गाउँपालिकालाई २७ हजार बढी राजस्व
सात सय किलो भीर मह बिक्री
लमजुङ– लमजुङको मस्र्याङ्दी गाउँपालिकाबाट सात सय केजी बढी भीर माहुरीको मह बिक्री भएको छ । यसअघि बिक्री हुन नसकेर गाउँमै थन्किएको सात सय तीन दशमलव पाँच केजी भीर माहुरीको मह गाउँपालिकाको पहलमा बिक्री भएको हो ।
गाउँपालिका अन्तर्गत वडा नं. २, ४ र ५ मा बिक्री हुन नसकेको भीर माहुरीको मह संकलन गरी गाउँपालिकाको समन्वयमा जनता एग्रो काठमाडाैंलाई प्रतिकिलो १६ सय रुपैयाँको दरले बिक्री गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । भीरमह बिक्रीबाट मात्रै सम्बन्धित कृषकले ११ लाख ६० हजार ७७५ रुपैयाँ पाएका छन् ।
सो मह बिक्रीबाट गाउँपालिकाले प्रतिलिटर ५० रूपैयाँका दरले २७ हजार ५५ रुपैयाँ राजस्व संकलन गरेको छ । अध्यक्ष गुरुङका अनुसार वडा नं. २ बाट ३२३ दशमलव ९ केजी, वडा नं. ४ बाट ७९ दशमलव तीन केजी र वडा नं. ५ बाट तीन सय दशमलव तीन केजी भीरमह बिक्री भएको छ । आगामी वर्षदेखि भीर माहुरीको महलाई थप ब्यवस्थित गरी बिक्री गर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
यसैबीच मस्र्याङ्दी गाउँपालिकामा दसैं लक्षित सञ्चालन हुने हाट बजारका लागि मूल्य निर्धारण तथा सार्वजनिक भएको छ । दसैंलाई लक्षित गरी आगामी १७ देखि १९ गतेसम्म सञ्चालन हुने हाटबजारमा बिक्री वितरण हुने उपजको न्यूनतम र अधिकतम मूल्य निर्धारण गरी सार्वजनिक भएको हो ।
हाटबजारका लागि मूल्य निर्धारण समितिले जिल्ला सदरमुकाम बेसीसहर, काठमाडाैंको मुख्य तरकारी क्षेत्र कालिमाटी लगायत विभिन्न स्थानमा बिक्री वितरण हुँदै आएका तरकारी एवं कृषिजन्य सामग्रीको मूल्य अनुगमन गरी न्यूनतम तथा अधिकतम मूल्य निर्धारण गरेको हो । हाटबजारमा उपलब्ध हुने कृषितर्फ तरकारी लगायतका विभिन्न स्थानीय उत्पादन, पशुपंक्षी तथा माछा र हस्तकलाका सामग्री लगायतको मूल्य निर्धारण गरेको छ ।
कृषि उत्पादनतर्फ ९१ प्रकारका उपजको न्यूनतम र अधिकतम मूल्य निर्धारण भएको छ भने पशु तथा माछा जन्य उत्पादनतर्फ १६ प्रकारका उपजको न्यूनतम र अधिकतम मूल्य निर्धारण भएको छ । सोबाहेक गाउँपालिकाभित्रका हस्तकलातर्फ २१ उपजको न्यूनतम र अधिकतम मूल्य निर्धारण गरी सार्वजनिक भएको छ ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन एवं सहज बिक्री वितरणका लागि आगमी १७ देखि १९ गतेसम्म तीन दिन हाटबजार सञ्चालन गर्ने यसअघि नै निर्णय भएको थियो । मस्र्याङ्दी गाउँपालिका कृषि तथा पशु हाटबजार सञ्चालन कार्यविधि २०८० को दफा ४ बमोजिम हाटबजार सञ्चालन गर्ने निर्णय र तयारी भएको समिति सदस्य नवीनराज कुइँकेलले बताए ।
स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजारीकरणका लागि दसैंको अवसरमा पहिलो पटक हाटबजार मेला सञ्चालन गर्न लागिएको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । मस्र्याङदी–३ खुदी बजारस्थित कृषि सेवा केन्द्रमा सञ्चालन हुने हाटबजारमा कृषि उत्पादन, पशुजन्य उत्पादन, हस्तकला लगायतका विभिन्न स्थानीय उत्पादन र वस्तु बिक्रीवितरण तथा प्रदर्शन गर्ने तयारी भएको छ ।