Logo

पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

पर्वत– वर्षायाम सुरु भएपछि विगत तीन महिनादेखि पर्वतका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । नेपालीको महान पर्व वडादसैं नजिकिँदै गएको र मौसमविद्ले पनि अब ठूलो वर्षा नहुने अनुमान गरेको समाचार आएपछि पर्वतका स्थानीय तहले अवरुद्ध सडक खुलाउन थालेका छन् । जिल्लाका सातवटै स्थानीय तहले आ–आफ्नो मातहतका ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति र डोजर परिचालन थालेका हुन् ।

जिल्लाको जलजला गाउँपालिकाले कार्यतालिका नै बनाएर ९ वटै वडाका अवरुद्ध ग्रामीण सडक सुचारु गर्न थालेको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए । चाडबाडमा गाउँ फर्कने यात्रुलाई गन्तव्यमा पुग्न सहज होस् भनेर सोमबारदेखि नै सडक खुलाउनका लागि पालिकाको आफ्नै डोजर परिचालन गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिए । तीन/चार दिनमा सबै सडक सफा गरिसक्ने उनको भनाइ छ ।

त्यसैगरी दक्षिण पर्वतको पैंयुँ गाउँकार्यपालिकाको बैठकले पनि वर्षायाममा अवरुद्ध बनेका सबै सडक मर्मत गरेर सुचारु गर्ने निर्णय गरेको छ । उपभोक्ता समिति वा ठेकेदारमार्फत् सञ्चालित आयोजना तत्काल मर्मत गर्न लगाइएको अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । उनका अनुसार घटस्थापनाअघि नै सबै सडक सुचारु गर्ने तयारी छ । यस्तै विहादी गाउँपालिकाले पनि अवरुद्ध ग्रामीण सडक खुलाउन ताकेता गरेको छ ।

पालिकाले सोमबार सूचना जारी गर्दै सडक सरसफाई कार्य तत्काल अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गरेको छ । सडक सफा गर्ने कार्य उपभोक्ता समितिमार्फत् गरिने भएकाले मातहतका ६ वटै वडा र टोलमा उपभोक्ता समिति गठन तथा नवीकरण गरी सम्झौता गर्न आउन वडा कार्यालयलाई पत्राचार गरेको छ । दसैं अगावै सडक सहज बनाइने अध्यक्ष प्रवीन गुरुङले जानकारी दिए । यता महाशिला गाउँपलिकाले पनि अवरुद्ध सडक खुलाउन आफ्नै डोजर परिचालन गरेको छ ।

असहज रहेको लुंखु–बालाकोट–होश्राङदी, लुंखु–चिसापानी–भोक्सिङ, पाखापानी–भोर्लेलगायतका सडक अब केही दिनमै सुचारु गरी सबैखाले यातायातका साधन सहज रूपमा सञ्चालन गर्न सकिने बनाइने अध्यक्ष इश्वरी भुसालले बताए । जिल्ल्लाको मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकाले पनि ग्रामीण सडक खुलाउनका लागि पहल थालेका छन् । फलेवासले आफ्नै मातहतका दुईवटा डोजर परिचालन गरेर अवरुद्ध सडक सुचारु गर्न थालेको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए ।

अब वर्षा रोकिएकाले असहज र सवारी चल्न नसक्ने सवै ठाउँमा डोजर र स्काभेटर लगेर पन्छाइने उनको भनाइ छ । पर्वत यातायात प्रालिका सञ्चालक हेमशर्मा पौडेलले वर्षायाममा अवरुद्ध बनेका सडक खुलाउन स्थानीय तहलाई अनुरोध गरिएको बताए । उनका अनुसार केही मुख्य र केही सहायक सडक अवरुद्ध हुँदा सबै ठाउँमा नियमित बस तथा जीप सञ्चालन गर्न नसकिएको भन्दै दसैंलाई मध्यनजर गर्दै स्थानीय तहले डोजर लगाएर सफा गर्ने विश्वास व्यक्त गरे । अब मनसुन सकिएकाले मर्मत गरेपछि सडक नबिग्रिने उनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले जिल्लाका मुख्य राजमार्गमा अवरोध नरहे पनि केही ग्रामीण सडकमा यातायात सुचारु गर्न समस्या रहेको बताए । उनका अनुसार मध्यपहाडी लोकमार्ग, मालढुंगा–बेनी, कालिगण्डकी करिडोर र दोविल्ला–फलेवास, दोविल्ला कार्किनेटा, कुश्मा–दुर्लुङजस्ता सडकमा निरन्तर सवारी सञ्चालन हुँदै आएको बताए । अन्य शाखा सडक एकपटक डोजर लगाएर सफा गर्न सकेमा दसैंको बेला बढी मात्रामा सञ्चालन हुने सवारीलाई सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्