गरिबको चन्दाले सरकारी विद्यालय सञ्चालन

जाजरकोट-नलगाड नगरपालिका–१ को शिवशंकर आधारभूत विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी छैन । पहाडी जिल्लामा ४५ जना विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने भए पनि शिवशंकरमा भने पुरा हुनसकेको छैन ।
सरकारी तलबबाट उपलब्ध गराएको शिक्षक दरबन्दी अपुग भएपछि अभिभावकहरू मिलेर चन्दा संकलन गरी निजी स्रोतबाट शिक्षक भर्ना गरेर आफ्ना बालबालिका पढाइरहेका छन् । विद्यार्थी संख्य बढी तर शिक्षकको संख्य न्यून भएपछि शिक्षण कार्यमा नै समस्यमा परेको भन्दै स्थानीयवासीले रकम संकलन गरी विद्यालय सञ्चालन गरेको वडाध्यक्ष हिरालाल पुनले बताए ।
उनले भने, “अभिभावकसँग सहकार्य गरेर विद्यालय सञ्चालन गर्नुपरेको छ, उहाँहरूले घरमा खाद्यान्न, पशुचौपाय बिक्री गरेर आर्जन गरेको पैसा नै चन्दा दिनुहुन्छ र छोरा, छोरी पढ्न पाएका छन् ।” प्रावि तहको शिक्षकले निमावि तहसम्म पढाउँदा दैनिक समस्य भएको र शैक्षिक गुणस्तर कायम गर्न धौधौ परेको अभिभावकहरू बताउँछन् ।
विद्यालय व्यवस्थापन समितिले बोलाएको अभिभावक भेलाबाट शुक्रबारमात्र ९८ हजार रुपैयाँ रकम उठेको अध्यक्ष पुनले बताए । अझै अभिभावकहरू रकम दिनका लागि विद्यालयमा आउने क्रम जारी छ ।
त्यस्तै नलगाड नगरपालिका–३ कैनास्थित सूर्योदय माध्यमिक विद्यालयमा २७१ जना विद्यार्थी पढ्छन् । प्रावि र निमावि तहमा भएका सरकारी दरबन्दीमा ४ जना शिक्षक कार्यरत छन् । विद्यार्थी संख्यको आधारमा करिब ७ जना शिक्षक आवश्यक भए पनि अहिले निमावि २ र प्रावि तहका २ जना गरी ४ जनाले मावि तह सञ्चालन हुँदै आएको छ ।
विगत लामो समयदेखि स्थानीयवासीले चन्दा संकलन गरी २ जना निजी स्रोतबाट तलबभत्ता उपलब्ध गराउँदै मावि तहमा २ जना शिक्षक राखेर विद्यालय सञ्चालन गरिरहेको वडाध्यक्ष प्रचण्ड ओलीले जानकारी दिए । तिहारमा मात्र स्थानीय युवाहरूले देउसी, भैली खेलेर जम्मा गरेको २ लाख ६० हजार ५ सय रुपैयाँ विद्यालयका शिक्षकलाई तलबभत्ताका लागि जम्मा गरेका थिए । यहाँका अभिभावकहरू शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन महिनैपिच्छे चन्दा सहयोग गर्दै आएका छन् । स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारबाट आएका भौतिक पूर्वाधार, विकास निर्माणका काम स्थानीयवासीले श्रमदान गरेर सो रकम बचाई विद्यालयका शिक्षकलाई तलबभत्ता उपलव्ध गराउने अभ्याससमेत हुँदै आएको छ ।
त्यस्तै नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविमा विद्यार्थीको मात्रा धेरै तर शिक्षक दरबन्दी कम हुँदा स्थानीयले रकम सङंलन गरेर विद्यालय सञ्चालन गरिरहेका छन् । ३ सयभन्दा बढी विद्यार्थी रहेको सो विद्यालयमा दुईजना शिक्षक निजी स्रोतबाट राखी मावि तह व्यवस्थापन गरिएको छ । मावि तह सञ्चालन रहेको सो विद्यालयमा मावि तह पढाउने शिक्षकको दरबन्दी शून्य हुँदा निजीबाट व्यवस्थापन गरिएको हो । यस्तै बारेकोट गाउँपालिका–५ सिलिगीचौरस्थित सरस्वती मावि सञ्चालन गर्न निजी स्रोतबाट तलबभत्ता दिने गरी शिक्षकहरू व्यवस्थापन गरिएको प्रधानाध्यापक मनबहादुर सिंहले जानकारी दिए । सरकारी दरबन्दी उपलव्ध नहुँदा बाध्य भएर स्थानीयवासीले छोराछोरी पढाउनकै लागि आफै तलबभत्ता उपलव्ध गराउँदै आएका छन् ।
जाजरकोटका अधिकांश ठाउँका विद्यालय स्थानीयवासीले दिएको चन्दाको भरमा सञ्चालन भएको पाइएको छ । आर्थिक रूपमा पछि परेका रस्थानीयवासी आफैले चन्दा उठाएर सरकारी विद्यालयमा बालबालिकाहरू पढाउन बाध्य छन् ।
जाजरकोटमा २६ मावि , ४६ निमावि र ५५ प्राविमा दरबन्दी शून्य छ । ४४३ विद्यालयमध्ये १२७ विद्यालय दरबन्दीविहीन भई स्थानीयले चन्दा उठाएर विद्यालय सञ्चालन गरिरहेका छन् । वर्षभरिको तलब एकै पटक उपलबध गराउँदा शिक्षकहरू पीडित छन् ।
सञ्जय केसी