वैशाखदेखि महानगर र उपमहानगरमा प्रदूषित सवारी रोकिँदै «

वैशाखदेखि महानगर र उपमहानगरमा प्रदूषित सवारी रोकिँदै

सरकारले वैशाखदेखि काठमाडौं उपत्यकासहित देशभरका महानगरपालिका तथा उपमहानगरपालिकामा प्रदूषण जाँचपास नभएका सवारीसाधन प्रवेशमा रोक लगाउने भएको छ । सवारीसाधनले अत्यधिक प्रदूषण गरेको भन्दै यातायात व्यवस्था विभागले यस्तो निर्णय गरेको हो ।
विभागले सवारी प्रदूषण जाँचपासका लागि आवश्यक मेसिन खरिद प्रक्रिया पनि अघि बढाइसकेको छ । सरकारले गत मंसिरमा सवारीसाधनले गर्ने वायु प्रदूषण जाँच गर्न आवश्यक ४० वटा ‘भेइकल इमिसन टेस्ट’ गर्ने मेसिन खरिद गर्न विभागलाई निर्देशन दिएको थियो । काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा वायु प्रदूषण अत्यधिक भएकाले यसको नियन्त्रणका लागि विभागले उक्त निर्णय गरेको हो । २०७५ वैशाख १ गतेदेखि काठमाडौं उपत्यका र देशभरका महानगरपालिका र उपमहानगरपालिकामा प्रदूषण जाँचपास नगराएका सवारी प्रवेशमा रोक लगाउने भएको हो । यसअघि उपत्यकाको ७ वटा रुटमा चल्ने सार्वजनिक सवारीमा हरियो स्टीकर नभए त्यस्ता सवारीसाधनाई तत्काल कारबाही गरिँदै आएको थियो । यद्यपि यो व्यवस्था प्रभावकारी हुन भने सकेको थिएन । मंसिर दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरोकारवाला सबैलाई बोलाएर प्रदूषण न्यूनीकरण गर्न आवश्यक कदम चाल्न निर्देशन दिएको थियो । उपत्यकाको वायु प्रदूषण नियन्त्रणको काम निकै फितलो भएकाले उक्त कार्यलाई प्रभावकारी बनाउने निर्णयसमेत भएको थियो । उपत्यका तथा देशका मुख्य सहरमा वायु प्रदूषित हुनमा सवारीसाधन मुख्य कारण भएकाले धेरै प्रदूषण गर्ने सवारीसाधनलाई निण्न्त्रण गरिने उल्लेख छ ।
तोकिएको मापदण्ड पूरा नगरेका सवारीसाधन चलाउन निषेधित क्षेत्रको दायरा बढाउनसमेत विभागलाई मन्त्रिपरिषद् कार्यायलले दिएको निर्देशनअनुसार विभागले नयाँ व्यवस्था लागू गर्न लागिएको हो । सरकारको नीतिअनुसार विभागले प्रदूषण धेरै गर्ने सवारी चलाउन निरुत्साहित गर्न त्यसको दायरा बढाउन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए । “सवारीसाधनले अत्यधिक प्रदूषण गरेकाले त्यस्ता सवारी सहरी क्षेत्रमा सञ्चालनमा रोक लगाउने तयारी गरिरहेका छौं,” उनले भने, “छिट्टै यसबारे निर्णय गरेर अघि बढ्छौं ।” हाल यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयहरूसँग करिब ७ वटामात्र प्रदूषण जाँच गर्ने मेसिन छन् । मन्त्रिपरिषद्को निर्देशनअनुसार ४० वटा प्रदूषण जाँच गर्ने मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले विभागले प्रदूषण नियन्त्रित क्षेत्र विस्तार गर्न लागेको हो । ४० वटा मेसिन आएपछि सबै यातायात कार्यालयहरूमा पनि प्रदूषण जाँच प्रभावकारी बनाउने योजना विभागको रहेको महानिर्देशक भट्टराईको भनाइ छ ।
सवारीसाधनको प्रदूषण मापदण्डलाई समयानुकूल पुनरावलोकन र परिमार्जन गर्ने काम भइरहेको विभागले जनाएको छ । त्यस्तै आयात हुने सवारीसाधनहरूको सवारी प्रदूषण मापदण्ड पनि समयानुकूल बनाउने निर्णय यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्