मध्यरातमा सडकबाट उठाएपछि… «

मध्यरातमा सडकबाट उठाएपछि…

काठमाडौं उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चाबहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका पाइए । उनीहरुलाई उठाउन मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए । साथमा नेपाली प्रहरीको ठूलै समूह थियो । कोही सडकका पेटी, कोही सटरलगायतको घरको सिँढी त कोही मन्दिरलाई आड लिएर सुतिरहेका भेटिए ।
मित्रपार्क नजिकै सडक पेटीमा सुतिरहेकी एक महिलालाई उठाउन खोज्दा उनले मानिनन् । जसरी पनि लैजाने भनेपछि उनी जंगिइन् । गौशाला चोकमा ४९ वर्षीय जोन क्षेत्री पनि पेटीमा सुतिरहेका थिए । मजदुरी गरेर कमाइ गर्ने उनी पनि आश्रम जान मानेनन् ।
उद्धारका क्रममा कोही मजदूरी गरेर सडकमा सुतेका भेटिए भने कोही मदिरामा लठ्ठ भएर सुतिरहेको पाइए । चाबहिल नजिकिएको पुलमुनि धेरै मान्छे सुत्ने गरेको ओढ्ने र ओछ््यान भेटियो । राति १० बजे त्यहाँ पुग्दा अन्य व्यक्ति आइनसके पनि कुनामा एक जना सुतिरहेका थिए । पर्खालको भित्तो मुश्किलले चढेर जानुपर्ने पुलमुनि सुतिरहेको मानिस निकाल्न प्रहरीलाई हम्मेहम्मे नै प-यो । सोमबार राति ८ देखि १०ः३० बजेसम्म चलाइएको उक्त उद्धार अभियानमा वास्तविक बेसहारा नभेटिए पनि दिनभर माग्ने पेशा अपनाएका, मजदूरी गर्ने गरेका र मदिरा पिएर लठ्ठ भई सडकमा बसेका धेरै भेटिए । सोही रात ३१ जनालाई उद्धार गरेर बालाजुस्थित अस्थायी आवास केन्द्रमा लगिएको छ । यसअघि यसरी नै ६१ जनालाई उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश संयोजक सुमन बर्ताैलाले जानकारी दिए ।
केही दिनअघि मात्रै थापाथली पुलमुनि वाग्मती नदी किनारबाट एक बेवारिसे महिलाको उद्धार गरिएको थियो । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्