Logo

पेश्की लिएर ठेकेदारले गरेनन् काम, पानी नहुँदा काकाकुल रारागाउँ

जुम्ला– वर्षाैंदेखि खानेपानी अभावले काकाकुल जुम्लाको रारा गाउँमा अझै भरपर्दो खानेपानी आयोजना बन्न सकेको छैन । तिला गाउँपालिका–१ को रारा गाउँमा शुद्ध खानेपानी नपुगेरै पुस्तौं बित्यो । स्थानीय सरकार सञ्चालनपछि करोडौंको खानेपानी आयोजना निर्माण हुने पक्का भए पनि ठेकेदारले काम नगर्दा खानेपानी आयोजना नबनेको हो ।

रारा गाउँमा निर्माण हुने गरी चार करोड लगानीको खानेपानी आयोजना निर्माणको सम्झौता भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार रारामा २६८ घरधुरी र एक हजार ६२६ जनसंख्या छ । तर वर्षाैंदेखि रारागाउँका नागरिकले दैनिक पानीको समस्या भोगिरहेका छन् । खानेपानी अभावले काकाकुल रारा गाउँमा २०३५ सालमा निर्माण गरिएका चार वटा सार्वजनिक खानेपानीका धारामात्रै छन् ।

दैनिक चार घण्टा पानी आउने धाराबाट २६० घरधुरीले पानी खाइरहेका छन् । कहिले काहीं धारामा पानी नआउँदा एक घण्टा टाढा दूरीमा रहेको तिला नदीको दूषित पानी पिउन बाध्य भएको राराका स्थानीय विरमने दमाईले बताए । उनले भने, ‘४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदैछ । मूल पनि सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव चुलिएको हो । पुराना धारा जीर्ण हुँदै गएपछि नयाँ बन्ने खानेपानी आयोजनाको पखाईमा छौं ।’

रारा गाउँको खानेपानी अभावको समस्यालाई मध्यनजर गर्दै चार करोड लगानीमा तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी गत वर्षको असारमा ‘शिवदेउती/सुलोचना/बजु जेभी निर्माणसँग सम्झौता भएको थियो । सम्झौता भएको सुरुमै ठेकेदारले ७० लाख पेश्की लिए पनि हालसम्म आयोजना निर्माणको काम नगर्दा आयोजना नै अलपत्र अवस्थामा पुगेको छ । शिवदेउती, सुलोचना, बजु जेभीका निर्माण व्यवसायी दिनेशराज उपाध्यायले पेश्की लिएर काम नगरेका हुन् ।

गत आर्थिक वर्षका असार ११ गते ठेक्का सम्झौता भएको आयोजना निर्माण कार्य थालिएको तिला गाउँपालिकाका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईंले बताए । उनले भने, ‘तिला गाउँपालिका –६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर टाढा छ । आयोजनामा गत वर्ष असारदेखि आयोजना सुरुवात भएको हो । गत वर्षको असार ११ गते ठेक्का सम्झौता भएर निर्माण व्यवसायीले असार २१ गतेमात्रै पेश्की रहेका लिएका हुन् । तर अहिलेसम्म काम नभएको पाइयो ।’

‘साउन तथा भदौको महिनामा निर्माण सामग्री ल्याउनु पर्ने हो । बाढीपहिरोले सडक पटकपटक अवरुद्ध हुँदा सामग्री ल्याउन सकेनन् । असोज १० गते खानेपानीको पाइप खन्ने लाइन दिएका छौँ । अब पाइपको लाइन खन्न सुरु हुन्छ । दुई वर्षमा खानेपानी आयोजना सम्पन्न हुनैपर्छ । निर्माण व्यवसायीले गर्नै पर्छ,’ उनले भने । सम्झौता भई पेश्की लिएर पनि ठेकेदारले निर्माणको काम नगर्दा रारा गाउँका स्थानीय आक्रोेसित भएका छन् ।

ठेक्का सम्झौता भइसकेको आयोजना छिट्टै बन्नुपर्ने स्थानीयको माग छ । गाउँमा तीन वर्षभित्र खानेपानी पुर्‍याउने गरी संघीय सरकार, राष्ट्रिय योजना आयोग, गैरसरकारी संस्था यूएनडीपी र गाउँपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । आयोजना निर्माण ढिला हुनुको कारण बुझेर ताकेता दिने उल्लेख गरे । गाउँको खानेपानी समस्यालाई मध्यनजर गर्दै १४ वर्ष पहिलेदेखि बृहत् खानेपानी आयोजना निर्माण थालिएको थियो ।

तर त्यो आयोजना सफल नभएपछि आर्थिक वर्ष २०८०/०८१ देखि दोस्रो आयोजना सुरु गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा बताउँछन् । उनी भन्छन्, ‘गतवर्ष आयोजनाको दुई करोड बजेट हो । ७० लाख ठेकेदारले पेश्की रकम लिएका थिए । अरु बजेट एक करोड ३० लाख रुपैयाँ फ्रिज भयो । तर ठेकेदारले पेश्की लिएर पनि काम नगर्दा आयोजना अलपत्र परेको छ । गत वर्षको असारमा ठेकेदारले ७० लाख बजेट पेश्की लिए पनि खानेपानी आयोजनाको काम सुचारु गरेका छैनन् ।’

निर्माण व्यवसायी दिनेशराज उपाध्याय गत असारमा सम्झौता भएको आयोजनाको काम सुरुवात हुन थोरै ढिला भए पनि निर्धारित समयमै काम सम्पन्न हुने दाबी गर्छन् । उनले भने, ‘आयोजनाको कुल लागत चार करोड हो । ठेक्का सम्झौतापछि सुरुमा ७० लाख बजेट पेश्की लिएका छौँ । चालु आर्थिक वर्षको साउन भदौमा वर्षात्का कारण काम हुन सकेन । अब दसैँपछि आयोजनाको काम तीव्र रूपमा अघि बढ्छ । ठेक्का सम्झौता भएको समय अगावै दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्