Logo

कतारका व्यवसायीमा नेपालमा लगानी गर्ने रुची

काठमाडौं– कतारका लगानीकर्ताले नेपाललाई श्रमिक गन्तव्य मात्र नभइ लगानी गर्ने अवसरको मुलुकका रुपमा पनि हेर्ने गरेको पाइएको छ । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची रहेको पाइएको हो ।

नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय बैठकका क्रममा कतारी लगानीकर्ताले नेपालमा लगानीको अवसर खोजिरहेको कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले बताए । उनले भने ‘हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’ अध्यक्ष थानी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा यो बैठक भएको थियो ।

बैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको महासंघले जनाएको छ । कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा भएको नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । काउन्सिलको पहिलो अध्यक्षस्तरिय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ–आफ्नो नेतृत्वमा सदस्य नियुक्त गरि काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ ।

यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखेका छन् । आगामी वर्ष कार्यक्रम आयोजना गर्ने सहमति बैठकमा भएको छ । महासंघका अनुसार बैठकमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको बताएका थिए ।

उनले नेपालका जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकास लगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना देखाउँदै कतारका लगानीकर्तालाई लगानीका लागि आव्हान पनि गरे । यसैगरी कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्