ऊर्जातर्फ ४ अर्ब र सिंचाईतर्फ १ अर्ब ३५ करोडभन्दा बढी क्षति
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ऊर्जातर्फ चार अर्ब र सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले मन्त्रालय अन्तर्गतका २१ वटा आयोजनाहरुमा क्षति पुगेको बताएका हुन् ।
उनले ऊर्जा तर्फ चार अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए । त्यस्तै सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँभन्दा माथि क्षति भएको अनुमान रहेको उनले जानकारी दिए । क्षति अझै बढ्ने मन्त्री खड्काकाे भनाइ छ । मन्त्री खड्काले विपद्बाट १ हजार १०० मेघावाट विद्युत अवरुद्ध भएको र मर्मतको प्रयास भइरहेको बताए । मन्त्री खड्काले लोडसेडिङ हुन नदिन काम गरिरहेको पनि बताए ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सडक सञ्जाल टुटेका कारण विद्युत अवरोध भएको स्थानहरुमा मर्मतसम्भार गर्न गाह्रो भएको बताए । यद्यपी विद्युत चाँडै पुर्याउने गरी काम गरिरहेको उनको भनाइ छ । उनले दशैँ अगाडि नै विद्युत सेवा पुर्याउनेगरी काम गरिरहेको बताए । घिसिङले कुलेखानी बाँधले निम्त्याएको क्षतिको सम्बन्धमा विवरण संकलन गरिरहेको भन्दै क्षतिको यकिन गरेर आवश्यक कदम चाल्नका लागि विभागिय मन्त्रीसँग छलफल गर्ने बताए ।