मुद्दति खातामा निक्षेपको अनुपात घट्दै
काठमाडौं– बैंकिङ प्रणालीमा मुद्दति खातामा जम्मा हुने निक्षेपको अनुपात घटेको छ । बैंकहरुले यस्तो खातामा हुने निक्षेपको ब्याज घटाउँदै जाँदा निक्षेपको अंशसमेत घट्दै गएको हो ।
२०८१ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.६६ प्रतिशत, विकास बैंकहरुको ६.४६ प्रतिशत र वित्त कम्पनीहरुको ७.७१ प्रतिशत रहेको छ । २०८० साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८ प्रतिशत, विकास बैंकको ९.२८ प्रतिशत र वित्त कम्पनीको १०.१३ प्रतिशत कायम भएको थियो ।
यसरी ब्याजदर घट्दै जाँदा मुद्दति खाताको निक्षेप घटिरहेको बैंकरहरू बताउँछन् । अहिले मुद्दति खाताको निक्षेप झिकेर सेयर बजारमा लगानी गर्ने क्रम बढिरहेको छ । अन्य लगानीका लागि अवसर सिर्जना नभइसकेको भन्दै सेयरमा आकर्षण बढिरहेको बेला बैंक तथा वित्तीय संस्थाको मुद्दति खाताको निक्षेप घट्दै गएको हो । यसरी मुद्दति निक्षेप धेरै समयसम्म घटिरहेमा समस्या सिर्जना हुने भए पनि अहिले मुलुकको अवस्थाका कारण समस्या नै आउँछ भन्न नसकिने जानकारहरू बताउँछन् । अर्थात् अहिले लगानीका लागि उपयुक्त अवसर नभइरहेको सन्दर्भमा मुद्दति खाताबाट रकम झिकेर समस्या नहुने उनीहरूको भनाइ छ । ‘आगामी दिनमा लगानीको वातावरण बन्दै जाँदा बैंकमा तरलताको अवस्था धेरै नहुने र ब्याजदर फेरि बढ्ने भएका कारण पनि अहिलेको अवस्थामा यही नै हुन्छ भनेर चिन्ता गर्नुपर्ने छैन,’ एक बैंकरले भने ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ६४ खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसमध्ये मुद्दति खातामा जम्मा भएको कुल निक्षेपको अनुपात ५७.१५ प्रतिशत छ । गत आवको सोही अवधिको तुलनामा यो प्रतिशत ३.७४ प्रतिशतले कम हो ।
गत अबको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ११ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दति खातामा मात्रै ६०.८९ प्रतिशत संकलन गरेका थिए । मुद्दति निक्षेप निश्चित अवधि तोकेर राखिने र यस्तो खातामा ब्याजदर तुलनात्मक रुपमा बचत खातामा भन्दा बढी भए पनि तोकिएको समय समाप्त नभएसम्म उक्त रकम भुक्तानी लिन नपाइने भएकाले पछिल्लो समय यस्तो निक्षेपको अनुपात घटेको हो ।
बचत खाता जनतालाई बचतमा अभिप्रेरित गर्नको लागि सञ्चालनमा आउने र यस्तो खाता थोरै रकमबाट खोल्न सकिने हुँदा यस्तो खातामा पछिल्लो समय आकर्षण बढेको देखिन्छ । चल्ती खातामा जति रकम पनि राख्न र झिक्न सकिने र यस्तो खातामा ग्राहकले आफ्नो इच्छाअनुसार बैंक खुलेको समयमा रकम राख्न र झिक्न सक्ने हुन्छ । चल्ती खाता र बचत खाता दुवैका विशेषता सहित खोलिएको खाता कल डिपोजिट खाता हो । यो खातामा बचत खाताको जस्तै ब्याज पाइन्छ, जुन बचत खाताको भन्दा सामान्यतया बढी हुन्छ । आवश्यकता बमोजिम जतिबेला पनि कार्यालय समयमा रकम झिक्न सकिन्छ । त्यसैकारण यी दुई खातामा गत आवको तुलनामा सामान्य रुपमा वृद्धि भएको देखिन्छ ।
चालु आवको साउन मसान्तसम्ममा बैंकिङ क्षेत्रमा मुद्दति बचत चल्ती र कल डिपोजिटको अनुपात क्रमश ५७.१५, ३०.१५, ५.१३, र ६.८७ प्रतिशत छ । गत आवमा यस्तो अनुपात क्रमश ६०.८९, २६.५५, ५.१० र ६.६० प्रतिशत थियो । गत साउन मसान्तसम्म बैंकिङ क्षेत्रमा भएको निक्षेपमध्ये वाणिज्य बैंकहरूमा मात्र भएको कुल निक्षेप रकम ५७ खर्ब १८ अर्ब १८ करोड रुपैयाँ छ । यसअन्तर्गत ५६.४१ प्रतिशत मुद्दति खाता, ३०.४२ प्रतिशत बचत खाता, ५.५८ प्रतिशत चल्ती खाता र ६.८२ प्रतिशत कल डिपोजिट खातामा जम्मा भएको छ ।
गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४९ खर्ब ३९ अर्ब ३२ करोड ८० लाख रुपैयाँ रहेकोमा मुद्दति, बचत, चल्ती र कल डिपोजिटको अनुपात क्रमशः ५९.८६ प्रतिशत, २७.०९, ५.६२ र ६.४९ प्रतिशत थियो । विकास बैंकहरूले भने चालु आवको साउन मसान्तसम्ममा कुल ५ खर्ब ९८ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दति, बचत, चल्ती र कल डिपोजिटको अंश क्रमश ६१.०९, २९.८६, १.६६,७.३५ प्रतिशत छ । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल ५ खर्ब ६१ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा यस्तो अनुपात क्रमश ६७.६३, २३.५२, १.३७ र ७.४३ प्रतिशत थियो ।
फाइनान्स कम्पनीहरूले भने चालु आवको साउन मसान्तसम्ममा कुल १ खर्ब २९ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संलन गरेकोमा मुद्दति, बचत, चल्ती र कल डिपोजिटको अंश क्रमश ७१.३५, १९.६८, १.१२ र ६.८८ प्रतिशत छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल १ खर्ब १० अर्ब ६७ करोड निक्षेप संकलन गर्दा यस्तो अनुपात क्रमशः ७२.८३ १७.९५ ०.७६ र ७.२३ प्रतिशत थियो ।