साइलेज खरिदमा ५० प्रतिशत अनुदान

बुटवल– रुपन्देहीको सियारी गाउँपालिकाले पशु पालक किसानहरूको लागि साइलेज खरिदमा ५० प्रतिसत अनुदान दिने भएको छ । सोही कारण पशु आहारा साइलेज खरिद अनुदान सहयोग कार्यक्रमको लागि गाउँपालिकाले सूचीकृत हुन कृषकहरूलाई आग्रह गरेको हो । जस अनुसार गाउँपालिकाअन्तर्गत गाई, भैँसी, बाख्रा पालन गरिरहेका किसानहरूले ३० दिन भित्र गाउँपालिकाको कार्यालयमा सुचीकृत हुनुपर्ने भएको छ ।
सूचीकृतको लागि निवेदन, नागरिकताको प्रतिलिपि, कृषक परिचय पत्रको प्रतिलिपि, पशु पालन संख्या र विवरणसहितको स्वघोषणा पेस गर्नुपर्ने छ । सूचीकृतपछि अनुदान कार्र्यक्रमको लागि कृषकहरूको छनोट गरिने सियारी गाउँपालिकाका पशुसेवा अधिकृत गणेशप्रसाद खनालले जानकारी दिए । आवश्यक भएको किसानहरू आई आफ्नो पशु संख्या र मागसहित प्रस्ताव गर्नुपर्ने पनि खनालले बताए । उनले भने,‘त्यसपछि निरीक्षण र अनुगमन हुन्छ । अनुगमनपछि बजेटले भ्याएसम्म सबै जनालाई अनुदान सहयोगको लागि प्रयास गछौं ।’
साइलेज अनुदान १० लाख रुपैयाँराबरको कार्यक्रम हो । जसमा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१ को लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । बाँकी ५ लाख किसानहरूले नै लगानी गर्नुपर्ने हुन्छ । छनोट भएका किसानहरूसँग गाउँपालिकाले सम्झौता गर्छ । ‘सम्झौता गरेपछि कृषकहरूले साइलेज किन्नुहुन्छ । किनेको साइलेजको अनुगमन गरेर उहाँको खातामा ५० प्रतिशत रकम फिर्ता गछौं ।’ पालिकाका पशुसेवा अधिकृत खनालले भने ।
हरियो अवस्थाको घाँस वा घाँस बालीलाई दुई तीन इन्चको टुक्रा पारी गुन्द्रुक झै खाँदेर साइलेज उत्पादन गरिन्छ । ४५ दिनपछि पशु आहारको लागि योग्य हुन्छ । यसरी तयार पारिएको साइलेज पोषिलो र दूध उत्पादन बढाउन उपयोगी हुने कृषि विज्ञहरूको भनाइ छ । रुपन्देहीमा पनि साइलेज उद्योगहरू रहेका छन् । ती उद्योगले प्राय मकैबाट साइलेज बनाउने गर्छन् । दुधालु अवस्थामा रहेको मकैको बोटलाई काटेर त्यसबाट साइलेज बनाउने गरिन्छ ।