सालदेखि व्यावसायिक सुन्तलाखेतीमा सक्रिय छन् । उनले गत वर्षभन्दा करिब ३० प्रतिशत सुन्तला उत्पादनमा कमी आउने बताए । यसवर्ष ५० क्विन्टल सुन्तला बिक्री गर्ने बताए । सुन्तला बगैँचाबाटै आजभोलि प्रतिकेजी ६० रुपैँयामा बिक्री भएको छ, अझै सुन्तलाको भाउँमा वृद्धि भई ७५÷८० रुपैँयासम्ममा बिक्री गर्न सकिने बताए ।
सिम्लेकै नारायणप्रसाद पौडेलको सुन्तला बगैँचा हेर्न लायक छ । लटरम्म फलेका सुन्तला पहेंलपुर छन् । विदेशको अनुभव सगाँलेका पौडेलले २२ वर्षदेखि सुन्तलाखेतीमै आबद्ध छन् । ६ मुरी मकै नहुने बारीमा ८ लाखको सुन्तला बिक्री हुने बताउँछन् । सुन्तलाखेतीबाट सन्तुष्ट भएको उनले बताए ।
पणेनाका झण्डै दुई सय र साविकको वडा नम्बर १ सिम्लेमा मात्रै ४६ जना किसानले अहिले सुन्तलाखेतीबाट घटीमा २ लाखदेखि बढीमा १० लाखसम्म आम्दानी गरिरहेका छन् । यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो ४५ रुपैयाँदेखि ६० रुपैयाँमा बुटवलको बजारमा बिक्री भइरहेको छ । सुन्तला बिक्रीबाट मात्र हैन सुन्तला र सुन्तला जातका बिरुवाको नर्सरी राखी बिरुवा बेचेर पनि सिम्लेका किसान रेवतीराज पौडेलले वार्षिक चार, पाँच लाख रुपैयाँ कमाउने गरेका छन् ।
उनले बगैंचामा अहिले सुन्तला, कागती, जुनार, इन्डियन किन्नु जातको सुन्तला, जापनीज उन्सु जातको सुन्तलाका बिरुवा छन् । गएको वर्षमात्र साढे चार लाखको बिरुवाहरु बिक्री गरेको र यो वर्ष झण्डै ६ लाख रुपैयाँ सुन्तला जातका बिरुवाहरु बिक्री गरेर आम्दानी हुने बताए ।
रोजगारीको लागि भारत र अन्य देसमा गएका नेपाली पनि सिम्लेका हुमनाथको जस्तै बिचार लिएर अगाडि बढ्न सके देशमा आर्थिक क्रान्ति गर्न सकिन्छ । रोजगारीको लागि विदेशको मुख ताक्नु नपर्ने र देशमा असल राजनेता नहुँदा नेपालको विकास हुन नसकेको उनीहरूको भनाइ छ । जिल्लाको पाणिनी गाउँपालिका पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खनलगायतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तला खेती हो । अर्घाखाँचीमा १२०० हेक्टरमा सुन्तलाखेती गरिएको छ । यहाँ उत्पादन भएको सुन्तला रुपन्देही, कपिलवस्तु, सन्धिखर्क, तम्घासलगायतका ठाउँमा निर्यात हुदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस्