सीमित स्रोतसाधनमा पनि उल्लेख्य उपलब्धि हासिल गरेका छौं «

सीमित स्रोतसाधनमा पनि उल्लेख्य उपलब्धि हासिल गरेका छौं

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले धनशक्ति र जनशक्तिको अभावमा पनि आफूहरुले उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरेका छन् । उनले भने, “प्रतिकूल अवस्थामा पनि हामीले तदारुकताका साथ काम गरेर उल्लेख्य उपलब्धि हासिल गरेका छौं । चौतर्फी कामहरु भैरहेका छन् ।”
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री सोनलले सीमित स्रोत र साधनको बावजुदपनि प्रदेश नम्बर २ को सरकारले राम्रो काम गरेको स्पष्ट पारेका हुन् । उनले भने, “हामीसँग लिमिमेट रिसोर्स छन् । हामीसँग न्यूनतम बजेट पनि छैन । केन्द्र सरकारलाई हामी आग्रह गरिरहेका छौं । केन्द्रले पनि हामीसँग समन्वय गरोस् । हाम्रा सम्भावनाहरुमा केन्द्रले प्रचुर लगानी गरोस् ।”
उनले काम गर्नको लागि आवश्यक जनशक्तिको पनि अभाव रहेको गुनासो पोखे । उनले भने, “हाम्रो प्रदेशमा जम्मा ५ हजार कर्मचारी आवश्यक भएकोमा अहिलेसम्म तीन हजार कर्मचारी संघले पठाएको भन्छ, तर, हामीसँग अहिलेसम्म २ हजार कर्मचारीमात्रै पुगेका छन् ।”
मन्त्री सोनलले २ नम्बर प्रदेशमा अहिलेसम्म ६०–७० प्रतिशत मात्रै कर्मचारी पुगेको स्पष्ट पारे । उनले भने, “कतिपय कार्यालयहरुमा कर्मचारीको रिक्तता छ । हामीसँग म्यानपावर पातलो छ । अझै कार्यालयमा सचिवहरु छैनन् ।”
अहिलेपनि पूर्वाधार विकास कार्यालयको अभाव रहेको उनले सुनाए । उनले भने, “२ नम्बर प्रदेशमा ८ वटा जिल्ला छन्, हामीसँग अहिलेसम्म चार वटामात्रै पूर्वाधार विकास कार्यालय छन् । एउटा जिल्लामा एउटा पूर्वाधार विकासको कार्यालय हुनुपर्छ ।”
उनले प्रदेश नम्बर २ को सरकार प्राथमिकीकरण तय गरेर नै अघि बढिरहेको स्पष्ट पारे । उनले भने, “हामी आफैंले तय गरेका प्राथमिकीकरणलाई सम्बोधन गर्ने हिसाबले अघि बढिरहेका छौं । विकास निर्माणका काम द्रुत गतिमा अघि बढाएका छौं । रोड कनेक्टिभिटीमा जोड दिएका छौं । सामान्य जनताको पहुँमा बाटोघाटो पु¥याउने लक्ष्यसहित काम गरिरहेका छौं ।”
उनले रोड कनेक्टिभिटीअन्तर्गत पालिकादेखि पालिकासम्म सडकको पहुँच बनाउने, पालिकादेखि सदरमुकामसम्म र ती बाटाहरु राजमार्गसम्म जोड्नेगरि काम गरिएको स्पष्ट पारे । उनले भने, “त्यसपछि प्रदेशको सदरमुकाम जोडुने बाटो बनाउँछौं ।”
पूर्वाधार विकासमात्रै नभएर उनले मानवीय विकासको लागि पनि प्रदेश सरकार प्रभावकारी रुपमा अघि बढिरहेको स्पष्ट पारे । उनले भने, “महिलाहरुको शिक्षाको लागि पनि हामीले काम गरिरहेका छौं । मानव सूचकांक विकासमा हाम्रो प्रदेशको अवस्था तल छ । यसको लागि शिक्षा, स्वास्थ्य र सामाजिक चेतना अभिवृद्धि गर्नुपर्छ । हामीले अहिले यसको लागि पनि अभियान बनाएर काम सुरु गरेका छौं । तराई मधेशमा दाईजो प्रथा छ । यसलाई हटाउनुपर्छ । अहिले हामीले बेटी बचाउ, बेटी पढाउन अभियानपनि चलाएका छौं ।” उनले सामाजिक संघ–संस्थाहरुसँग मिलेर समाज व्याप्त सबैखाले कुरिती, अन्धविश्वास हटाउन लागि परिरहेको बताए ।
कानुन निर्माणको मामिलामा पनि २ नम्बर प्रदेश सबैभन्दा अगाडि रहेको पनि उनले दाबी गरे । उनले भने, “हामीले लोकसेवाको ऐन बनायौं, सडक ऐन बनायौं । करार सेवा ऐन पनि बनायौं, प्रहरी विधेयक पनि बनायौं । कतिपय ऐन त कार्यान्वयनको चरणमा छन् । कतिपय विधेयक पारित भैसके ।” उनले छिट्टै प्रदेशको नाम र राजधानी टुंगो लगाउने पनि विश्वास दिलाए । उनले भने, “यो विषयमा पनि हामी निरपेक्ष छैनौं । बहस नै नभएको होइन, बहस भैरहेको छ । यसको लागि प्रस्तावहरु दर्ता भैरहेका छन् । हामी राजपा नेपाल र समाजवादी पार्टी नेपालको तर्फबाट मधेश प्रदेश नाम प्रस्ताव गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस्